काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ । नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको लगानीबाट नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रबल सम्भावना रहेकाले यसका लागि सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्ने र निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरि मानेर लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । नेपालको आर्थिक समृद्धिको लागि सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको भन्दै राष्ट्रपति पौडेलले यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको बताउनुभयो । राष्ट्रपति पौडेलले विगतमा रहेको परनिर्भरताको अवस्थालाई अन्त्य गरेर बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको र छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारहरूमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिन सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको बताउनुभयो । राष्ट्रपति पौडेलले यसमा सरकारसँगै निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण रहेको भन्दै उत्पादन र निर्यात बढ्नु हाम्रा लागि खुसीको विषय भएको र सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले सरकारले बिजुली छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी सम्झौता गरिसकेको र विक्रम सम्वत २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै यसमा पनि सरकार र निजी क्षेत्र दुवैको उत्तिकै दायित्व र जिम्मेवारी आवश्यक रहने बताउनुभयो ।
काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ । रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि ‘हेर्दाहेर्दै’ मा छ । उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो ।
चितवन: पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारका मृत्यु भएको हाे । ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको प्रहरीले जनाएकाे छ ।
काठमाडौं: १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ ।
कञ्चनपुर: कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपाली रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार दिपकले ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि दिपकको खोजी गरिएको थियो । हाल पक्राउ परेका दिपकमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा प्रष्ट पारे । अब डायलासिल गर्ने बिरामीले कुर्न नपर्ने बताउदै शर्माले भने, ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न । डायलासिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ । २०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलासिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीहरुले डायलासिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा रहेका थिए । अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रीपरिषदको निर्णय अनुसार डायलासिस सेवा विस्तार गरेर, २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाका लागि पर्खाइमा रहनेको संख्या शुन्यमा झार्न सफल भएको सचिव डा.शर्माले बताए । ‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलासिस गर्नुपर्ने प्रतिक्षारत व्यक्तिको संख्या शुन्यमा झार्ने प्रण गरिएको थियो, त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रिय रुपमा चर्चाको रुपमा आएको छ’ उनले भने । डायलासिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा रहेका छन् । सचिव डा. शर्माले स्वास्थ्य तर्फको मन्त्रालयले हाँसिल गरेका उपलब्धि, कार्यगत संरचना, आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी गराएका थिए । बिस्तारित ओपिडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङजा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा.शर्माले बताए । जनशक्तिको अभावमा सुचारु हुने नसकेका धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सुचारु गर्ने प्रक्रियामा मन्त्रालय रहेको सुनाए । मन्त्रालयगत रुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाई थियो ।
डोटीः डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन्। बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका दुवै श्रीमान–श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने २५ वर्षीय दिल बहादुर आले रहेका छन् । उनले गत ७ गते करिब साढे ६ बजे तालचोक आउने क्रममा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलले म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भई हाल पोखरा २९ बस्ने पैदलयात्री ८ वर्षीय बालकलाई भण्डारढिकमा ठक्कर दिएर फरार थिए । त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवालाई प्राप्त सूचनाको आधारमा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलसहित चालक आलेलाई आज पक्राउ गरिएको हो । हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गोरखाको बारपाकमा सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर च्याम्पियन बनेको छ । बारपाकको खेलमैदानमा आज भएको फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नवलपुरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको स्याङ्जाले नगद रु ७५ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । सो प्रतियोगितामा नवलपुरका हिमाल सुनारीमगर सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गर्दै विजयी बन्यो । महिलातर्फपनि विजेता र उपविजेता टोलीले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्याे । महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनिन् ।

