काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।” मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ रु भन्ने राससको जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पार्नुभयो । राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।” “विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो”, उहाँले स्मरण गर्नुभयो । अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिनुभयो । उहाँले भन्नुभयो, “एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।” संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।” एकप्रश्नमा उहाँले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिनुभयो । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो, “जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र रु देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।” अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गर्नुभयो । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– “लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।”
काठमाडौं: नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो। तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ। सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ। ‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’ सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन्।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ । बैठकमा महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् । ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् । बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए । बैठका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ ।
पोखरा: नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उहाँको दावी छ । ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’उहाँले भन्नुभयो । हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उहाँले गराउनुभयो । ‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पार्नुभयो । यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने बताउनुभयो । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाउनुभयो । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाउनुभयो । ’समानुपातिकतर्फकोलाई एउटा संख्यामा पुर्याएर राष्ट्रिय सभामा पुर्याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सातवटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उहाँले भन्नुभयो । एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताउनुभयो । यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उहाँको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उहाँको भनाई छ । ’प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउदैनौ कसैप्रति विरोध पनि गर्दैनौ हामी सबै मिलेर देश बनाउँछौ’उहाँले भन्नुभयो । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उहाँको भनाई थियो । राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताउनुभयो । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।
काठमाडौं: नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ । कांग्रेस–एमालेबिच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ । समसामायीक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो । कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन्। राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री केही समयअघि फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड पछिल्लो राजनीति घटनाक्रमका बारेमा जानकारी गराउन शीतल निवास गएका थिए। एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री पदाधिकारी बैठक सकिएलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिइ विश्वासको मत लिने ‘मुड’ मा छन्। माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमाले र कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।
काठमाडौं: नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार निर्माण हुने भएपछि छलफल गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बुधबार बिहान ९ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुनेछन्। आज बिहान पदाधिकारी बैठक बसेको थियो। कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने मन्त्रिहरुको बारेमा समेत छलफल हुनेछ। सोमबार राति भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भएपछि छलफलका लागि बैठक बोलाइएको हो। लामो गृहकार्य र छलफलपश्चात सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। सहमतिअनुसार ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्। एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। पछिल्लो राजनीतिक घटनाबारे उनीहरुले राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। एमाले र कांग्रेसले संविधानको धारा ७६।२ अन्तर्गतकै सरकार बनाउन लागेका हुन्। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आग्रह गरेका छन्। दुई दलको सहमतिअनुसार निर्वाचन प्रणालीलगायत संविधान संशोधन गर्न ‘संविधान संशोधन सुझाव समिति’ बनाइने भएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। यो गठबन्धन बनेमा स्थिरतातर्फ मुलुक जान सक्ने राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। कांग्रेस–एमाले मिलेर सरकार बनाएमा संविधान संशोधन, संविधानको कार्यान्वयन, सक्रमणकालीन न्याय लगायतको विषयमा निश्कर्षमा पुग्न सहज हुनेछ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रियाका लागि आवश्यक काम अघि बढाउने बताएको हो । “प्रधानमन्त्रीले संसद् ‘फेस’ गरेर विश्वासको मतको प्रस्तावमा जाने निर्णय भएको छ”, बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने । वर्तमान सत्ता समीकरणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत सबै दलसँग विश्वासको मतका सम्बन्धमा छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक विकासक्रमबारे प्रारम्भिक ‘ब्रिफिङ’ गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।