पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

बझाङ:     बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् ।  निर्वाचन आयोगका अनुसार भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरे । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।   यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

गण्डकीः   गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताउनुभयो ।   हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताउनुभयो ।   नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।   डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताउनुभयो । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उहाँको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उहाँले बताउनुभयो । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।   निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताउनुभयो । “डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ”, उहाँले भन्नुभयो ।   डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको वन अधिकृत थापाले बताउनुभयो । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उहाँको भनाइ छ ।   वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उहाँको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताउनुभयो ।   मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भन्नुभयो, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।”   आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताउनुभयो । “डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदुषण निम्त्याउँछ”, उहाँले भन्नुभयो, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।”   डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उहाँको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताउनुभयो । बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले प्रयाप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताउनुभयो ।   डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताउनुभयो । “वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।”  

बझाङ:    बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा गएको छ ।  पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी  ९ मतले लिड गरेका छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८० मतसहित पछ्याउन पुगेका छन् ।  त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् । अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको सबै वडाको मतगणना सकिएको छ भने मस्टा गाविसको मतगणना अन्तिम चरणमा पुगेको छ ।

इलाम:    इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४५१ मतसहित चौंथो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो । चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, ‘वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।’ पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि प्राविधिक टोली पठाइने बताए । घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

पोखरा:     यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।  आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको बताए ।  उनले भने,‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ ।’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले भने । उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफू सहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए । ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे । टाइगर ग्रुपले पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लव स्तरिय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फकोर्ष, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लरलगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

बझाङ:    बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् । त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । 

रामेछाप:      रामेछापको रामेछाप नगरपालिका वडा नं.३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिडेका महतलाई प्रहरीले पक्राउ गरि वन कार्यालयलाई जिम्मा लगाएको छ । जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खवर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐन अनुसार कारबाहि हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।