रक्तदान जीवनदान भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै समाजमा सकारात्मक सन्देश दिने गरी मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदान कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए । क्लवको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग, भण्डारढिक टोल विकास संस्था,जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरु लगायतले रक्तदानको महत्ववारे बोलेका थिए । रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङ्गले गरेका थिए । र
पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो । वेलननले शिलसिला लाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा शुरक्षित गरेको हो । त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमीफाइनल खेल भोली सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै मावी छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो । आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिएका छन् । कबड्डी छात्रतर्फ ६ र छात्रा तर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ । खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन भोली १४ गते बिहिबार पोखरा रंगशालामा हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेल संगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु कोप- २८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्। बुधबार राति साढे ९ बजे प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए। प्रधानमन्त्री प्रचण्ड कोप(२८ मा सहभागी हुन त्यहाँ गएका हुन्। नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ। त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो। तर भिभिआइपीको भ्रमण हुने भएकाले उक्त समय अगाडि सारिएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। समय अगाडि सार्दा ३१ जना यात्रु छुटे। उनीहरूलाई एयरलाइन्सले काठमाडौंका होटलहरूमा राखेको छ। उनीहरूलाई बिहीबार दिनभरको फ्लाइटमा दुबई पठाइने पौडलले बताए। ‘आज राति पनि त्यस समयमा फ्लाइट छ। दिनभरि हुने अन्य फ्लाइटहरूमा मिलाएर उहाँहरूलाई राखेर पठाउँछौं,’ पौडेलले भने, ‘उहाँहरू छुट्नुभएकोमा हामीलाई दुस्ख लागेको छ।’फ्लाइट छुटेका प्रज्वल विक्रम रानाले सामाजिक सञ्जालमा भिडिओ राख्दै नेपाल एयरलाइन्सको लापर्वाहीले आफूहरू छुटेको बताएका छन्। ‘काठमाडौंबाट दुबई साढे ११ बजेको फ्लाइटमा जान लागिरहेको थिएँ। सोही फ्लाइटमा हाम्रो सम्माननीय प्रधानमन्त्री पनि जान लाग्नुभएको रहेछ। सोही कारणले फ्लाइटलाई दुई घण्टा अगाडि सारेको रहेछ,’ उनले भनेका छन्, ‘तर नेपाल एयरलाइन्सले हामी धेरै जना यात्रुहरूलाई जानकारी पनि दिएन।’ उनी साढे ८ बजे एयरपोर्टमा पुगेका थिए। उनी त्यहाँ पुग्दा कर्मचारीहरू प्रधानमन्त्रीको बिदाइका लागि गएको र करिब एक घण्टापछि ड्युटी अफिसर आएर माथिको आदेश अनुसार सारिएको भन्ने जानकारी दिएको उनले बताए। ‘जानकारी गराउनुपर्ने कुरामा आफ्नो जिम्मेवारी हो भन्ने खालको व्यवहार पनि गर्नुभएन। र पछि एउटा पत्र दिइयो,’ उनले भने। ‘हामीले उहाँहरूको इमेल राखेका हुन्छौं। फोन नम्बर राखेका हुन्छौं। मंसिर ८ गतेदेखि नै यस्तो हुँदैछ भनेर जानकारी गराएका थियौं। तर पनि केही छुट्नुभएको छ। त्यसमा दुस्ख लागेको छ,’ उनले भने, ‘अरू २५० जना यात्रुहरूले चाहिँ सूचना पाएर छिटो आइपुग्नुभयो। उहाँहरू कसरी छुट्नुभयो भन्ने हामी छानबिन गर्छौं।’
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका– १३ बेलबासका २१ वर्षीय शिवराज थापा रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनी विगत ५ महिनादेखि फरार थिए । थापालाई जिल्ला अदालत तनहुँले २०८० साल जेठ ३२ गते अपराधिक उपद्र मुद्धामा ३० दिन कैद, र २ हजार रुपैयाँ (दुई हजार) जरिवाना तोकेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ। निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो। गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्। गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो। घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको थियो। आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ। सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गर्नु भएको हो । सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्न हुँदै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रा भएको बताउनुभयो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्य पहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,“ मध्य पहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन संवाद गर्छौ ।” अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुस १ गते झन्डोत्तोलन गरी समापन हुने उहाँले बताउनुभयो । सङ्कल्प यात्रामा आम जनताको उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठुलो योगदान पुर्याउने बताउनुभयो । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुर्याउने छ । सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । यात्रामा सबै अनुशासित भएर सहभागी हुने विश्वास व्यक्त गर्दछु ।”
सिन्धुपाल्चोक, मङ्सिर १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न समेत बाधा पुगिरहेकोले बाल विवाह रोक्न सबै लाग्नु पर्नेमा जोड दिनुभएको हो । भिमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा लामाले धुस्कोट क्षेत्रमा अहिले पनि बाल विवाह प्रमुख समस्याको रुपमा रहेको र हालै मात्र विद्यालयमा अध्ययनरत आठ जनाले बाल विवाह गरेको जानकारी गराए पछि स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाह रोक्न विद्यालयको एक्लो प्रयासले मात्र नसकिनेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘बाल विवाह अन्त्य गर्न विद्यालयले मात्र सक्दैन । यसका लागि प्रत्येक अभिभावक पनि सचेत हुनु पर्छ । आफ्ना छोराछोरीका गतिविधि निगरानी गर्नु पर्छ र समाजमा यसका विषयमा जनचेतना विस्तार गर्नु अझै आवश्यक छ ।’’ आफुले ४१ वर्षको उमेरमा विवाह गरेको स्मरण गर्नुहुँदै सानै उमेरमा विवाह गर्दा पढाईका साथै करिअर नै ध्वस्त भएका थुप्रै उदारहण समाजमा भएको मन्त्री बस्नेतले बताउनुभयो । सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला बनाउनमा आफ्नो ठूलो योगदान गरेको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले ३२ वर्षसम्म आफ्नो पहलमा सिन्धुपाल्चोकका साढे १४ हजारभन्दा बढी विद्यार्थीहरुलाई वर्षौसम्म कोचिङ पढाएर शिक्षाको स्तर उकास्ने काम गरेको बताउनुभभयो । कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनु पर्छ भन्ने अभियानलाई देशव्यापी बनाउन सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी, बाह्बिसे र भोटेकोशी गाउँपालिकाबाट निःशुल्क पढाउने कामको सुरुवात भइसकेको जानकारी समेत बस्नेतले दिनुभयो । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा पाउनबाट बञ्चित हुन नपर्ने उद्घोषका साथ स्वास्थ्य मन्त्रीका हैसियतले आफु लागि रहेको बताउनुहुँदै मन्त्री बस्नेतले ६ महिनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको दाबी गर्नुभयो । उहाँले गफ गर्ने तर काम नगर्ने नेतालाई मतदान गरेर जिताउनु भन्दा काम गर्ने र जनताका सुखदुःखमा साथ दिने नेतालाई जिताए पठाउन सल्लाह दिए । भिमसेन माध्यमिक विद्यायलयको खेल मैदान निर्माणका लागि व्यक्तिगत रुपमा मन्त्री बस्नेतले ५१ हजार सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापाले स्वास्थ्य मन्त्री बस्नेतले मन्त्री भएको बेला मात्र नभएर मन्त्री नभएको बेला समेत शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको स्मरण गर्दै बस्नेत जस्तो नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सरु लामाले खेल मैदान निर्माणका लागि आफुले व्यक्तिगत रुपमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराएको बताउनुहुँदै बाल विवाह अन्त्य गर्नका लागि पालिकाले अभियान नै चलाउने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यक हिरा लामाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयको विकासमा योगदान पुर्याएका अभिभावक र उकृष्ण अङ्क ल्याएर एसईई उतिर्ण गरेका विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले ११ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए। कप्तान लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिएका थिए । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिएका हुन् । आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बिचको विजेतासंग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्। उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ। उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए। एम्बुलेन्सका महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।

