काठमाडौं: प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक गरेको हो गैरहाजिर रहेका प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्। खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी कार्यालयले दिएको छ।
काठमाडौँ: वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् ।
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पाल्पा प्रहरीका अनुसार पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बर बहादुर सारु रहेका छन् । उनले गत सालको कात्तिक १३ गते पीडितकै घरमा बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उजुरीमा जबरजस्ती करणीपश्चात गर्भ रहन गएको उल्लेख छ । सोही उजुरीकै आधारमा अम्बर बहादुरलाई प्रहरी चौकी हुँगीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । स्थापनाकालमा एउटै रहेको कम्युनिष्ट पार्टी हाल विभाजन र एकताको शृंखलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टीहरु सञ्चालित छन् ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए । सत्य र इतिहास लुकाएर नलुक्ने उनले बताए । ‘सत्यनारायण बहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन, उनले भने, ‘तर, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा पु¥याउन भूमिका खेल्ने बताइन् । यसका लागि फोनिजका सदस्यहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् । उनले रहेक मिडिया हाउसमा जातीय समावेशिता हुनुपर्नेमा जोड दिएकी थिइन् । फोनिज गण्डकीका ईन्चार्ज एमबी आस्था मगरले सत्यनारायण बहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए । सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवारहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ ।’ नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंगले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उनको जोड थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने बताएका थिए । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत गरेका थिए भने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ कार्यक्रम सञ्चालनले गरेका थिए ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मदाने गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी गरिएको ग १० प ४४१२ नम्बरको स्कुटर सहित पक्राउ गरिएको हो । दिपकले आज बिहान करिब पौने ५ बजे लेकसाइडको क्लब क्याटवाक अगाडी पार्किङमा रहेको स्कुुटर चोरी गरेका थिए । हाल पक्राउ परेका उनीविरुद्व कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बाहिर चलेका हल्लाका पछाडि लाग्न हुँदैन, सत्ता समीकरण पुरै समयावधि जाने बताउनुभयो । उहाँले प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको बताउनु हुँदै अव प्रदेश सरकार बलियो भएर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको बताउनुभयो। अहिले वाम एकता भन्नु सही पनि छैन, वामपन्थी समीकरण भनेर सत्ता समीकरण गरिएको पनि होइन, यो राजनीति समीकरण मात्र हो, राम्रो काम हुँदै गयो, समझदारी बन्दै गयो भने वामपन्थी एकताको सम्भावना पनि छ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले कतारका राजाको नेपाल भ्रमण, लगानी सम्मेलन, ऐन संशोधनको तयारीमा सरकार जुटेको बताउनु भयो । उहाँले आगामी बजेट नयाँ तरिकाले ल्याउने गरि सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड आजै महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
लुम्बिनीः लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो । मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो । प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।
पाल्पाः पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् । गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबर बिहानैदेखि आगलागी भएको थियो । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जंगलमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । यसैबीच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी २ दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो । यस्तै बगनासकालीको चिर्तुङधारा, बगनास, रिब्दीकोकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।

