काठमाडौंः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुभएको छ भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ । उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ । उद्घाटन सत्रकै क्रममा केही महत्त्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्ताक्षर र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ । ‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय कार्यालयका प्रतिनिधि हाना सिङ्गरलगायत वक्ता रहनुहुनेछ । ‘नेपालमा लगानीका सफलताका कथा’ विषयक सत्रमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राधेश पन्तलगायत वक्ताले विचार व्यक्त गर्नुहुनेछ । सम्मेलन स्थलमा प्रधानमन्त्री दाहालसँग आमन्त्रित अतिथिले भेटवार्ता गर्न सक्नेछन् । यसैगरी आजको सत्रको अन्त्यमा प्रत्यक्ष वैदेशिक लगानी र सरकार–निजी साझेदारी परियोजनाको प्रदर्शनी रहनेछ । सम्मेलनको दोस्रो दिन अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ । सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता हुनुहुन्छ । ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा।डा। सङ्गीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहनुभएको छ । सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन् । समापन सत्रमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्नुहुने छ भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ ।
इलामः प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको थियो । सरकारले भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन गरिँदै छ ।
काठमाडौं: नेपालले दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
काठमाडौं: तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गर्नुभएको हो । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता हुनेछ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । १० सत्रमा सञ्चालन हुने सम्मेलनमा पचासभन्दा बढी वक्ता रहने वोर्डले जनाएको छ ।
काठमाडौं: जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री कामीकावा वैशाख २३ गते काठमाडौँ आइपुग्ने छिन् । विदेशमन्त्री कामीकावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।
इलाम: इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना हुनेछ । वडागत रुपमा १ नम्बर वडाबाट मतगणना सुरु गरिने छ । जसमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बस्न पाउने छन् । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित १३ वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फकोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम मुस्ताङ गल्फकोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई हस्तान्तरण गरेका हुन् । यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् । पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सह–संयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।

