काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

काठमाडौं:     नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा समस्या भएको बताउनु भएको छ । प्रतिनिधि सभाको आज बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिदै एमाले नेता भट्टराईले माओवादीले लगानी भन्दा बढी लाभांश खोजेको बताउनु भएको हो । भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताउनु भयो । भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बतउनुभयो। स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन बनेको भन्दैनेता भट्टराईले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गर्नुभयो।

काठमाडौं:     नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिका रूपमा व्याख्या गर्दै लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका हुन् । ‘एउटा अलिकता गल्ती भएछ कि ठिक मानिसलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर गर्‍यौँ ?,’ लेखकले भने, ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । लोकतन्त्र कमजोर हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’ दुई ठूला दलहरू मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रधानमन्त्रीको आशंका मेटाउँदै प्रमुख सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्री भएकै समयमा प्रतिपक्षी दलको नेताका रूपमा देखिसकेकाले प्रतिपक्ष कमजोर हुनेजस्तो आफूलाई नलागेको बताए । ‘खाली मैले एउटा कुरामा थोरै राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई वटा ठूला राजनीतिक दलहरू मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला प्रतिपक्ष थोरै कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो,’ उनले भने, ‘मेरो आदरणीय नेता सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन मैले पत्रपत्रिका मार्फत विज्ञहरू विशेषज्ञहरू राजनीतिक शास्त्रका ज्ञाताहरूको पनि यो कुरा म सुनिराखेको छु । तर आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रूपमा यो रोस्टममा उभिँदा मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा देखिसक्या हुनाले अब प्रतिपक्ष कमजोर हुन्छ जस्तो लाग्दैन मलाई ।’

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । बैठकले सबै सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ । बैठकले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नु भएको हो । पछिल्लो पटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो । प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई यसअघि नै लिखित आग्रह गरिसक्नुभएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।  ती दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी नयाँ सरकार गठनको सहमति र निर्णय गरेका छन् ।  २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।     प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुईसय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।   त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुईसय ६२ सांसदमध्ये कांग्रेससहित एकसय ७२ जनाले विश्वासको मत दिनुभएको थियो ।  विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।      प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउनु भएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुईसय ६८ सांसदमध्ये एकसय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एकसय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो ।         त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एकसय ५७ सांसदले मत दिनुभएको थियो । एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो ।      संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।  संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एकसय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कूल दुई सय ७५ सदस्यीय रहेको छ । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुईसय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए । 

काठमाडौं:   अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। सिंहदरबारमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्। प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले यसअघि नै विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्। जसपाले नयाँ गठबन्धनलाई सघाउने भएको छ। आफ्नो पार्टीले कांग्रेस(एमाले लगायतको सहमति अनुसार बन्न लागेको नयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए।

विराटनगर:    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताउनुभयो । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सातबुँदे समझदारी पालना गरिने बताउनुभयो । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सातबुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताउनुभयो ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताउनुभयो । उहाँले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्ने बताउनुभयो । संविधानको मूल मर्ममा कुनै संशोधन नहुने उहाँको भनाइ थियो ।

काठमाडौं:     नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।    

काठमाडौं:     राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।   शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तय भएको छ ।  सो बारेमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्नेछ । साथै संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

काठमाडौं:     नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा हिजो साँझ भेटवार्ता भएको छ । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न भेटवार्ता भएको जानकारी बैठकमा सहभागी एक नेताले दिनुभयो । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी हुनुहुन्छ । यस बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन साँसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल हुने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसक्नु भएकोछ ।