काठमाडौं: नेकपा एमााले र माओवादी केन्द्रबीचको सहमति भएसँगै गठबन्धन टुटेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार एमालेबाट पदम गिरीलाई सरकारमा पठाउने तयारी छ ।
चितवन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका देउवाले गठबन्धनले निरन्तरता पाउने बताए। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने बताए। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने।
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राखेका हुन्। उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए। पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । अर्को एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
पोखरा: नेकपा समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेता कार्यकताए नेकपा एमाले पाटी प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाटी प्रवेश गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटिको आयोजनाको घरफर्क अभियान नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन । नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटि सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन । त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल एमाले प्रवेश गरेका थिए ।
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए । सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुन: बस्ने उनको भनाई छ ।
काठमाडौं: प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ । प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको थियो । १५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आगामी बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।
काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ। एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ। एमालेका सांसदहरूले बसेको ठाउँबाट उठेर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थिए। तर एमाले सांसदहरूले अवरोध गरिरहेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्।