काठमाडौं: नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठुलो बनेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए । उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए । समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताइन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्ड भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्याएर पुनः नागरिकताको प्रतिलिपि लिएका छन्। नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ। रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।
कास्की: प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४ मा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलका नेता, उपनेता, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति, दलका सचेतक र सदस्यले सुविधा पाउनेछन् । प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपियाँ पारिश्रमिक पाउँछन् । उपसभामुख र विपक्षी दलका नेताले ६० हजार पारिश्रमिक पाउँछन् । दलका नेताले ५९ हजार पाँच सय, उपनेताले ५८ हजार ८४०, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापतिले ५८ हजार ८४०, दलको सचेतकले ५६ हजार ५२० र सदस्यले ५४ हजार दुई सय पारिश्रमिक पाउँछन् । सांसदले सञ्चार सुविधाबापत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक १५ सय, पाँच वर्षको अवधिमा एक पटक मात्र फर्निचर खर्चबापत ५० हजार, प्रतिमहिना बत्ती खर्च र पानीबापत १५ सय रुपियाँ पाउने व्यवस्था छ । विपक्षी दलको नेतालाई घर भाडाबापत मासिक २० हजार रुपियाँ दिइन्छ । प्रदेश सांसदले घरभाडास्वरूप प्रतिमहिना १५ हजार रुपियाँ पाउँछन् । सांसदले भ्रमण भत्ता पनि पाउने व्यवस्था छ । सांसदहरूले नेपालभित्र भए दुई हजार र विदेश भ्रमण गर्दा दैनिक भ्रमण गर्दाको दिनको अमेरिकी डलर रेटअनुसार १५० डलर पाउने व्यवस्था छ । सांसदहरू यात्रामा हुँदा बीमाबापत प्रतिभ्रमण १० लाख रुपियाँ पाउने व्यवस्था छ ।
काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चार जगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । सभामुख घिमिरेले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने बताए । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरूई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरूलाई पनि समाधान गर्दै लैजाने बताए।
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उहाँको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको छ भन्नुभयो । उहाँले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो । कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन ।”
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो कि भन्ने लागेको छ तर त्यस्तो होइन ।” गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्धनबाट त्यो सम्भव रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.६१ हजार, द्वितीय हुनेलाई रु.५१ हजार, तृतीय हुनेलाई रु.३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु. १२ हजार पाँच सय प्रदान गरिनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ ।

