सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए । सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपीडितका समस्या समाधान गर्न राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको पोखरेलले बताए।
पोखरा: पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् । नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् । युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने, ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’ कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् । मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए । उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’ उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए । ‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’ मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।
नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ। जडिबुटीस्थित एक ब्याङ्क्वेटमा बस्ने केन्द्रीय समिति बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ। नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्। गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।
जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो। उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ। स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।
प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने र प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानमा रही प्रश्नकर्ता सदस्यले प्रधानमन्त्रीसँग प्रश्न गर्न सक्नेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ृराप्रपोका सांसद ज्ञानबहादुर शाहीले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने जिकिर गर्नुभयो । “सांसदले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम नदिँदा न त स्पष्टीकरण सोधिन्छ न त कुनै कारबाही । सरकार संसद्प्रति जवाफदेही हुनैपर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ बनाउने टोलीको सदस्यका रूपमा आफू रहँदा विशेष र शून्य समयमा सरकारले जवाफ नदिएमा सुरुमा सभामुखले ल्याएर स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा मन्त्री पदबाट बर्खास्त गर्ने व्यवस्थामा जोड गरेको तर पारित गर्न नसक्दा अहिले सरकारलाई जवाफदेही बनाउने प्रावधान नै नरहेको सांसद शाहीको भनाइ छ । जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले संसद्लाई प्रभावकारी बनाउन गुणस्तरीय र क्षमतावान् सांसदको आवश्यकता रहेकामा जोड दिनुभयो । “सांसदको भूमिकालाई बहन गर्न सक्ने, जनताको आवाज कदर गर्न सक्ने सांसद हुनुपर्छ”, उहाँले भन्नुभयो । हरेक क्षेत्रमा उत्कृष्ट क्षमता भएका व्यक्तिलाई ध्यान नदिई ‘पार्टीलाई सहयोग गरेको’ भन्दै सांसद छान्ने काम उचित नभएको सांसद शाहीको भनाइ छ । संसद्को औचित्य जोगाउन कानुन निर्माण प्रक्रियामा सांसदले विधेयकको अध्ययन, छलफल, बहसमा भाग लिनुपर्नेमा जोड गर्दै सांसद शाहीले आफूले विधेयकमाथि अध्ययन गरी कारणसहित समर्थन र विरोध जनाएको तथा सदनमा उपस्थित नभएका दिनबाहेक आफूले शतप्रतिशत भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । विभिन्न स्वार्थ हाबी हुँदा तत्काल पारित हुनुपर्ने विधेयक पनि अल्झिरहेको उहाँको आरोप छ । “राम्रा विधेयकमा पनि दलको नेतालाई चित्त नबुझेमा तथा निजी स्वार्थ र व्यक्तिगत स्वार्थ परिपूर्ति गर्नका लागि विधेयक पारित हुन नसकेको अवस्था छ । अधिकांश सांसदलाई विधेयक चित्त बुझेको हुँदैन । कयौँ सांसदलाई आफैँ निर्णय गर्न पाउने अधिकार छैन । यस्तो अवस्थामा संसद्ले मुलुकमा असल कानुन निर्माण गर्न सक्दैन”, सांसद शाहीले भन्नुभयो । निर्वाचन आयोगले कुनै पनि सांसदलाई पार्टीले राजीनामा गराउन पाउने अधिकार बनाउँदा सांसद स्वतन्त्र नहुने नियमप्रति आपत्ति जनाउनुभयो । संसद्को टाइम कार्ड लागू गर्ने अभ्यास उपयुक्त नरहेको उहाँको भनाइ छ । “संसद खुला बहस गर्ने थलो हो । टाइम कार्ड लागू गरेर दुई–तीन मिनेट समय दिएको हुन्छ, यो ठीक होइन”, उहाँले भन्नुभयो । सांसद शाहीले आफ्नो निर्वाचन क्षेत्रको आवश्यकता कानुन निर्माण भन्दा विकास निर्माण रहेकाले चुनावका समयमा जनतालाई दिएका आश्वासनप्रति आफू प्रतिबद्ध र प्रयासरत रहेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा जलविद्युत्, सडक, स्थानीय उत्पादनको बजारीकरणलगायत एजेण्डा कार्यान्वयनमा प्रयासरत रहेको उहाँको भनाइ छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना निकालेर विभिन्न केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न अनुरोध गरेको छ । प्राधिकरणले भुक्तानीका लागि पालिकालाई यसअघि असोज ६ गते ४५ दिनको समयसीमा दिएको थियो । त्यस्तै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन पनि भनिएको छ । यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने उल्लेख छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।
काठमाडौं: फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा घरेलु टोली नेपाल यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए । नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो । खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । ११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो । ३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको सुरुवातमै अहमद महेरको अर्को प्रहारले पनि किरणलाई दुःख दिन सकेन। ४८औं मिनेटमा दिनेशको क्रसमा अन्जन पुग्नु अघि यमन गोलरक्षक अल सदिले समाते । ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए। ५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेरा फाले । गोलरक्षक विरुद्ध वान अन वान मौका रहेकोमा उनले सिधै अल सदिको काधमा प्रहार गरे । ६३औं मिनेटमा एरिक विष्टको फ्री किक ब्लक भयो । ६५औं मिनेटमा अल खदेर अल डोउहले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । ७२औं मिनेटमा ओमार अल दहीले यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिर बाट लिएको शक्तिशाली प्रहारले जालि चुमेको थियो । ७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो । ८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार किरणले बचाए । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि चिप गर्दै जित सुनिश्चित गरे । खेलको अन्त्यतिर नेपालले केही मौका सिर्जना गर्न खोजेपनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन । खेलमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् ।

