तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो । आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगसँगको सहकार्यमा यसअघि सबै वडामा निस्सा वितरण भइसकेको छ । पहिलो चरणमा वडा नम्बर १ बाट काम अगाडि बढाइएको छ ।” जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ । वडा नम्बर १ मा काम सकिएपछि क्रमशः अन्य वडामा नापजाँचको थालिनेछ । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र र अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थित गरिने जानकारी राससलाई दिनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीलाई व्यवस्थित गर्न आयोग क्रियाशील छ ।” राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका–५, व्यास नगरपालिकाका केही वडाका सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच थालिएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१४ नयाँपुलबाट धादिङ घर भई पोखरा–९ बस्ने १९ वर्षीय आशिष थापामगर र २० वर्षीय पूर्ण तामाङलाई १ किलो ५ सय ग्राम लागूऔषधसहित हिजो (मंगलबार) प्रकाउ गरेको हो । यस्तै वडा प्रहरी कार्यालय बगर र रामबजारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पोखरा महानगर–४ कोइरालामार्गबाट दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा पोखरा महानगर–४ कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भएका २६वर्षीय बिनोद पुनलाई १ किलो ४ सय ८० ग्राम लागूऔषधसहित प्रहरीले प्रकाउ गरेको हो । लागूऔषधसहित प्रकाउ परेका चारजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १५÷१५ दिनको म्याद गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुष २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा सुक बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन उपसमितिमा लोक बहादुर थापा, सांस्कृतिक ब्यवस्थापन उपसमितिमा गणेश तिमिल्सिना, अनुगमन ब्यवस्थापन उपसमितिमा शान्त बहादुर थापा चयन भएका छन । त्यसैगरी प्रचार प्रसार उपसमितिमा दिनेश सुनार, अर्थ ब्यवस्थापन उपसमितिमा सूर्य बहादुर बानियाँ, प्रायोजक व्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमितिमा सीमा गुरुङ, मायाको चिनो ब्यवस्थापन उपसमितिमा सन्तोष कार्की, झांकी ¥याली व्यवस्थापन उपसमितिमा विष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमितिमा जयराम आचार्य, स्वयंसेवक ब्यवस्थापन उपसमितिमा पूर्ण कुमार श्रेष्ठ, प्रकाशन तथा मुद्रण ब्यवस्थापन उपसमितिमा दिवानी सुवेदी, ब्यानर ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, सुरक्षा ब्यवस्थापन उपसमितिमा शिव थापा, फोहोर तथा खानेपानी ब्यवस्थापन उपसमितिमा पदम कार्की, खाना खाजा ब्यवस्थापन उपसमितिमा शान्ति सुवेदी, मुल्यांकन उपसमितिमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमितिमा लिलाधर अधिकारी, यातायाता ब्यवस्थापन उपसमितिमा रमेश बहादुर कार्कीलाई चयन गरेको छ । त्यसैगरी पर्यटन प्रवद्र्धन उपसमितिमा श्यामकृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, विद्युत ब्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, स्वास्थ्य व्यवस्थापनमा नरहरी पनेरु, पार्किङ ब्यवस्थापन उपसमितिमा राम थापा, पृष्ठपोषण व्यवस्थापन उपसमितिमा रिम बहादुर क्षेत्री, मुलद्धार व्यवस्थापन उपसमितिमा चन्द्र थापा, विद्युतिय सुरक्षा उपसमितिमा राजेन्द्र तिवारी, बीमा व्यवस्थापन उपसमितमा गणेश बहादुर खड्का, मिडिया कोअडिनेटर गिता राना र कार्यालय सचिवमा रेजिना खत्रीलाई संयोजकमा चयन गरेको छ । त्यसैगरी १२ औं पोखरा महोत्सवको सल्लाहकारहरुमा राजेन्द्र थापा, सेती थापा, सम्मर बहादुर श्रेष्ठ, क्याप्टेन फत्ते बहादुर गुरुङ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जिसी, पो. म.न.पा. वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँ, पो.म.न.पा. वडा नम्बर १४ का अध्यक्ष वोधराज कार्की, पो.म.न.पा. वडा नम्बर ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ, कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, भरत केसी, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर वराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी र निलकण्ठ पोख्रेल चयन भएका छन ।
पोखरा: नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षात्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षात्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं र पोखरासहित यो फिल्मलाई भारत, श्रृलंका, दुवै र फ्रान्समा समेत खिचिएको छ । यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ । नेपालकी चर्चित नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारको समेत अभिनय रहेको फिल्मबाट विष्णु आशावादी छन् । फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको उनले सुनाए । साउथ फिल्म मन पराउने दर्शकले हिटम्यान रुचाउने उनले बताए । साउथ फिल्ममा जस्तो प्रविधि प्रयोग गरेर हिटम्यान निर्माण गरिएको जानकारी उनले गराए । अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीले इण्डो नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । पत्रकार सम्मेलनमा नेपालका लागि वितरक केदार पराजुली लगायतको उपस्थिति थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।
उदयपुर: त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा श्रीमतिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी श्रीमति ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ । युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको यो समूह ले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो । काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बिएससी अनर्स कम्प्युटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना शुरु गरेको कलेजले जनाएको छ । बिएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्र्तराष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी गरेको छ । क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठकसँगको कुराकानीमा आधारित संपादित अंश -फरक के छ ? कलेज प्रशासनका अनुसार द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ । बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ । कलेजले विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिने भएकाले आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्याङ्कन हुनेछ । नियमित रुपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने हुन्छ । बढी भन्दा बढी प्रयोगात्मक हुने र त्यस्ता अभ्यासले विद्यार्थी स्वयंलाई प्रगति अथवा कमजोरीबारे थाह पाउँछन् । तीन घन्टा परीक्षाको कारण विद्यार्थीमा हुन सक्ने मानसिक तनावबाट मुक्त हुन्छन् । कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य हुनेछ । विद्यार्थी संसारको जहाँ गएपनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ । अर्को ‘भ्यालु फर मनी’ विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन । ‘युज भ्यालु’ यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ । पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्नेछन् । श्रम बजारलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्ने तयारी छ । कलेजबाट निस्कने विद्यार्थी यत्ति माझिएका हुन्छन् कि तत्काल अनुभवी जनशक्तिसँग प्रतिस्पर्धी भएर काम गर्न सक्छन् । पार्टनरसीप भएका उद्योगहरुसँग पढ्दा पढ्दै विद्यार्थीहरु जागिर पाउन सक्छन् । -के छ सुविधा ? विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली विद्यार्थीलाई नेपालमा नै बसेर सूलभ शुल्कमा अन्र्तराष्ट्रिय स्तरको सुविधा सहितको शिक्षा प्रदान गर्नेछ । आधुनिक लाइब्रेरी, ई लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाको सुविधा छ । विद्यार्थीलाई एकोहोरो पाठ्यक्रम सम्बन्धित पठनपाठनबाट दिक्क नहोस भन्नका लागि अतिरिक्त क्रियाकलापको लागि ‘रिफ्रेसमेन्ट सेन्टर’ हरु छन् । जसमा संगीतका लागि गिटारको उपलब्धता, जीम सेन्टर, पुल हाउस, क्याफे लगायतको सुविधा प्राप्त गर्नेछन् । विद्यार्थीलाई पर्ने विभिन्न खालको समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ छ । यो डिपार्टमेन्टले विद्यार्थीको के विषयसँग सम्बन्धित समस्या हो त्यहि विषयसँग सम्बन्धित रहेर तत्काल समस्या समाधान गर्ने प्रयास गर्छ । विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकता अनुसार परामर्शकर्ताहरुको उपलब्धता हुन्छ । विदेशी विश्वविद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्न विद्यार्थीका लागि जे जस्ता सेवा, सुविधाहरु दिइरहेका छन् लन्डन कलेजले पनि त्यहि सेवा, सुविधा दिने प्रयत्नमा छ । -विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था छ ? कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ ।
धनकुटा: “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ । यही प्रसिद्धिका कारण साबिक राजारानी गाउँपालिकाको नाम स्थानीय भाषामा मावरकरपावरक भनिने राजारानी तालबाट रहन गएको हो । हाल चौबिसे गाउँपालिका–६ मा रहेको यस स्थानका कारण अझै पनि मानिसहरू चौबिसे जानेभन्दा पनि राजारानी जाने भन्ने गरेका लिम्बूको भनाइ थियो । वडास्थित राजारानी बजारको पूर्व–पश्चिम र दक्षिण, तीनतिर अङ्ग्रेजी अक्षर ‘भी’ आकारमा फैलिएर रहेको क्षेत्रको रानी तालमात्र हालसम्म आंशिक संरक्षण गरिएको छ । निजी स्वामित्वलाई सहकारीमा परिणत गरेर हाल पूर्वी किनारमा संरक्षित रानी तालमा विभिन्न संरचना निर्माणसँगै फिसिङ, बोटिङ र मोटरबोट सञ्चालनमा रहेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार निजी स्वामित्वमै रहे पनि रानी तालको पश्चिममा अवस्थित राजा ताल क्षेत्र भने समन्वय र संरक्षणको पर्खाइमा छ । पछिल्लो समय स्थानीय तह विभाजनसँगै थप बजार विस्तार भएकाले ताल संरक्षणमा कठिन भएको लिम्बूको भनाइ थियो । बजारको जनघनत्व विस्तारसँगै राजा तालको बिच भागबाट भेडेटार–रवि–राँके राजमार्गको विस्तारले अब राजा र रानी ताल जोड्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । यसले गर्दा अब राजारानीको भेट नहुने उहाँले बताउनुभयो । “करिब पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको राजारानी तालमध्ये एक सय २० रोपनीमा रानी ताल मात्र संरक्षित छ । दुवै तालको दक्षिणतर्फ रहेको गल्छीमा बाँध बाँध्न सके यहाँ विशाल ताल बन्छ”, लिम्बूले भन्नुभयो, “यहाँका केही व्यक्तिहरूसँग ताल निर्माणमा सहमति हुन नसकेपछि यसको सम्भावना ज्यादै न्यून रहेको छ ।” केही व्यक्तिहरूले जमिन उपलब्ध गराउने सहमति गरेकाले राजातालको आंशिक संरक्षणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको उहाँले जानकारी दिनुभयो । लिम्बूका अनुसार यो ताल रानी तालभन्दा ठुलो हुनेछ । पूर्णरुपमा ताल निर्माण गरी संरक्षण गर्न सके पूर्वी नेपालकै एक अद्भुत जल पर्यटनको गन्तव्य हुने उहाँको भनाइ थियो । पूर्णरुपमा निर्माण गर्न सके एक किलोमिटरभन्दा लामो अङ्ग्रेजी अक्षर ‘भी’ आकारको ताल बन्ने स्थानीय जीवन कटुवालले बताउनुभयो । ताललाई पूर्ण रूपमा संरक्षण गर्न निकै ढिलो भइसकेको उहाँको भनाइ थियो । देशको पुनः संरचनासँगै सडक सञ्जाल लगायत अन्य सेवासुविधाका कारण ताल संरक्षणमा कसैको चासो नदेखिएको उहाँले बताउनुभयो । “जमिनको मूल्य वृद्धि हुनुका साथै ताल व्यक्तिगत जमिनमा भएकाले पनि केही समस्या भइरहेको हो । पहिलाको प्रयोगविहीन र मूल्यहीन जस्तै रहेकामा अहिले मूल्य बढेको छ”, कटुवालले भन्नुभयो, “मूल्य कम हुँदाको समयमा संरक्षण नथालिएकाले अब पूर्ण आकारको ताल निर्माणको सम्भावना टरेको छ ।” डेढ दशकअघि रानीताल संरक्षणपछि राजा ताललाई पनि संरक्षण गरेर विशाल राजारानी ताल बनाउन पटक–पटक पहल गरे पनि असफल भएको मावरक रानीताल संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले बताउनुभयो । उहाँले केही व्यक्तिहरूसँग ताल निर्माणपछि बाँडफाँड तथा लाभका विषयमा सहमति हुन नसक्दा निर्माणमा समस्या आएको उहाँको भनाइ थियो । राजा तालमा आफ्नो सात रोपनीभन्दा बढी जमिन रहेको जनाउँदै स्थानीय मणि चेम्जोङले ताल निर्माणमा पर्याप्त बजेटसहितको योजना नआएकाले निर्माणमा सहमति हुन नसकेको जानकारी दिनुभयो । “पालिकाले १० लाख र २० लाखको क्रमागत योजना लिएर आउँछ”, उहाँले भन्नुभयो, “यस्तो योजनाले यहाँका घररजमिनको संरक्षण र सुरक्षा हुन्न ।” कम बजेटका कारण क्षति र जोखिम बढी देखिएकाले स्थानीयहरूले पूर्णआकारको ताल निर्माणमा सहमति जनाउन नसकेका उहाँको भनाइ थियो । ताल निर्माणका क्रममा विस्थापितहरूको स्थानान्तरणमा आपसी समझदारी, लाभको विषयमा सहमति, सुरक्षा र संरक्षणको उचित व्यवस्था नदेखिएपछि निर्माणको विषय अघि बढ्न नसकेको लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार चुरे पहाडको चिसो क्षेत्रमा अवस्थित ‘ताल नै ताल’को पालिका भनेर चिनिने यस पालिकामा आधा दर्जन सानाठुला तालहरू संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका छन् ।
जाजरकोट: कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसारप्रति मृतक रु दुई लाखका दरले रकम वितरण गरिएको हो । क्रमशः सबै पालिकामा गएर अबको तीनरचार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताउनुभयो । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बिमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बिमा रकम वितरण गरिएको हो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । “हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रु। आठ लाख रकम दिने गरेका छौँ”, जिसीले भन्नुभयो”, “चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।” वितरण कार्यमा मन्त्री जिसीसहित बिमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी हुनुहुन्छ । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको रु। एक अर्बबाट मर्मतसम्भार गरिने जनाइएको छ ।

