काठमाडौं: प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका–६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ । सभामुख घिमिरेको बाल्यकाल सभामुख घिमिरेको बाल्यकाल ताप्लेजुङ जिल्लामा बितेको थियो । ताप्लेजुङको साविक सिकैँचा गाविस ९हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट भएको हो । १२ जना छोराछोरीमध्ये घिमिरे माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते जन्मनुभएको हो । निम्न मध्मम परिवारमा जन्मिनुभएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभयो । उहाँले ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु पब्लिक हाई स्कुलबाट वि.सं. २०२९ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको हो । उच्च शिक्षाका लागि उहाँ धरान हुँदै काठमाडौं आउनुभएको हो । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमाबाट उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिमा प्रवेश वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहनुभएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिनुभएको हो । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिनुभएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । राजनीतिक जिम्मेवारी २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाउनुभएको छ । उहाँ बिहीबार प्रतिनिधि सभाको सभामुख भएसँगै पहिलो पटक सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाउनुभएको हो ।
काठमाडौं: सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिन समर्थन गरेको पनि दोहोर्याउनुभयो । ‘‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अब हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौं ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिनुहुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूलाई अनुरोध गर्दछु ।’’ प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा सङ्घीय संसद् भए सहज हुने दाबी गर्नुभयो ।
पोखराः नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखका उम्मेदवार घिमिरेलाई मत माग्दै कांग्रेसले मुटुदेखि नै प्रधानमन्त्रीलाई समर्थन गरेको कि निधार देखि भन्दै प्रश्न गरेका छन । ‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वास मत दिएको छ, बिहान प्रमोद खरेलको गीत सुने, माया गर्ने मुटुले हो निधारले होइन, उनले भने, प्रधानमन्त्रीलाई मुटुबाट नै माया गरेको हो भने सभामुखलाई पनि मतदान गर्न अनुरोध छ ।' उनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्नुहुँदै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको धारणा व्यक्त गर्नुहुँदे उहाँले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले त्यस्ता ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ, दलबाट चुनिएर आएपनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ । लाभहानी हेरेर काम नहोस् । जनताका मर्म नभुलि काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’’ गृहमन्त्री लामिछानेले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उहाँले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताउनुभयो । गृहमन्त्रीले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दवाव र प्रभावमा नपार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दवाव र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’’ गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग् आग्रह गर्नुभयो ।
काठमाडौंः नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
काठमाडौंः नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा ९माओवादी केन्द्र० का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची रहेको छ । माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौंः नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामोदर भण्डारी उद्योग मन्त्री बन्नुभएको छ । माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ ।
काठमाडौं: आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ । गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो । प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ । त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ । सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने ब्यवस्था छ । सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमश प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको छ । पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत उम्मेदवार सभामुख निर्वाचित हुन्छ संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । सभामुखको निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु सभामुखको उम्मेद्वार तय गर्न आन्तरिक छलफलमा केन्द्रीत बनेका छन् । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच छलफल भएको छ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।

