मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोकसंस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रँगाउँदै हुनुहुन्थ्यो । कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गर्नुभएको छ । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लैजानुभयो । चित्रकलाको चारवर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उहाँले काम गर्दै आउनुभएको छ छ । मित्थुले विशेष २५ हजार पाएको उहाँले बताउनुभयो । “अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्तेचित्र बनाएको थिएँ । त्यसबाट रू। २५ हजार पाएको थिएँ”, मित्थुले भन्नुभयो । उहाँका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू। ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ । यतिबेला उहाँले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै हुनुहुन्छ । उहाँले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहनुभएको छ । मूर्तिको विशेषता हेरेर मूल्य निर्धारण हुने भएकाले एउटा मूर्ति कुँदेबापत रू। २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उहाँले बताउनुभयो । मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्रहालयमा चित्र र मूर्ति बनाइरहनुभएको छ । थारु संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उहाँको भनाइ थियो । रासस
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका(३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो। उक्त खबरपछि प्रहरीको टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरण गर्न सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीनसय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु। आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो । “वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्”, उहाँले भन्नुभयो, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।” लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताउनुभयो । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताउनुभयो । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी गराउनुभएको थियो । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्नुहुँदै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनुभयो । सो अवसरमा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्। सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाललाई नियुक्त गरेका हुन्। यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरिएको हो। सभापति देउवाले गत मंसिर १२ गते उनीहरूलाई भ्रातृ संस्था अध्यक्षमा नियुक्त गरेका थिए।
पोखरा: पोखरा महानगरपालिका–१७ स्थित फिस्टेल एकेडेमीले पुसको पहिलो साता विद्यालय स्तरीय‘फिस्टेल स्पोर्टस् फेस्ट’ गर्ने भएको छ । आईबी पिबाईपी प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा पुस ५देखि ७ गतेसम्म विद्यालय स्तरीय ‘फिस्टेल स्पोर्टस् फेस्ट २०८०’आयोजना गरेको संस्थापक चिनु रानाभाटले बताए । ‘फिस्टेल एकेडेमीको २९ औं वार्षिकोत्सवको अवसरमा पुसको पहिलो साता फिस्टेल स्पोर्टस् फेस्ट २०८० आयोजना गर्दै छौं’, संस्थापक रानाभाटले भने, ‘फिस्टेल स्पोर्टस फेस्टमा सेभेन ए साइड छात्र फुटबल, छात्रा÷छात्र बास्केटबल र छात्रा÷छात्र लन टेनिस प्रतियोगिता गर्दै छौं ।’ उनका अनुसार विद्यालयस्तरीय छात्र सेभेन ए साइड प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेले क्रमशः ७५÷३५÷२० र १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विद्यालयस्तरीय छात्रा÷छात्र (फाइभ÷फाइभ) बास्केटबल प्रतियोतिगा प्रथम,द्धितिय र तृतीय हुनेले क्रमशः ७५÷३५ र २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा छात्रा÷छात्र (यू–१६, यू–१२ र यू–९) वर्षको विद्यालय स्तरीय लन टेनिस प्रतियोगितामा प्रथम÷द्धितिय र तृतीय हुनेले क्रमशः १५÷१० र ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा आयोजित बास्केटबल र फुटबलमा सहभागी हुन प्रति समूह ५ हजार र लनटेनिसतर्फ एक खेलाडीलाई १ हजार ५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । तीनदिनसम्म सञ्चालन हुने फिस्टेल स्पोर्टस् फेस्टमा करिव ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको विद्यालयले जनाएको छ ।
बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
रसुवामा छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङमाथि उनका ४०/४५ वर्षका छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गरेका थिए। रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार बाबुछोराबीच झगडा हुँदा गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङलाई बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चे लगिएको थियो। उपचारकै क्रममा गएराति ११स्४० मिनेटमा छेवाङको मृत्यु भएको हो। घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूसँग पनि सोधपुछ भएको इन्स्पेक्टर पौडेलले बताए।
पोखरा: पोखरामा बेवारिशे अवस्थामा एक वृद्धाको शव भेटिएको छ । अचेत अवस्थामा भेटिएकी वृद्धालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेवारिशे अवस्थामा भेटिएका वृद्धाको शवको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–३ पालिखेचोकमा हिजो (बिहिबार) बेलुका अचेत अवस्थामा फेला परेकी अन्दाजी ६० वर्षीय वृद्धालाई उद्धार गरी उपचारको क्रममा पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । वृद्धाको शवलाई अहिले पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

