पर्वत: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिनुभयो । “ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन”, उहाँले भन्नुभयो । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिनुभयो । “स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्र्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनु होला”, उहाँले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यतालिका छ ।
काठमाडौं: सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । सर्वोच्चले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
तनहुँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो । ‘‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक–फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ’’ महामन्त्री थापाले भन्नुभयो । निर्वाचनअघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाइ छ । उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताउनुभयो । पार्टीका नेताहरूको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमति हैन त्यहाँभित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुन नहुने उहाँको भनाइ थियो । ‘‘कतिपय कुराहरू रणनीतिक होला तर समझादारीहरु गोप्य हुनु हुँदैन खुला हुनुपर्छ, निजीजस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ थापाले भन्नुभयो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादीबीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताउनुभयो ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ। विद्यार्थीको सबैभन्दा ठूलो पर्व वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा बिहीबार विद्यार्थी, शिक्षकसहित सबैलाई शुभकामना दिनुहुँदै उहाँले शैक्षिक सुधारको आवश्यकता औँल्याउनु भएको हो। प्राध्यापक तथा शिक्षकको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीति निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सबै एकजुट हुन जरुरी रहेको मुख्यमन्त्रीको ठहर छ। उहाँले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको औँल्याउनु भएको छ। विद्याले व्यक्तिको क्षमता अभिवृद्धि गर्ने गरेको मुख्यमन्त्री रावलको भनाइ छ। ‘त्यसैले आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने विश्वास छ’, उहाँले भन्नुभएको छ। वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा पूजा आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको मुख्यमन्त्रीको भनाइ छ। ज्ञानको भण्डार मानिने पुस्तकसहित सङ्गीत, वाद्ययन्त्र तथा रङ्ग, कलाका साधनालाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको उहाँको भनाइ छ। ‘वसन्त पञ्चमीले एकातिर ज्ञान अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याइ असल कुरालाई ग्रहण गर्न उत्प्रेरित गर्छ’, मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्नु भएको छ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताएका छन् । स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने बताए । ‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । आजको बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । अब धेरै लामो समयसम्म लमब्याउनु हुँदैन भन्ने छ ’ पौडेलले भने, ‘हामीले धेरै कुरा अघि बढाई सकेका छौं । पार्टीको नाम र चुनाव चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ छिट्टै एकता हुन्छ ।’ तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । तर, विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा भने एक मत देखिएको पौडेलले बताए । ‘अब धेरै पार्टी बनाएर काम छैन । पार्टीहरु धेरै भए मन लागे खोल्ने भयो । पार्टीको उद्देश्य छैन बार्गेनिङ गर्न छुट्टै पार्टी बनाउनुको औचित्य छैन । छुट्टै पार्टी बनाउनु हाम्रोपनि अरु पार्टीका निम्ति पनि औचित्य छैन’ उनले भने, ‘आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्छ । अहिले बैंक मर्ज हुँदै गए । र सहकारी मर्ज हुँदै जान दबाब दिएको छ । पार्टी ध्रुवीकरण किन नहुने हो ? विचार मिल्नेहरु एकता गरेर जानुको विकल्प नरहेको पौडेलले बताए ।
काठमाडौं: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्नुहुँदै आयुक्त थपलियाले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो । बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्न समेत गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन् । यिनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर, यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’’ उहाँले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गर्नुभयो । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उहाँको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रेस संयोजक शर्माका अनुसार भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुँदैछ ।
पोखराः गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ । धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

