महोत्तरी: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो । उहाँका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो । यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९प्रतिशत३४ मत खसेको छ ।
काठमाडौं: झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।
झापा: झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् । ३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् । माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।
सप्तरी: सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन्। अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्। यहाँबाट २०७४ मा यादव विजयी भएका थिए। मतगणना जारी छ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।
मुस्ताङ: मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितको नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ । मुस्ताङमा हाल सम्म पाँच हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ६ र बदर ७१ मत भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म घमी, छैरो, नेफुक गुम्बा, ठिनी, घिलिङ, साङ्ता, ढाकमर, झोङ, स्याङ, घाँसा, छोन्हुप चिमाङ, लेते, मराङ, लोमन्थाङ, चराङ, फलेक, मार्फा, सौरु, छोसेर, जोमसोम, टुकुचे, ढि, घ्याकर, किमलिङ, यारा, चुम्जुङ, कोबाङ, झारकोटको मत गणना भएको छ । यस पटक निर्वाचनमा प्रत्यक्षतर्फ सात हजार दुई सय ५७ मत खसेको थियो ।
पर्वत: पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिए । मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उनले बताए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।
काठमाडौँ: काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।
काठमाडौं: आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

