काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटार स्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका ३५ चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ । पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो । गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए । प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्र प्रसाद पाण्डेले पुस १९ मा लेखेको पत्रमा भनिएको छ–‘आदेशअनुसार अर्को व्यवस्था नभएसम्मको प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका सवारी चालकलाई यस कार्यालयमा निरन्तर कामकाज गर्ने गरी व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’ तर, पत्राचार गरेको दुई दिनमै सो निर्णयबाट पछि हटेर प्रधानमन्त्री कार्यालयले चालकहरूलाई फिर्ता पठाउने भएको छ ।
धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो। सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको प्रष्ट पार्नुभएको हो। पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिको दृश्य स्पष्ट नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पार्नुभयो। प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौं। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला। तर, अनुहारले मात्रै हुँदैन। त्यहाँ अनेक छन्। के–के गर्छन ? थाहा छैन। हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के को हतार ? पुस २६ गतेसम्म यो विषय सस्पेन्समै रहोस्। दुनियाँ कुदिरहून्। वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनिरहून्। त्यसो हुनाले हामीले हतार नगरेको हो।’’ अध्यक्ष नेपालले सरकारमा जाने बेलामा आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल नगरेको भन्दै गुनासो गर्नुभएको छ। उहाँले सबैको रायसुझाव सुनेर पार्टीले आधिकारिक कमिटीले निर्णय गर्ने उहाँको भनाइ छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘‘सबैको रायसुझाव सुनिन्छ। अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ। अनि कसैकसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन। नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलबनै राखेको छैन। तैपनि सरकारमा जाने हतार। यी सबै भनेका कुरा के हुन् भने सत्ताबाहेक अरु केही पनि नदेख्ने चिन्तन हो। हाम्रो पार्टी भिन्न छ।’’ अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो। उहाँले पार्टीका सांसदलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराउनुभयो। सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराउनु भएको हो। उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर गर्नुभयो। राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन। कतिपय मान्छेको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ। केको आत्तिएको ? प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट सङ्ख्या भनेको १०। संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन।’’ अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ । दलका नेताका लागि सात जना आकाङ्क्षी रहनुभएको छ । संसदीय दलका नेताका लागि शिवराज भट्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, मेघराज खड्का र मानबहादुर रावलको दाबी छ । दलको नेता सर्वसम्मतले चयन गर्नकालागि मङ्गलबारसम्मको समय सीमा दिइएको थियो । तोकिएको समय सीमाभित्र संसदीय समितिले दलको नेता चयन गर्न नसकेपछि निर्वाचनबाट नेता चयन गर्न लागिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिनुभयो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गराउन कांग्रेस प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिले आज अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने कार्यपालिका प्रकाशन गरेको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना सदस्य हुनुहुन्छ ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको हाजिरी विद्युतीय हुने भएको छ । २५ पुस बाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरुको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ । २४ गतेसम्म राष्ट्रिय सभाका सबै मानननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्ने उनले जानकारी दिए । संघीय संसद सचिवालयले अटोमेसनमा जाने सन्दर्भमा स्वअध्ययन नै गरेको थियो । सोही अध्ययनका आधारमा सांसदहरुको विद्युतीय हाजिरीको विषय अगाडि बढेको हो । तर, राष्ट्रिय सदस्यहरुको विद्युतीय हाजिरी पक्का हुँदा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय अन्योलमै छ । निर्णय भएको खण्डमा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय पनि अगाडि बढ्ने सूचना अधिकारी धमलाले बताए ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) की नेत्री एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले सङ्घीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। नेत्री घर्तीले सङ्घीय शासन प्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दासमेत सङ्घमा आवश्यक कानुन निर्माण हुन नसकेकाले आम सर्वसाधारणलेसमेत समस्या व्यहोरिरहेको बताउनुभयो। उहाँले सङ्घीय कानुन बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘दोस्रो कार्याकाल सुरु भइसक्दासमेत कानुन निर्माण हुन सकेको छैन। सङ्घको कानुन नबन्दा सर्वसाधारणले धेरै नै समस्या भोगिरहेका छन्। यी कुरामा ध्यान दिनुपर्छ। त्यसपछि प्रदेश सभामा प्रभावकारिता छ। कानुन त पहिला बन्नुपर्छ। जसको समस्या प्रदेश र स्थानीय तहले भोगिरहेका छन्। यसमा ध्यानाकर्षण गर्दछु।’ पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिले संसदमा गरिरहेका कार्य हेर्न पाउनुपर्ने बताउनुभयो। उहाँले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध पाँच वर्षमा भोट माग्न जानेकुरामा मात्रै सीमित हुनु नहुने बताउनुभयो। उहाँले संसदमा जनगुनासाको सम्बोधन हुनुपर्ने पनि बताउनुभयो। उहाँले जनप्रतिनिधिले पद पाएपछि जनतासँग गरेका वाचा भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिलाई झक्झकाइरहनुपर्ने बताउनुभयो। उहाँले जनताको काम गर्न र संसद्का गतिविधिलाई पारदर्शी बनाउन सङ्घ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदलाई ठूलो चुनौती रहेको बताउनुभयो। नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासोसमेत गर्नुभयो। पूर्व सभामुख घर्तीले सांसदको काम र भूमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले कानुन निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफल हुनुपर्ने बताउनुभयो।

