काठमाडौं: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले ७० वर्ष सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ भन्नुभयो । उहाँले झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई टुक्राटुक्रा पार्ने र जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरुपमा पटकपटक विघटन गर्ने काम नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गर्नुभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरु केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ ।” नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनुहुन्न । गणतन्त्र हुनुहुन्न र नेपाली जनतालाई अधिकार दिनुहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत दिन नहुने उहाँको भनाइ थियो । नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरुपमा सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँ निर्वाचन क्षेत्र नं २ का मतदाताको आकाङ्क्षालाई समेटेर तयार गरिएको कार्ययोजनालाई आफ्नोतर्फबाट पूरा गराउन पूर्णरुपमा लागिपर्ने धारणा राख्नुभयो । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले विश्वास गरेर विसं २०७४ मा झण्डै दुई तिहाइ बराबरको जनमत दिए पनि केपी ओलीले त्यसलाई स्वीकार गर्न नसकेका कारण यस पटकको निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ । आफूहरु आबद्ध गठबन्धन देश र जनताको हितका लागि रहेको उल्लेख गर्दै उहाँले अर्को गठबन्धन प्रतिगामी र जनविरोधी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रतिगामी गठबन्धन र पराजित गर्नैपर्छ । सजाय दिनैपर्छ । मौका दिएपछि सदुपयोग गर्न नसक्ने, पार्टीलाई मिलाउन नसक्नेहरुले अबका दिनमा गल्ती सुधार गर्लान् र नयाँ ढङ्गले लान सक्लान् भन्ने आशा गर्न सकिँदैन ।” उहाँले वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलसँग कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासमेत रहेको र बेरोजगारीको अन्त्य तथा आर्थिक विकास तथा समृद्धिको सुझबुझपूर्ण योजना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले आफूले अगाडि सारेको योजना, कार्यक्रम र अभियानलाई अगाडि बढाउनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ओनसरी घर्तीलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो । उहाँले संविधान विरोधी राजावादी र प्रतिगामी गठबन्धनलाई जनताले दण्डित गर्नैपर्ने र सजाय दिनैपर्नेमा जोड दिनुभयो । सभालाई सम्बोधन गर्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रुमख उपेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रका वाम लोकतान्त्रिक गठबन्धनक उम्मेदवार ओनसरी घर्तीले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनताले जीत निकाल्ने कि जनविरोधी विजयी हुने भन्ने कुराको निर्धारण गर्ने फैसला जनता आफैँले गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाका उम्मेदवार भरत फुयाँलले र धुव्र केसीले समग्र निर्वाचन क्षेत्रको विकासका लागि गठबन्धनका तर्फबाट अगाडि सारिएको प्रतिबद्धता प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताउनुभयो ।
अछाम: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भन्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।” प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताउनुभयो । उहाँले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गर्नुभयो । लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उहाँले स्पष्ट पार्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताउनुभयो भयो । त्यस्तै उहाँले अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले बन्द अवस्थामा रहेको अछामको कैलाशखोला जलविद्युत् आयोजना यसअघि आफ्नै कार्यकालमा बनेको र त्यसपछिको सरकारले उक्त योजनालाई बेवास्ता गरेकाले विद्युत् बन्द हुन पुगेको भन्दै अब बन्ने सरकारले उक्त आयोजनालाई अगाडि बढाई अछामलाई उज्यालो बनाउने बताउनुभयो । प्रधानमन्त्री देउवाले आजै अछामको चौरपाटी गाउँपालिकाको आमसभालाई पनि सम्बोधन गर्नुभएको थियो ।
पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन् । यस्तै पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै उक्त रागमार्गका छेउछाउका प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने उनीहरुले बताएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ । उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एंव हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष गर्ने बताएका छन् । भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।
काठमाडौँ: क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।” उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पनता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । मुलुकका सबै तह र तप्कालाई मिलाएर लग्ने खालको आर्थिक एजेण्डाको नेतृत्व गर्न कांग्रेस अगाडि बढेको बताउँदै पार्टीका पूर्वमहामन्त्री सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ भनेर आफ्नो चुनावी प्रतिबद्धतापत्रमै स्पष्ट भनेको बताउनुभयोे । निर्वाचनपछि नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले सामान्यतया ठूलो पार्टी जो छ त्यसले नै नेतृत्व गर्छ भन्नुभयो । जनता र राष्ट्रहितलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध राम्रो बनाएर सबै मित्रराष्ट्रको सहयोग र समर्थन प्राप्त गरेर जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार सिंहले बताउनुभयो । निर्वाचन घरदैलोका क्रममा मतदाताले खानेपानी र राजनीतिक स्थिरताका बारेमा जिज्ञासा राखेको बताउँदै पूर्वउपप्रधानमन्त्री सिंहले परियोजना पुनःस्थापित गर्ने काम भइराखेकाले अब छिट्टै नै पानी निरन्तररूपमा आउने विश्वास दिलाउनुभयो ।
पोखराः गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीबाट हटाइएका कुमार खड्काले पार्टीले टिकट नदिएपनि नेपाली कांग्रेस नछोड्ने बताएका छन् । आज (बिहिबार) पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नछोड्ने बताएका हुन् । ‘पार्टीको क्रियाशिल सदस्यता लिएर प्रवास गएका साथीहरुले वडा अध्यक्षको टिकट पाएका छैनन्, ‘नेपाली कांग्रेसले एउटा कार्यकर्तालाई ठुलो गुण लगाएको छ, उनले भने, ‘प्रदेशसभाको सदस्य बनायो । लेखासमितिको संयोजक बनायो । प्रदेशको मन्त्रीको बनायो टिकट नपाएपनि अरु पार्टी प्रवेश गर्दिन । र गठबन्धनका नेता जिताउन लागि पर्छु ।’ आयोगले जारी गरेका आचासंहिता विपरित चुनावी सभा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री खड्काले स्पष्ट पारे । ‘जनताको सेवामा खटिन्छु भनेर कसम खाएको छु । निर्वाचन आयोगले मंसिर ४ गतेसम्म आचारसंहिता विपरित पार्टीको कार्यक्रममा उपस्थित नहुन आचारसंहिता जारी गरेको छ, खड्काले भने, ‘ त्यसकारण आचारसंहिता विपरित गठबन्धनको कार्यक्रममा उपस्थित नभएको हो । उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार हो ।’ उनले निर्वाचन आयोगमा गठबन्धनको कार्यक्रममा उपस्थित हुन पत्र लेखेका थिए । तर उक्त पत्रमा मिति, समय, स्थान तथा कार्यक्रमको विस्तृत जानकारी नखुलेको बताउदै आयोगले अनुमति दिएको थिएन । सोही कारण खड्का गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागि हुन नसकको सुनाए । यद्यपी अब पदमुक्त भएपछि भने गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने जनाएका थिए ।
पोखरा: पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदवारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । उम्मेदवारहरु कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय रामजी र प्रकाशले नहर मार्ग, खहरे, डिहिको पाटन , हलनचोक र बगंलादि लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने योजना सुनाए । कथाको रुपमा रहेको फेवातालको संरक्षण र विकासको लागि दिर्घकालिन योजना ल्याउने प्रतिवद्धता जनाए । पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिन्हमा मतदान गरौंँ”, प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “प्रिय मतदाता १ अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”, भिडियो सन्देशमा भनिएको छ । अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भन्नुभएको छ । “प्रिय मतदाता म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।”
काठमाडौं: राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए । घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ । उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए । उनले भने, ‘आज बिहान हामी यसबारेमा टुंगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं १ मा हामी अझै बलियो भएका छौं ।’
रुपन्देही: गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।” लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?” स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत हुनुहुन्छ । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गर्नुभएको छ, “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।” गृहमन्त्री खाण भन्नुहुन्छ, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पुर्याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?” कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उहाँले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्नुहुन्छ । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्नुहुन्छ । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।” रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ । उहाँ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उहाँसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । उहाँले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

