कास्की: गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए । ‘हामीले प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्ने हो बाँकी निर्णय प्रदेशसभाबाटै हुन्छ,’ उनले भने । विश्वासको मत लिने समय एक महिना भए पनि छिट्टै नै विश्वासको मत लिने तयारीमा सरकार रहेको छ । ३३ सांसदको समर्थनमा सोमबार अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै ६ वटा निर्णय गरिएका थिए ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले अनलाइनखबरसँग भने । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।
काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हालेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । उनले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको सङ्ख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निर्णय गरेका छन् । उक्त समितिले आगामी १५ दिन भित्रमा प्रतिवेदन तयार पारी पेस गर्नु पर्ने छ । त्यस्तै मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र सङ्घीय सरकार समक्ष विशेष र समपूरक तर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका छन् ।
काठमाडौं: प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले नेकपा (एमाले) का तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराउनुभयो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोक्नुभएको छैन । माओवादी अनुपस्थित यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्यमा नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले गरेको निर्णयका बारेमा जानकारी दिनुहुँदै माओवादी केन्द्रका सांसद तथा प्रदेश १ का सचिव गणेशप्रसाद उप्रेतीले भन्नुभयो ‘प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल हुनेगरी सहमति नभएसम्म तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको छ ।’ बैठकले दलहरुबीच भएको सहमति सच्याउन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । माओवादी संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेसँगै प्रदेश प्रमुखले दिउँसो २ बजे आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सुरु गर्न केही ढिलाइ हुनुभएको छ । त्यसअघि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय सहमति विपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उहाँले भन्नुभयो, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’ यद्यपि माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन भने गरेको छ । माओवादी सरकारमा सहभागी नभएको अवस्थामा पनि मुख्यमन्त्रीसँग सरकार गठनका लागि आवश्यक ४७ जना सांसदको बहुमत भने प्राप्त हुनेछ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।
मुख्यमन्त्रीको खगराज अधिकारीको मन्त्रीमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ् मन्त्री बन्ने निश्चित भएको छ । मन्त्रीमण्डल कति र कस्तो बनाउने टुंगो नलागेपनि राप्रपाका गण्डकी प्रदेश अध्यक्ष गुरुङ मन्त्री बन्ने पक्का भएको पार्टीका कास्की प्रवक्ता अरुण गिरीले जनाएका छन् । प्रदेशमा समानुपातिकबाट २ सिट प्राप्त गर्न सफल राप्रपाले एमालेको समर्थन गरेको छ । ‘ठ्याक्कै कुन मन्त्रालय भन्ने निश्चित भएको छैन’ प्रवक्ता गिरीले भने ‘तर यस मन्त्रीमण्डलमा राप्रपाको स्थान कन्फर्म भइसकेको छ ।’ गण्डकी अध्यक्ष गुरुङ प्रदेशमा संसदीय दलका नेता हुन्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी चयन भएका छन् । कास्की क्षेत्र नम्बर १ (१)बाट निर्वाचित अधिकारीले आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्तिको प्रमाणपत्र लिएका छन् । अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न मनाङ १ को क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिेतका राजीव गुरुङ् (दिपक मनाङे)ले समर्थन गरेका हुन् । स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत एसमा प्रवेश गरेपनि आज नेकपा एमालेबाट मुख्यमन्त्रीा दाबी पेश गर्नेक्रममा खगराज अधिकारीलाई समर्थन गरेका छन् । राजनीतिक समीकरण अनुसार अघिल्लो गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखेर एसमा प्रवेश गरेका मनाङेले प्रदेशमा एमालेको सरकार बन्ने देखेपछि मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेका हुन् । पछिल्लो समीकरणमा अब मनाङेले कुनै एक मन्त्रालय पाउने पक्कापक्की भएको स्रोतले बताएको छ । मनाङेलाई मन्त्री दिन केन्द्रमा एमालेकै पहल रहेको जनाइएको छ । यद्यपि, उनले एस परित्याग भने गरेका छैनन् । पार्टीमा जे भएपनि सरकार टिकाउन समर्थन गरेको मनाङेको सटिक प्रतिक्रिया छ । अबको केही समयमा अधिकारीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिनुभयो । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” उहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं रु जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं रु यो संसद् हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।” हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँको भनाइ थियो, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोलिक विशेषता भएको यो देशमा विविधताको सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं ।” फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकाले सबै एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।” उहाँले भन्नुभयो, “भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।” सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उहाँले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनुपर्ने बताउनुभयो । “राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।” उहाँले भन्नुभयो, “आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।” व्यवस्थापिका संसद् सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।” उहाँले बिट मार्दै भन्नुभयो, “यो सम्मानित र सार्वभौम संसद् नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।” गोरखापत्र
पोखराः गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा फाइल रोकिएको बताएका छन् । गण्डकी प्रदेशको अर्थमन्त्री बरालले पदमुक्त हुन अघि आज (आइतबार) पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘मन्त्रालयमा ऐन नियममा रहेर फाइल रोकेको सत्य हो, ऐन नियममा जुन कुरा उल्लेख गरिएको छ त्यसलाई पालना गर्न अभ्याससमेत भएको हो, बरालले भने, ‘ऐन नियम संसोधन गरेर आएको भए यस्तो हुने थिएन त्यसैले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै केही योजनाको फाइल रोकिएको हो ।’ उनले प्रदेशका कुनै पनि मन्त्रीहरुसँग सम्बन्धमा कुनैपनि व्यक्तिगत पुर्वाग्रह नरहेको बताए । ‘काममा हिसाबमा कुनै पनि मन्त्रीसँग सम्बन्धमा तागरता आयो होला, उनले भने, ‘व्यक्तिगत रुपमा कसैसँग पनि कुनै सम्बन्धमा तागरता आएको छैन् । मन्त्री बरालले १८ महिना गण्डकी प्रदेशको अर्थमन्त्रालयमा समुन्नत र समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याएको बताए । ‘केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव प¥यो, उनले भने, करिब १८ महिनाको कार्यकालमा प्रदेशको आन्तरिक राजश्वको आधार सृदृढ गर्दै वित्तिय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट आर्थिक सन्तुलन गर्दै समुन्नत र समृद्ध प्रदेश निर्माणको अभियानमा टेवा पु¥याउन सफल भएको छु ।’ उनले पदमुक्त हुनुअघि आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सोही पत्रकार सम्मेलनमार्फत धन्यवाद समेत व्यक्त गरेका थिए ।

