काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए । सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।
काठमाडौँ: चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् । एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गीता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।
पोखरा: कास्की प्रहरीले हसियाँ प्रहार गर्ने एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा जुमकाजी बिक रहेका छन् । पक्राउ परेका बिकले गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा श्रीराम देवकोटालाई हँसिया प्रहार गरेका थिए । देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भनेबिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।
पोखरा: तिहार सकिएपनि पोखराका सडकमा देउसी भैलोको तडक भडक देखिएको छ । आजबाट छठपर्वको आरम्भ भएको छ । तैपनि पोखराका विभिन्न स्थानहरुमा भने अझैपनि दउसी भैलोको समूह भेटिएका छन् । यद्यपी बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने प्रचलन रहेको छ । पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढेको प्रष्ट देखिएको छ । हेर्नुहोस् तस्बिर:
काठमाडौं: दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो । सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो । खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए । उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो । त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।
चितवन: तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए । तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।
नुवाकोट: बिदुर नगरपालिका-२ बिदुरस्थित जुवातास (कौडा) खेलिरहेका ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित गएराति पक्राउ गरेको हो । नर्थ भ्यू होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं: फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे । खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो । १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । १३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए । २९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन । ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो । युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए । दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए । ७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए । खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे । नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।

