प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो। सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।
म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो। संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सङ्घको समपूरक कोषमार्फत ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ। उनले भने, ‘गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत घर बनाउन लागिएको हो।’ गाउँपालिका–१ देखि ७ मा रहेका लक्षित वर्ग, म्याग्दे गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि २०८० को दफा ९३० अनुरुप मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको छ। त्यसका लागि जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्नेछ। कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायीरुपमा बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्ड छ । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।
मोरङ: जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ। \ लेटाङ-३ का ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा आज बिहान हात्तीले आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए। हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो। एक साता अघि मात्रै सुनसरीको इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।
धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ। सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए। इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
पोखरा: पोखरा महानगरपालिका–२७ तालचोक, डाँडाकोनाकमा आगामी पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको प्रचार–प्रचार उपसमितिको संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि, भन्ने नारासहित १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेका छौं’, संयोजक सुवेदीले भने, ‘महोत्सव आगामी पुस ५ देखि १६ गतेसम्म पोखरा–२७ तालचोक डाँडाकोनाकमा आयोजना गर्दै छौं ।’ उनले १९ औं संस्करणको लेखनाथ महोत्सवमा करिव ९० लाखको आर्थिक कारोवार हुने लक्ष्य राखेको बताए । ‘महोत्सवमा हामीले करिव ३ सय ३४ वटा स्टल निर्माण गछौं, जसमा ७० प्रतिशत स्टल बुकिङ भइसकेका छन्’, उनले भने, ‘महोत्सवमा करिव ९० लाख बराबरको आर्थिक कारोवार हुने लक्ष्य राखेका छौं भने, २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरेका छौं ।’ लेखनाथ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका सुवेदीले महोत्सवमा ९० लाखको कारोवार हुँदा ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान गरेको बताए । कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्तलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन,देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको संघले जनाएको छ । बचत भएको १० लाखबाट संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनास तालमा बराह मन्दिर संरक्षण, ,स्थानीय महलिा तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट कोशेली घर निर्माण लगायतको क्षेत्रमा खर्च गर्ने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा र लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरुका लागि संघको सदस्यता परिचय पत्रका आधारमा निशुल्क प्रवेश रहेको जनाएको छ । महोत्सवमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम,महिला विशेष रीतिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेको रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, आदिवासी जनजातिहरुको आफ्नो झाँकी¥याली, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, कन्सट, राष्ट्रिय लोक दोहोरी कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ ।
पोखरा: यही मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विक प्रकरणको अनुसन्धान कास्की प्रहरीले जारी राखेको छ । यद्यपी कुनै पनि रहस्य नखुलेको बताएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका ५ जनालाई तारिखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई तारिखमा छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार नियन्त्रणमा रहेका सबैजनालाई आवश्यक परेको खण्डमा उपस्थित हुनेछन् । उनले सुकुको परिवारले कुनै पनि किटानी जोहेरी नदिएको बताउदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए । होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् । विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी सुकु मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । केटाको नाममा कोठा बुक भएको भनिएतापनि कुनै पुरुषको संलग्नता रहे नरहेको पुष्टि भएको छैन । कास्की प्रहरीका अनुसार सो होटलमा सिसिटिभी जडान नभएकै कारण अनुसन्धानमा थप कसरत गर्नुपरेको बताएको छ । तनहुँको भिमाद नगरपालिका घर भएकी सुकु विकले केही वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुँदैछ’, उनले भने । एकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । नयाँ पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशन एमालेकै निरन्तरताका रुपमा गर्ने एकीकृत समाजवादीले जनाएको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन ११ माघमा गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका जारी गरेको छ ।
नेकपा एमालेको पोलिटब्युरो सदस्य निरूदेवी पाल अघिल्लो प्रतिनिधि सभामा महिला तथा सामाजिक मामिला समितिकी सभापति थिइन्। पाँच वर्षसम्म समितिको सभापति हुँदा उनले बालबालिकाको हकहितका विषयमा धेरै पटक छलफल गरेकी छन्, बहस गरेकी छन् र निर्देशन दिएकी छन्। त्यसैले पनि उनलाई बालबालिकालाई कस्तो ठाउँमा प्रयोग गर्न हुने र कस्तो ठाउँमा गर्न नहुने भन्ने विषयमा राम्रोसँग जानकारी हुनुपर्ने हो। एउटा पार्टीको पोलिटब्युरो सदस्यलाई राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेका विषयहरू थाहा नहुने कुरा भएन। तर आइतबार विद्यालय चलिरहेकै बेलामा अछामको पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीले स्कुल पोशाकमै आएर आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गर्दा उनले त्यो गलत हो,रोकौं चाहिँ भन्न सकिनन्। बरू बिद्यार्थीहरूले ‘केपी बा हाई(हाई’ भन्दै गरेको नाराबाजीको भिडिओ फेसबुकमा पोष्ट गरिन्। यद्यपि, अहिले उनले त्यो भिडिओ हटाएकी छिन्। उनले आफूले पहिले भिडिओ पोष्ट गरे पनि पछि गलत जस्तो लागेर हटाएको बताइन्। सेतोपाटीसँग कुरा गर्दै उनले ओली विद्यालयकै छेउमा बसेको र स्कुलका विद्यार्थीहरूले केपी बालाई देखाइदिनु भनेर जबरजस्ती गरेपछि प्रधानाध्यापकले ओलीलाई देखाउन ल्याएको बताइन्। उनले राजनीतिक दलका कार्यक्रममा बालबालिका प्रयोग गर्न पाइन्न भन्नेमा आफू सचेत रहेको समेत बताइन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छे-३ दफा २१ दलले गर्न नहुने कामको (त) मा राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख छ। तर एमालेको अनुशासन आयोगका अध्यक्ष केशब बडालले भने उक्त कार्यक्रम निर्वाचन प्रचारको कार्यक्रम नभएकाले विद्यार्थी आउनुलाई अनुपयुक्त मान्न नमिल्ने बताए। ‘गाउँमा कसैको बिहे भयो भने केटाकेटी जान्छन् नि, जाँदैनन् ररु,’ बडालले सेतोपाटीसँग प्रतिप्रश्न गरे,‘यति उमेरका उभिन मिल्ने यति उमेरका उभिन नमिल्ने भन्न मिल्दैन। नारा लगाउने केटाकेटीको मुख थुन्न सकिएन।’ नेकपा (एमाले) को मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थी सहभागी गराइएको र अमूल दलको पृष्ठपोषण हुने गरी नाराबाजी गर्न लगाएकोबारे हामीले विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीलाई पनि सोध्यौं।उनले एमालेको जुलुसमा विद्यार्थी सहभागी नभएको तर सडकको डिलमा उभिएर हेरेको बताए। ‘मध्यपहाडी लोकमार्गको छेवैमा छ हाम्रो स्कुल। देशको पूर्वप्रधानमन्त्रीजस्तो व्यक्ति स्कुलको बाटो भएर आउने भएपछि विद्यालयका शिक्षक, कर्मचारी मिलेर स्वागत गर्ने, उहाँलाई माला लगाउने, हार्दिकता बाँड्ने कार्यक्रम थियो। विशुद्ध स्वागत गर्ने नियतले कार्यक्रम राखिएको थियो। उहाँहरू आइपुग्नुभयो। हामीले फूल माला लगायौं। फोटा खिचायौं,’ उनले सेतोपाटीसँग भने ‘कक्षाका शिक्षक, कर्मचारी सबै सडकमा आएपछि विद्यार्थी निस्किएर सडकमा आइहालेछन्, स्वःस्फूर्त। कसैले जुलुसमा आउन त भनेको होइन। जुलुस निकाल्ने कार्यक्रम नै थिएन त्यहाँ।’ त्यहीक्रममा विद्यार्थीले ‘केपी बा१ हाईहाई’ भनेको उनले बताए।‘म फर्किएर स्कुल गएँ। बेलुका सामाजिक सञ्जालमा हेर्छु छ्याप्छ्याप्ती भिडिओ क्लिप रहेछ। नारा लगाउने अधिकांश साना कक्षाका विद्यार्थी हुन्। धेरैजसो ६ कक्षाका छन्,’ उनले भने। प्रअ नेपालीले विद्यार्थीले नारा लगाएकोबारे आफूले पनि बुझिरहेको बताए। यस विषयमा हामीले केन्द्रीय बालकल्याण परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेललाई पनि सोधेका छौं। उनी बालअधिकारकर्मी पनि हुन्। उनले दलीय कार्यक्रममा बालबालिका सहभागी गराउन नपाइने कानुनी व्यवस्था रहेको बताए।‘बालबालिकाहरूलाई राजनीतिक कार्यक्रममा सहभागी गराउनु गलत हो। एमाले नेतृत्वले त्यस्तो कार्यक्रममा बालबालिकालाई सहभागी गराउने कार्यकर्ता पंक्तिलाई सचेत गराउनुपर्छ,’ उनले भने। मध्यपहाडी लोकमार्ग आसपास विकासको सम्भाव्यताको पहिचान गर्न मंसिर १४ गतेदेखि एमालेले संकल्प यात्रा गरिरहेको छ। बैतडीको झुलाघाटबाट सुरू भएको झन्डै दुई हजार किलोमिटर लामो यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने छ। अभियानको पाँचौं दिन सोमबार दैलेख हुँदै सुर्खेत आइपुग्ने गरी यात्रा तय गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।‘अभियानमा स्वःस्फूर्तरूपमा जनसहभागिता देखिन्छ। अभियान मध्यपहाडी क्षेत्रको समस्या र विकासको सम्भावनाको पहिचान गर्न कोशेढुंगा सावित हुने विश्वास लिएका छौं,’ उनले भने।
महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ। सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्। ६ महिनाअघि मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारले छातीमा आफ्नो अनुहार भएको ट्याटु खोपाएको र त्यो घटनाले आफूलाई पिरोलेको उनले बताएका थिए। त्यही घटनाकै कारण आफूले मलेसियाबाट अभियान थालेको उनको भनाइ थियो। ‘आजभन्दा केही महिनाअघि एक जना श्रमिक, उहाँको पार्थिव शरीर यहीँ कतै भेटियो। उहाँको नाम हो, मयलाल परियो। समाचारबाट थाहा भयो– उहाँको छातिमा मेरो अनुहार भएको ट्याटु खोपिएको रहेछ। मलाई थाहा छैन, उहाँले कुन आशा र अपेक्षाले छातीमा तस्बिरको ट्याटु खोप्नुभयो। त्यो दृश्य देखेपछि मेरो मन, मुटुमा त्यो चित्र खोपिएको छ,’ लामिछानेले भने। उनले आफू टेलिभिजनकर्मी हुँदा पनि वैदेशिक रोजगारीमा दुःख पाएका श्रमिक, मजदुरको समस्या देखाएको र अहिले पनि त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताए। सभापति लामिछानेले आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली भएको बताएका छन्। ‘अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ। म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि उल्लेख गरेका छन्। िरास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि मलेसियाबाट अभियान सुरू भएको र अन्य देशमा पनि विस्तारै कार्यक्रम जोडिँदै जाने बताए। प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका सभापति लामिछाने मंगलबार स्वदेश फर्कंदैछन्। उनी बिहीबार कतार जाने कार्यतालिका रहेको अर्यालले बताए। ‘प्रवासमा रहेका नेपालीहरूलाई धन्यवाद दिन जाने कार्यक्रम यसअघि नै तय गरिएको हो। तर सदन, पार्टीको कामले समय मिलिरहेको थिएन। अहिले अनुकूल मिलेर प्रवास समितिहरूलाई वैधानिकता दिने, भेटघाटमा सरिक हुने गरी कार्यक्रम राखिएको हो,’ उनले भने। बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारी रहेको पनि अर्यालले जानकारी दिए। रास्वपाको ३० बढी देशमा प्रवास समिति बनेको पनि उनले बताए। ‘स्वःस्फूर्तरूपमा समिति गठन गर्नुभएको छ। त्यसलाई वैधानिकता पनि दिनुछ,’ अर्यालले भने। केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको प्रमुख अर्याल आफैं हुन्। केन्द्रमा यसको ११ सदस्यीय समिति छ। प्रवासमा पनि ११ सदस्यीय नै समिति रहने उनले बताए। ‘केन्द्रमा यसको कार्यविधि तयार भएको छ। त्यो पनि पारितको प्रक्रियामै छ। यही कार्यविधिमा टेकेर हामी प्रवासमा संगठन विस्तार गर्छौं,’ उनले भने।

