पोखरा: ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए । ‘वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम उपलब्ध गराई रोजगारी दिलाउने उद्देश्य हो । सीप सिकेर दक्ष बनी आर्थिक उपार्जनमा सक्षम बनाउने बाटोमा वडा अग्रसर छ’, उनले भने । बरालका अनुसार अहिले सबै गरेर ४५ जना युवायुवतीले निशुल्क तालिम लिइरहेका छन् । निशुल्क तालिम लिन पाउँदा युवायुवतीमा जाँगर भरिएको उनले बताए । वडाले उपलब्ध गराएको निशुल्क तालिमले आत्मनिर्भर बन्न सिकाउने उनले उल्लेख गरे । सीप सिकेर खाली बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए । भौतिक विकास सँगै, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पोखरा १३ क्रियाशिल छ । स्थानीय नागरिकको अपेक्षा अनुसारको कार्यलाई क्रमागत रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता समेत वडाध्यक्ष किरण बरालले गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुग्नुभएका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले जानकारी दिए । आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।
बनेपा: काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामा रहेका छन् । उनलाई दुर्लभ वन्यजन्तु झारलको १० किलो मासु र हड्डीसहित पावर हाउसबाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वन कार्यालयमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखराः योजनाबमोजिम काम भएको भए यतिबेला पोखरामा गुजमुज परेको तार भूमिगत भइसकेको हुने थियो । पर्यटकीय राजधानी घोषणा भइसकेपछि त्यहाँ पुगेका पाहुनाहरुले गुजुल्टो परेको तारमा आँखा अल्झाउनु पर्ने थिएन । तर, पोखरामा विजुलीको तारलाई भूमिगत गर्ने योजना म्याद गुज्रिसक्दा बल्ल ४० प्रतिशत भौतिक प्रगति भएको छ । समयमै काम नसकिएपछि ठेकेदार कम्पनीलाई ८ महिनाको म्याद थपिएको छ । पोखरामा विजुलीका तार भूमिगत गर्न भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले २०७८ माघमा ठेक्का पाएको थियो । २ वर्षभित्र सक्ने ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण योजना समयावधि लम्बिन पुगेको हो । ‘निर्माण कम्पनीले पोखराको भौगर्भिक बनावटलगायत कारण देखाउँदै काम ढिलो भएको बताइरहेको छ, अपेक्षित रुपमा आयोजनाले गति लिन सकेको छैन’, आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भने, ‘आयोजनाका पेटी ठेकेदारले काम छाड्दै हिँड्न थालेपछि थप समस्या निम्तिएको छ ।’ अहिलेको जस्तै सुस्त गतिमा काम भइरहे थपिएको समयावधिमा पनि आयोजना पूरा हुन मुस्किल हुने देखिन्छ । आयोजना प्रमुख सुवेदीका अनुसार आयोजना प्रगति न्यून देखिनुमा निर्माण कम्पनीको ढिलासुस्ती पनि एउटा कारण रहेको बताउँछन् । ‘सुरुमा इन्जिनियरिङ डिजाइन, उपकरण र निर्माण सामग्री खरिदमा केही समय लागेपनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकिरहेको छैन’, आयोजना प्रमुख सुवेदीले भने । पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको उनको भनाइ छ । अहिले आयोजनासँग सुरुङ खन्ने तीन उपकरण छन् । निर्माण कम्पनीले ५० जनाभन्दा बढी जनशक्तिलाई आयोजनामा खटाएको छ । आयोजना प्रमुख सुवेदीले प्राथमिकता तोकेर पोखराका विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम भइरहेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारअघिको सडकदेखि सेती पुलसम्म सुरुङ खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ’, उनले भने, ‘लेकसाइडको गल्ली नं. १५, १६ र १७ मा पाइप बिछ्याउने काम भइसकेको छ ।’ सुरुङ निर्माण सकिएपछि पोखरा महानगरपालिका–१० कुँडहरमा रहेको प्राधिकरणको सब–स्टेसन क्षेत्रबाट तार बिछ्याउन सुरु गरिने आयोजनाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना प्रमुख सुवेदीले बताए । उनका अनुसार विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । ‘विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, उनले भने, ‘पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।’ पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताए । पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भएपनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरुको भनाइ छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौं उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबिच रही आएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।” नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताउनुभयो । नयाँ परिस्थितिमा नेपाल–रुसबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभ लगायतको उपस्थिति रहेको थियो ।
पोखरा: कास्की प्रहरीले पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भई हाल पोखरा २ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् । उनीहरुलाई पोखरा ५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले गत चैत्र २४ गते पोखरा महानगरपालिका –८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालयको सिसा फोडेर नगद रु ५ लाख ८२ हजार ५ सय ८०, मोबाइल १ थान र ५ थान झोला लगायतका समाग्री चोरी फरार थिए । हाल पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की: पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ । कास्कीको (साबिक कन्धनीडाँडा गाविस –४ को परिवर्तित लेखनात नगरपालिका –४) पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक विद्यालय (अमरज्योति आधारभूत विद्यालय) को स्वामित्वमा रहेको (कित्ता नम्बर ७२५ को क्षेत्रफल ३–३–०–० र ७५९ को क्षेत्रफल २–८–०–०) जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उजुरीमा उल्लेख भएअनुसार वि.स २०४४ सालमा स्थापित अमरज्योति आधारभूत विद्यालयले स्थापना कालदेखि नै सरकारको स्वामित्वमा छ । तर पछिल्लो समय सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै गत चैत्र २७ गते अख्तियारमा उजुरी (सि–०६५५६३) दर्ता भएको छ । उजुरीमा भनिएको छ, ‘विद्यालयको जग्गा हो भन्ने जान्दा जान्दै पनि हाल आएर करोडौं रुपैयाँको चलखेल गरी करोडौं पर्ने जग्गा हुँदा बाडचुड गरी खाने दुषित नियत गरी मेल खामोस मिलाई करोडौं रुपैयाँ लिनुदिनु गरी विपक्षहरुसमेत मिली भ्रष्टाचार गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीमा हाल आएर कोही कसैले विद्यालयको जग्गामा दावी गर्न नमिल्नेमा विद्यालयको जग्गालाई २०३२ सालदेखि नै भोगचलन गर्दै आएको भनी झुट्टा कुरा लेखी जग्गा दर्ता गर्न विपक्षी मध्येका भिम बहादुर बिकको नामबाट निवेदन गर्न लगाई आफु कार्यवहाक भएको मौका छोपी वडा कार्यालयलाई पत्राचार गर्न लगाई कार्यवहाक अध्यक्ष भएको मौका मिलाई सिफारिससमेत गरी रातारात उक्त आयोगका अध्यक्ष, सदस्यसमेत मिली अख्तियारको दुरुपयोग गरी बदनियतपूर्ण तवले भ्रष्टाचार गरी गैरकानूनी निवेदन एवं वडा कार्यालयको सिफारिस बनाई आयोगबाट जग्गा दर्ता गर्ने निर्णय गरेको सबैकुरा हामीलाई जानकारी हुन आएकाले अख्तियारको दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ एवं ऐ.को नियामावली २०५९ को नियम ६ बमोजिम निवेदन गर्न आएका छौं ।’ एमाले वडा कमिटी २६ को आपत्ती नेकपा एमाले वडा कमिटी २६ ले सामुदायिक विद्यालय व्यक्तिको नाममा दर्ता गरेको भन्दै विज्ञप्तीमार्फत आपत्ती जनाएको छ । कार्यवहाक अध्यक्ष मिना श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘शसस्त्र युद्ध, संविधान निर्माणपश्चात पुन: जनाताका लागि आवश्यक बासका निम्ति निरन्तर जनताका पक्षमा लड्दै आइरहेको सन्दर्भमा पोखरा महानगरपालिका वडा २६ को घैटेखोरस्थित अमरज्योति गाउँफर्क माविको संरक्षणमा रहेको (कित्ता नम्बर ७२५, क्षेत्रफल ३–३–०–०) जग्गा राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिका वडा २६ को मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको भन्ने कुरा सम्बन्धित क्षेत्रका जनताबाट जानकारी आएपश्चात उक्त जग्गा विद्यालयको संरक्षणमा रहदैंआएको र विद्यालयकै नाममा सेतो पुर्जासमेत रहेको हुँदा व्यक्तिलाई आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त जग्गा साविक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालाहरुलाई आह्वान गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीका लागि हार्दिक अपिल गर्दछौं ।’
पर्साः वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । 'सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ, उनले भने, 'ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।' जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको जानकारी दिए । आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी रु आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा रु ११ लाख ६० हजार बराबरको क्षति भएको छ । पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको रु छ लाख २३ हजार बराबरको क्षति भएको छ ।

