लमजुङ: मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । ५.५ मिटरमा सवारीसाधन सञ्चालन हुने, १.१ मिटर पानीको निकास र पैदलयात्री मार्ग १ मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो । बेँसीसहरबाट खुदीसम्म करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३ सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ । पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा भोलि (शनिबार) देखि पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । उनका अनुसार सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्य लिइएको छ । प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सहभागि टिमलाई ३ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए । प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ ।
पोखरा: गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसैगरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । यस अघि प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको जनाउँदै अवको आफ्नो अभियान दशौं राष्ट्रिय खेलकुद प्रतियोगितातर्फ लक्षित रहेको जनाए । यूवा खेलाडी उत्पादन गर्न परिषद खेल संघहरु संग सहकार्य गर्न तयार रहेको जनाउँदै संघहरुले आफ्ना वार्षिक कार्यक्रम तथा योजनाहरु समेत अघि सार्न आग्रह गरे । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, स्क्वास र्याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरेलगायतले आफा्ना भनाई राखेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष रञ्जितले आफ्नो कार्यकालमा स्क्वास खेलको विकासका लागि सबै संग सहकार्य गर्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिताहरुको आयोजना एवं खेलाडी उत्पादनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाका महासचिव बस्नेतले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक पौडेलले जनाए । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरेर तयारीमा तिव्रता दिइएको छ ।
काठमाडौंः संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिनुभएको हो । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ । यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैँककमा बस्ने गरेको थियो । बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनुहुनेछ । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । यस्तै विग्नाराजासहितको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीषण गर्ने कार्यक्रम छ । यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराई बढाएको थियो ।
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको जानकारी दिएको हो । निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीको विवरण हेर्ने सचिवालयले बताएको छ । शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्री श्रेष्ठले चेतावनी दिँदै आउनुभएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएको सचिवालयले जनाएको छ । विगतमा सम्मानित उच्च अदालतबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु/गराउनु भनी शिक्षा मन्त्रालयलगायतका विपक्षीका नाममा परमादेशको आदेश भएको थियो ।
काठमाडौंः हरेक आर्थिक बर्षको बजेट जेष्ठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस बर्ष बजेट अधिवेशन सुरु गर्नुअघि नै केही कानूनहरु संशोधन गर्नुपर्ने भएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् । हिउँदे अधिवेशनलाइ प्रभावकारी बनाउन भन्दै अधिवेशनको सुरुमै संघीय संसदले कार्यतालिका सार्वजनिक गरेको थियो । तर कार्यतालिका बनाएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् । दलहरुबीचमा सहमती नजुट्दा बैशाखको दोस्रो साता नै हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । तर जेष्ठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अब बजेट अधिवेशन भने समयमै सुरु गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसमाथि छलफल गर्ने गरिन्छ । सांसदहरुले दिएको सुझावलाई समेत समेटेर तयार पारिएको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गर्ने गरिन्छ । त्यसैले नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय समेत राखेर बैशाखको तेस्रो साता बजेट अधिवेशन आव्ह्वानको तयारी भएको छ । बजेट अर्थात बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ । अधिवेशनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि गहन तथा विस्तृत छलफल गर्नुपर्ने मान्यता राखिन्छ ।
पोखरा: कास्की प्रहरीले पोखराको पामे क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ जामुनेबोट बस्ने ३८ वर्षीय 'राजु न्याकेड' भन्ने नर बहादुर बिक रहेका छन् । उनलाई आज वडा कार्यालय वैदामबाट खटिएको बिशेष टोलीले पोखरा २४ बाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बिकको साथबाट पेस्तोलसहित ९ एमएमको गोली, नगद रु १६ हजार र नोकियाको मोबाइलसेट बरामद गरिएको छ । बिक यसअघि १३ वटा मुद्धाका फरार प्रतिवादी हुन् । हाल पक्राउ परेका बिकमाथि पुराना मुद्धासँगै हातहतियार तथा खरखजना कसुरमा मुद्धा दर्ता भई अनुसन्धान थालिने डिएसपी शर्माले बताए ।
पर्वतः पर्वत जिल्लाका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पारेको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताए । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भने, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’ डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उनको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत) मा फैलिएको छ ।

