सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । प्रनाउ शाहका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुईवटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी लयाइएको छ भने नौवटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदाता मध्ये दुई हजार ६४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ । लिखुपिके गाउँपालिकाबाट गाडीमा ल्याइएको तर आइपुग्न बाँकी रहेको र अन्य क्षेत्रका मतपेटिका गाडीबाट जिल्ला सदरमुकाम सल्लेरीको मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।
काभ्रेपलाञ्चोक: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो। प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान केन्दको मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो। यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सीसी क्यामेराको व्यवस्थापन गरिएको छ। उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाई भएका कारण मतगणनाको कार्य ढिलाई भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्र्तगत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्र्तगत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्।
हुम्ला: नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको हो । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने काम भएको बताउनुभयो । सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मतपेटिका, सामग्री र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसार्ने काम भएको बताउनुभयो । निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्रहरूमध्ये तीलमा १११ मत भएकोमा ७४, हल्जीमा २२७ मतदाता भएको १६५ र जाङ्गमा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताउनुभयो । लिमीका तीन वटै मतदान केन्द्रगरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो । लिमीको मतदान कार्यका लागि खटिएका बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी भने लिमीमै रहनुभएको छ । उहाँहरूलाई मङ्गलबार मात्र हेलिकप्टरबाट ल्याइनेछ । यसअघि कात्तिक २९ र ३० गते गरी पाँच वटा उडानबाट लिमीका मतदान केन्द्रमा खुटिनु भएका कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री ढुवानी गरिएको थियो । लिमीमा भृकुटी प्रावि जाङ, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तील मतदान केन्द्र रहेका थिए । लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेर बाटो बन्द हुँदा पैदल मार्गबाट लिमी आउजाउ बन्द भएको छ ।
काठमाडौं: धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।
तनहुँ: तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । उनले ७३६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ४२६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले २४० मत पाएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले ३८ मत ल्याएका छन् ।
काठमाडौं: काठमाडौं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।
झापा: झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। एक हजार मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्। मतगणना जारी छ।
गण्डकी: यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाउनुभयो । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आउनुभएका उहाँ ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बन्नुभएको छ । जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उहाँ नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिनुभएको थियो । उहाँ पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बन्नुभएको थियो । उहाँ पार्टीको साविक लेते गाउँसभापति पनि बन्नुभएको थियो । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहनुभएको छ । प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गर्नुभएको थियो । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्नुहुन्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुनुहुन्छ । रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभएको थियो । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाउनुभयो । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । रोमी २०७३ मा वाणिज्यमन्त्री हुनुहुन्थ्यो । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो । योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताउनुभएको थियो । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाउनुभएको थियो ।

