पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।   बर्सेनी चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ सक्नुभयो । उहाँले भन्नुभयो, “सिँचाइको  सुविधा छ, उत्पादन पनि मनग्य हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दैआएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताउनुभयो । उहाँले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोप्नुभएको छ ।   बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दैआएको उहाँले बताउनुभयो । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन  सहज हुने बताउनुभयो ।   चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उहाँ बताउनुहुन्छ । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउनुहुन्छ । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उहाँको भनाइ छ ।    कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका –१, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुनेगरेको छ । जिल्लामा करिब दुई हजार पाँचसय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।   

बागलुङः   बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुई दिनपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।   त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् ।   आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिनुभयो ।   उहाँका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उहाँको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिनुभयो । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उहाँ बताउनुहुन्छ ।   अधिकारी केसीले भन्नुभयो, “नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पुर्‍याएको छ ।”   चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताउनुभयो ।   आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उहाँको भनाइ छ । वडा नं २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।   “खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “आगो कसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ, सयौँको सङख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन ।”   आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताउनुभयो । शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उहाँको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको घर्ती बताउनुहुन्छ । आफूहरु रातभर जागराम बसेर आगो नियन्त्रणमा लागेको उहाँले बताउनुभयो । 

काठमाडौं:   इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।    चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बनेको हो ।   सर्वाधिक लिग जितमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ ।   एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट एसीमिलान ६९ अंकसहित दोस्रो स्थानमा छ ।   अब लिगमा १५ अंकको मात्र खेल बाँकी हुँदा एसी मिलान भन्दा इन्टर १७ अंकले अघि छ । इन्टरको लागि फ्रान्सेस्को असेर्बीले १८औं र मार्कुस थुरामले ४९औं मिनेटमा गोल गरे ।   एसी मिलानका लागि फिकायो तोमोरीले ८०औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।   खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । इन्जुरी टाइममा इन्टरका डेन्जल ममफ्राइस तथा एसी मिलानका थियो हर्नान्डेज र डेविढ कालाब्रिअले रातो कार्ड पाएका थिए ।

एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएका छन्।    रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए।   एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।    सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ। 

काठमाडौँ:  आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।   अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो ।    यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

बारा:  इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल हराएकाे छ।   वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमबार रातिदेखि हराएकाे हो।   सई बिसी सोमबार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको बुझिएको छ।   जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरे। 

काठमाडौँ:  आज​ कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै छन् ।   राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् ।   दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने सेडुअल छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने तयारी छ ।   मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको बताइएकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज​ (वैशाख ११) नेपालभर सार्वजनिक बिदा दिएकाे छ ।   कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् ।   वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । 

जनकपुरधाम:   धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् ।   आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको थियाे । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।   दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् ।

पोखरा:  पोखरा महानगरपालिका वडा कार्यालय १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ ।    वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी  सामाग्री वितरण गरेको हो ।     वडा कार्यालयले कालिका नमुना मावि, कुँडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा २ सय थान स्टेशनरी सामाग्री वितरण गरेको वडाध्यक्ष राजेश गुरुङले जानकारी दिए ।   उनका अनुसार कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको छ ।   पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच थान कम्प्युटरसमेत प्रदान गरिसकेको अध्यक्ष गुरुङले स्मरण गर्दै शिक्षालाई गुणस्तरीय बनाउनका लागि वडा सदैब पहल गर्ने बताएका थिए ।   उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योयलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।