पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

पोखरा:  पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ ।  करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखाले तीन जनालाई ८ सय १२ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषधसहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा महानगरपालिका–८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका २३ वर्षीय जिवन बि.क.लाई चेकजाँच गर्ने क्रममा ५ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषध बरामद गरेपछि अनुसन्धान गर्दै जाँदा प्रविण पौडेलको साथबाट ५०७ चक्की र कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की बरामद गरेको हो ।  प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधमुद्धामा दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

गण्डकी:    राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ ।    प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछन् । पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने उहाँले जानकारी दिनुभयो ।   यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु दस हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताउनुभयो ।    गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।     प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारहरुको प्रस्तुती रहने संयोजक केसीले उल्लेख गर्नुभयो ।   “धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ”, उहाँले भन्नुभयो, “पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि टिकट शुल्क तोक्छौँ ।”

सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ।   राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो।   जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।   भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो। भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो।    गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल स्थानीय तहमा रकम पठाउन निर्देशनसमेत दिएको छ। भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउनेछन्।   साथै अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ। गत कात्तिक १७ गतेको भूकम्पले जाजरकोटलगायत जिल्लामा जनधनको क्षति भएको थियो।

चितवन:    चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेलापरेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ छन् । 

’पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ ।   कास्की प्रहरीले गएको शुक्रबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले क्युआर कोड स्क्यान नागरिक केन्द्रित रहेको जानकारी दिए । ‘कास्की प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ’, डिएसपी विकले भने, ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो तथा सुझाव संकलनका लागि यो सिस्टम ल्याएको जनाएको छ ।  जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको डिएसपी विकले जानकारी दिए ।   

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ ।   टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।   तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।   २७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।

काठमाडौं:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र  सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो  । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भन्नुभयो । पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उहाँले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उहाँले बताउनुभयो । समाजलाई विज्ञानको सापेक्षताअनुसार  विकास गर्न नसक्नु नै हामीले दुःख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गर्नुभयो । उहाँले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको  र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएकोे हो ।” सो अवसरमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र  युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपाल संवाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भई हरेक वर्ष हुँदै आएको नेपाल संवाद महासम्मेल असमझदारीलाई संवादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्नेतिर केन्द्रीय भएको बताउनुभयो । आजदेखि सुरु भएको महासम्मेलन तीन दिनसम्म चल्नेछ ।