पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

गुल्मी:     गुल्मीमा गएराती मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।  गएराती जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्कीने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् । ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९ वर्षका शंकर बि।क घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनालाई थप उपचारको लागी पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । घाइते मध्ये केहिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप ब्रेक फेल भई सडकदेखी अन्दाजी ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । जीपमा १३ जना सवार रहेका थिए । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खत्रीको कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:     मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी(का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरा:     पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जित्नुभएको छ । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बन्नुभयो । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय हुनुभयो । महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाउनुभयो । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गर्नुभयो । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जित्नुभयो । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बन्नुभयो ।  नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बन्नुभयो । प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बन्नुभयो । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बन्नुभयो । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय हुनुभयो ।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय हुनुभयो । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पोखरा:   बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । बागलुङबाट तनहुँ जाँदै गरेको गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७ः३० बजे अनियन्त्रित भई पोखरा महानगर–२५ हेमजामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटना हुँदा बसमा सवार ३६ जना यात्रु मध्य १६जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले जानकारी दिए ।  घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको  जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।    सच्चाइएको: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

इलाम:    इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।  मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए ।  अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो । मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।  मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल)मा हुनेछ । वि.सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।  एमाले र काँग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

काठमाडौं:     नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो । कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए । नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिए । कुशल मल्ल सिंगल लिने धुनमा रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२-३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्र र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए । विवेक यादव ठूलो सट खेल्ने धुनमा १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडे । नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो । पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए । अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए । केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए । चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १/१ विकेट लिए । ५ खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार हुनेछ ।

पोखरा:      पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।  मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।   अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।  नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए ।  मधेश प्रदेशका ८ जिल्लामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक ठाउँलाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए ।  उनले पोखरा आएको पर्यटक कसरी मधेश ल्याउने तथा मधेश घुम्न आउने पर्यटक पोखरा कसरी पठाउने भन्नेबारे प्याकेज घोषणा गर्नुपर्छ भने ।  गण्डकी–मधेशबीच हवाई सेवा संचालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भए पनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको भनाइ थियो ।  पर्यटक भित्राउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताए । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल संचालनको प्रोजेक्ट घोषणा हुने उनको सुनाए ।    मधेशका गृह, संचार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैं मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने उनको भनाइ थियो ।  उनले बर्दिबासको राईमण्डलसहित विभिन्न क्षेत्रको पर्यटनको प्रचूर सम्भावना रहेको बताइन् । श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड हो भनिन् । श्रमिकहरुलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन भएको र आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन् ।  टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तैखालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताइन् ।  विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरतामा जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने बताइन् ।  बर्दिबासमा पनि अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठीको पहल गर्नुपर्ने उनको सुझाव दिँदै पर्यटन क्षेत्रमा प्रकृति, संस्कृति, पहुँच, सुविधा, विविध गतिविधि, विज्ञापन लगायतमा ध्यान दिनुपर्ने सुझाव दिइन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेशमा पनि पर्यटन बोर्ड स्थापनाको जोड दिए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए ।  बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरे । होटल संघ मधेश प्रदेश निकै सक्रिय रहेको उनको दाबी थियो ।  नाट्टा मधेश प्रदेश अध्यक्ष एवं नेपाल होटल तथा पर्यटन व्यवसायी मधेशका निवर्तमान महासचिव मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच विगतमा झैं सहकार्यको आवश्यक रहेको बताए । उनले गढिमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताए । कार्यक्रममा बर्दिबास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णुबहादुर खड्का, समाजसेवी केदार कोइराला, पर्यटन व्यवसायी तवरेज आलम, पत्रकार विशाल बस्नेत, सागरराज तिमिल्सिना, विजय नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।  होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी सदस्य विनोद भण्डारी र संचालन महासचिव नारायण घिमिरेले गरेका थिए ।   

काठमाडौं:  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका छन् ।   उनले क्यानडा पठाइदिने भन्दै दुवई लगेर मानब बेचबिखन गर्ने गरेको प्रहरीले बताएको छ ।   टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पु¥याई बन्धक बनाई राख्ने गरेका थिए ।   घटनामा संलग्न रही फरार रहेका हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    पक्राउ परेका उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूकोसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।   सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो ।   उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो ।   भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।