काठमाडौं: नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको र त्यो सत्य नभएको स्पष्ट पार्नुभयो । कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलितलगायत पछाडी परेका समुदायको हितका लागि कांग्रेसले सधैँ आवाज उठाएको र समावेशी समानुपातिक प्रतिनिधित्व त्यसैको उपज भएको धारणा राख्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकारले दलित समुदायको हकअधिकारको कुरा उठान गर्न दलित आयोगलगायत व्यवस्थाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो । “कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै दलितहरूको प्रतिनिधित्वको सवालमा महत्वपूर्ण काम गरेको छ । पार्टीभित्र र राज्यका निकायमा पनि दलितको समान सहभागिता र सशक्तीकरणका लागि आवश्यक बन्दोबस्त गरेको छ । त्यसलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ”, उपसभापति खड्काले भन्नुभयो, “पछिल्लो परिवर्तनपछि नेपालको संविधानमा धेरै व्यवस्थाहरू गरिएका छन् । त्यसलाई थप बलियो र व्यवस्थित गर्नुपर्छ भनेर वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको कुरा गरिरहेको छ । समानुपातिक मात्रै होइन, अब प्रत्यक्ष निर्वाचनमै दलितको नेतृत्व विकासलाई सुनिश्चितता गर्दै अगाडि बढ्नुपर्छ ।” कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिनुभयो । “संविधानले गरेको व्यवस्थाअनुसार सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो उपलब्धिमा टेकेर थप समृद्ध र व्यवस्थित व्यवस्थाका लागि हामीले जोडबल गछौँ । अहिलेको व्यवस्थालाई थप कमजोर बनाउने कुरा हामीले सोच्नै सक्दैनौँ”, महामन्त्री थापाले भन्नुभयो, “हामी यसलाई थप व्यवस्थित बनाउन चाहन्छौँ । अहिले जहाँ बाध्यकारी भनिएको छ, त्यहाँ मात्रै प्रतिनिधित्वको कुरा गर्ने र बाध्यकारी नभनिएको कुरा पालना नगर्ने प्रवृत्ति छ । त्यसैले संविधान संशोधन गर्दा प्रतिनिधित्वलाई बाध्यकारी बनाउने व्यवस्थाका लागि पार्टीले पहल गर्छ । यसमा दलित सङ्घले सबैसँग छलफल गरेर आफ्नो मत प्रस्तुत गर्न र दबाब बढाउन आवश्यक छ ।” महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो । पार्टीका सहमहामन्त्री जीवन परियारले अन्य पार्टीको तुलनामा अहिले पनि कांग्रेसमा पहुँच, प्रतिनिधित्व र सम्मानमा कुनै समस्या नरहेको तर यसले मात्रै परिवर्तित अवस्थाका माग तथा मुद्दालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टीले हरेक तहका चुनावमा दलितहरूलाई प्रत्यक्ष निर्वाचनका लागि तयार गर्नुपर्ने र सोही अनुसार टिकट दिनुपर्ने बताउनुभयो । “कांग्रेसको जीवनकालमा हालसम्म मलगायत तीन जनाले मात्रै चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अवसर पायौँ । पछिल्लो निर्वाचनमा म आफैँ निर्णायक तहमा रहेर पनि सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सकिएन । यो राम्रो भएन । त्यसैले अब पार्टीभित्र पनि प्रतिनिधित्वको मुद्दालाई थप बलियो बनाउँदै लैजानुपर्छ”, सहमहामन्त्री परियारको भनाइ थियो । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस नै हो कदमजमको कुरा गर्ने, पछि सोहीअनुसारको व्यवस्था संविधानमा पनि ग¥यौँ । त्यसैले संविधानमा भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा हामी प्रस्ट छौँ । तर प्रतिपक्षीहरूले संविधान संशोधन गर्दा यो व्यवस्था विरोधी काम गर्छन् कि भनेर अफवाह फैलाएको सुन्छु, भ्रममा नपर्नुहोला । समानुपातिक प्रतिनिधित्वलाई बलियो बनाउने हो, अहिलेको भन्दा राम्रो व्यवस्था गर्ने हो तर विधिका बारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ ।” कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँहरूले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताउनुभयो । कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवं वन तथा वातावरण राज्यमन्त्री रुपा विक, पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङ, केन्द्रीय सदस्यद्वय सुजाता परियार र कमल बुढा, नेपाल महिला सङ्घका सभापति उषाकुमारी राउत मिश्र, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महते, शम्भुहजारा पासवानलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । विगत ११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । आज सोही समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो
हेटौँडाः पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताउनुभएको हो । माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उहाँले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गर्नुभयो । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उहाँले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताउनुभयो ।
सुदूरपश्चिम: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।” देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुग्नुभएको हो । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।
काठमाडौँः कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।” यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ । यसैगरी अधिकारीलाई नेकपा ९एमाले० कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट ३ सय ४ जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी २ सय ५३ छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिएको कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । यसैगरी, पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक भूमिकाको कार्यविभाजनको गृहकार्य गरेको छ । समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
काठमाडौं: नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ । नेपालको अधिकतम राष्ट्रियहितमा हुनेगरी यो भ्रमणलाई सफल पार्दछौँ ।” उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ । सरकारले आधारभूतरूपमा ठिक ढङ्गले काम गर्दै अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस र एमालेबीचमा समझदारीलाई अझ प्रगाढ बनाउने र काममा अझ समन्वय गर्नका लागि सयन्त्र बनेको उहाँले जानकारी दिनुभयो । ज्ञवालीले उपनिर्वाचनमा उम्मेदवारको नाम अनुमोदन बैठकले उपनिर्वाचनको लागि प्रदेश कमिटीले सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको बताउनुभयो । उहाँका अनुसार बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रित हुन निर्देशन दिएको छ । “उपनिर्वाचनका लागि प्रदेश कमिटीबाट निर्णय भइआएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो । उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो । बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङ्गको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्वपुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो । त्यस्तै बैठकले कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । प्रदेश कमिटी सदस्य अधिकारीलाई प्रदेश कमिटीले पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । “उहाँ माथि लागेका सबै आरोपको वस्तुनिष्ट तथ्यपरक र गम्भीर छानबिन राज्यका सबै निकायले गरुन र त्यो छानबिनमा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो । मङ्सिर ७ गते पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरणसभालाई सफल बनाउन जनवर्गीय कमिटी र सम्पर्क मञ्चलाई सहयोग गर्नका लागि आह्वान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीले पार्टीका केन्द्रीय सल्लाहकार देवी पोखरेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।”सह–महामन्त्री बुर्लाकोटीले भन्नुभयो,“बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”
काठमाडौँः समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ । पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताउनुभयो । संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताउनुभयो । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ । उहाँले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिनुभयो । “सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो । उहाँले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पार्नुभयो । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ । संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । “उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ”, उहाँले भन्नुभयो । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।

