काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ। एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ। एमालेका सांसदहरूले बसेको ठाउँबाट उठेर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थिए। तर एमाले सांसदहरूले अवरोध गरिरहेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्।
काठमाडौं: निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ९क० मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । ‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेश सभामा कांग्रेसका सिंह निर्वाचित भएका थिए ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए । आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो । आज उक्त सूची पेस गर्ने कार्यसूची थियो ।
मोरङ: मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिडिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको र ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास दुर्घटनामा घाइते भएको स्थानीय प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको र प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेका हुन् । साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ । शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् ।
काठमाडौं: सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए । संसद अवरोधपछि सभामुख घिमिरेले भन्नुभयो, ‘‘यि विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मान्य सदस्यहरु कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा मान्यज्यूहरुले मुलतः विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु । शुन्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’’
पोखरा: राप्रपा गण्डकी प्रदेश र कास्कीले ४० बुँदे माग समावेश मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । राप्रपा गण्डकीको तर्फबाट पार्टी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य पञ्चराम गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुखको कार्यालय र जिल्ला अध्यक्ष नारायण गुरूङ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई माग पत्र पठाएका हुन् । अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राज्य, प्रलोभनपूर्ण धर्मान्तरणमा रोक, प्रदेश संरचना खारेज गरेर संघ र अधिकार प्राप्त स्थानीय तहको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा बढी जनप्रतिनिधि र कर्मचारी कटौती, सरकारी कर्मचारी तथा पेसागत दलीय भातृ संगठनको खारेज, २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग राप्रपाको छ । यो सहित सहकारी–बचतकर्ताको बचत सुरक्षाको प्रत्याभूति र राहत प्याकेज घोषणा, वित्तीय संस्थाको ब्याज एकल अंकमा कायम गरिनुपर्ने, निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न, युवाहरु विदेशीने बाध्यता अन्त्य गर्नुपर्ने, एक सय वर्षपछिको नेपाललाई हेरेर पूर्वाधार र सहरी योजना बनाउन पनि राप्रपाले प्रधानमन्त्रीसँग माग गरेको छ । युवा जनशक्ति पलायनको तथ्यांक चिन्ताजनक भएको, व्यवसायीमा बढेको निराशाले पुँजी पलायन भइरहेको राप्रपाको मागपत्रमा उल्लेख छ । ‘आज देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त छैन । गत ६ महिनामा मात्र ३० लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए । जान सक्ने भए उनीहरू सबै विदेशिने थिए । विभिन्न कठिनाइ हुँदाहुँदै पनि औपचारिक र अनौपचारिक रूपमा महिनामा एक लाख नेपालीले देश छोड्ने गरेका छन्,’ मागपत्रमा भनिएको छ, ‘अदक्ष र अर्धदक्षमात्र होइन, देशका दक्ष जनशक्ति बाहिरिने क्रम त्यत्तिकै तीव्र छ । व्यवसायीहरूमा बढेको निराशाका कारण पूँजी पलायन बढ्दो छ । देश भित्रभित्रै खोक्रो बनिसकेको छ ।’ मागपत्र बुझाउनुअघि राप्रपाले काठमाडौंमाजस्तै पोखरामा पनि प्रदर्शन गरेको छ । राप्रपाको टोलीले लखनचोक (पृथ्वीचोक)बाट सिर्जनाचोक, सिमलचौर हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यालयसम्म प्रदर्शन (¥याली) गरेको हो । राप्रपाले बुधबार काठमाडौंको भृकुटीमण्डपबाट निस्केर नगर पक्रिमासहित शक्ति प्रदर्शन गरेको थियो । त्यसपछि सिंहदबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको हो ।
काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो । केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन् ।