प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

काठमाडौं:    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो । सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ ।त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ । त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ । देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।  

पर्वत:    कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो ।  “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।  मन्त्री गिरीले कतिपय नीति तथा कानुन अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन तथा कानुन निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानुन निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उहाँले भन्नुभयो, “लगानी र व्यवसायीमैत्री कानुन बनाउन हामी लाग्छौँ ।” वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसङ्गतिको पनि अन्त्य गरिने दाबी गर्नुभयो ।  उहाँले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर  गर्नुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामती ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गर्नुभयो ।

काठमाडौं:    इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

गण्डकी:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था देखिएको छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ गठबन्धन दलसँग नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ७ (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० सदस्य छन् । प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको आवश्यकता पर्दछ । गठबन्धनलाई बहुमतका लागि एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको हो । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूले राप्रपासँगको संवादलाई अगाडि बढाएका छन् । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाले गठबन्धनलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपाले गण्डकी प्रदेश सरकार गठनमा सहयोग गर्नेमा हामी ढुक्क छौँ, जिम्मेवार दलका रूपमा राजनीतिक स्थिरताका लागि भूमिका खेल्नु उसको पनि दायित्व हो’, उनले भने, ‘विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएको हो, अहिले पनि मिलेरै अगाडि बढ्ने वातावरण तयार हुँदैछ ।’ राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयले पनि गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न सहज हुने देखिएको प्रमुख सचेतक नेपालीले बताए । हिजोको बैठकबाट सङ्घ सरकारलाई समर्थन नगर्ने निर्णयमा पुगेको राप्रपाले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा भने पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर उपयुक्त निर्णय लिनसक्ने निष्कर्ष निकालेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कुसुम बूढा पुनले पनि गण्डकीको सत्ता राजनीतिमा देखिएको अन्योलता हटाउन राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । संसदीय दलको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । २७ सिटको कांग्रेससँग राप्रपा मिल्दा पनि बहुमत नपुग्ने हुँदा राप्रपाले एमाले–माओवादी केन्द्रसहितको गठबन्धनलाई नै सघाउने नेता चुमानको विश्वास छ ।

काठमाडौं:    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । लोसपासँग राष्ट्रिय सभामा एक जना  र प्रतिनिधि सभामा चार जना सांसद छन् । 

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित  संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।

काठमाडौं:    हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १/१ विकेट लिएका थिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए । त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे । कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए । नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे । कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टी-२०आई अर्धशतक पूरा गरे । सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए । अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए । पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए । यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।

पोखरा:     तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा कास्कीका रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न भएको तमु धिं नेपाल केन्द्रिय युवा समिति अधिवेशनले रमेश गुरुङको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा निर्वाचित गुरुङ कास्कीको अन्नपूर्ण गाउँपालिका–९ का वडाध्यक्ष समेत हुन् ।  समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन भएका छन् ।  युवा साँस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दिपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ चयन भएका छन् ।  यस्तै केन्द्रिय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दिपक गुरुङ चयन भएका छन् ।  युवा समिति गठन एवम जिम्मेवारी बाँडफाँडका लागि तमु धिं नेपालका केन्द्रिय सदस्यहरु कृष्णकुमार गुरुङ र सुरेन्द्र गुरुङले समन्वयका लागि भुमिका निर्वाह गरेका थिए ।      नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।  नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले तमु युवा, समुदाय, संस्थाका लागि युवा समितिको तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ, समन्वयकर्ता कृष्णकुमार गुरुङले बधाई र शुभकामना व्यक्त गरे ।  तमु धिं नेपालका प्रथम उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, अतिथि दिलबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ लगायत केन्द्रिय पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समाजका अध्यक्षहरुले बधाई ज्ञापन गरे ।  उक्त अवसरमा युवा समितिको माइन्युट तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले नवनिर्वाचित सचिव रामप्रसादलाई हस्तान्तरण गरिन् ।  नवनिर्वाचित युवा समितिको कोषका लागि तमु धिं नेपालले ५१ हजार रुपैयाँ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले ५१ हजार, दिलबहादुर गुरुङले ५१ हजार गरी १ लाख ५३ हजार रुपैया सहयोग गरिएको थियो ।