काभ्रेपलाञ्चोक: इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा ९१६५९ किलो० चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए। घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो । प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए।
स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमा उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने तयारी थालेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले बताए । ‘नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं,’ उनले भने । लोकल रक्सीलाई ब्राण्डिङ गरेसँगै नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उनको भनाई छ । राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । यसबाट पालिका भित्रका १ हजार ५ सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताइन् । मङ्गलबार बसेको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुको सहभागिता थियो । पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ । यो खबर आजको गोरखापत्रमा लेखिएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रकाउ गरेको छ । जिल्ला अदालत कास्कीले २०८०/०२/०२ गते पशुपंक्षी सम्बन्धी मुद्धामा १० महिना १७ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका कास्कीको रुपा गाउँपालिका–१ गरगाउँटार बस्ने २६वर्षीय दीपक विकलाई प्रकाउ गरेको हो । ईलाका प्रहरी कार्यालय शिुसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले विकलाई प्रकाउ गरी जिल्ला अदालत कास्कीमा कारवाहीका लागि बुझाएको कास्की प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ । उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो । सूचना अधिकारी कोइरालाका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् । जन्मकैद फैसला भएका २४ जना मध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । आठजनालाई सफाइ तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ । सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् । यसैगरी, पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ । आइतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो । जाहेरीवालाको तर्फबाट सरकारी वकिलसहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुभएको थियो । रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छ जना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका-११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटि( ९चौथो स्टेज)को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्दछ । किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो औषधि क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा आएको एक किसिमको टार्गेटेड थेरापी हो । यो औषधि किमोको तुलनामा बढी प्रभावकारी भएको अध्ययनहरूले पुष्टि गरेको छ ।” डा।शाहीका अनुसार यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्छ । उहाँले भन्नुभयो, “यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरि एक हप्ता छोड्ने र फेरि अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ।” पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउर्दै आएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो । पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो । राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
बागलुङ: बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघले आगागी पुस ११ देखि २१ गतेसम्म आयोजना गरेको बागलुङ महोत्सव–२०८० को अवसरमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । धवलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने बागलुङ महोत्सवमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ५१ हजार १ सय ११, द्धितीय हुनेले १ लाख १ हजार १ सय ११ तृतीय हुनेले ५१ हजार १ सय ११ र सात्वना हुनेले २५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) र उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता व्यवस्थापन उपसमितिका सदस्य किशोर थापाले महोत्सव पुस ११ देखि सञ्चालन भएपनि पुरुष भलिबल प्रतियोगिता १४ गतेदेखि मात्र सुरु हुने जानकारी दिए । भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गर्ने टिमलाई दैनिक ५ हजार भत्ता उपलब्ध गराउने थापाले बताए । भलिबलमा सहभागि हुने एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव–२०८०को मुख्य आर्कषणमा गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गएको साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारव टा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै गएको वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको १० वर्षको भाले बाघ पनि सौराहामै छ । तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गएको भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुई वर्षअघि ल्याइएको नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइएको १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन । निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । त्यही ठाउँमा बाघ राख्नका लागि दुई वटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ । हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।
पोखरा: भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिका ४ भदौरेमा ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । आगामी पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी थालिएको छ । महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना गरी मनाइने क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए । उनका अनुसार तमु ल्होसारको अवसरमा आयोजना हुने सो महोत्सवमा विशेष आकर्षणका रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक विश्वदल गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्तिम चार (सेमिफाइनल) मा पुग्ने दुई टिमलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि आयोजकले दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरेको छ । महोत्सवमा खेलकुदसँगै साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना हुने आयोजकले जनाएको छ ।

