पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा:   रौटहट घर भएका अबय जयसवाल हिजो मात्र पोखरा फर्किए । विगत १०/१२ वर्षदेखि पोखरामा जागिर गरिरहेका कारण उनी रौटहट जाने आउने गरी रहन्छन् ।    आइतबार बिहान पोखरा आएका जयसवाल केही समय पछि कार्यालय गए । कार्यालयमा काम गरिरहेको समयमा एक्कासी उनको आँखा चिलायो, रातो हुँदै आयो । केही समयपछि दुखाई बढेपछि अफिस नजिकैकौ मेडिकलमा गए ।    स्वास्थ्यकर्मीले आँखा पाक्ने भाइरस फैलिएको र त्यसैको असर परेको हुन सक्ने भन्दै औषधि (मेडिसिन) दिए । तर त्यो औषधि(मेडिसिन) राखेपनि दुखाई कम भएन ।       त्यसपछि उनी सोमबार बिहानै पोखरा १७ घारीपाटन स्थित हिमालयन आँखा अस्पतालमा भेटिए । ‘आँखामा समस्या आएपछि घर फोन गरेको थिए । गाउँमा पनि आँखा पाकेको थाहा पाए । सायद त्यहीबाटै सर्याे होला । अहिले उपचार गर्न यहाँ आएको छु ।  छिटै ठीक होला,’ उनले भने ।   यस्तै पोखरा १८ का सुवास तामाङपनि उपचारकै लाइनमा भेटिए । उनले आइतबार छोरालाई विद्यालय नगई घरमै बसेको देखेपछि कारण सोधे, छोरालाई आँखा पाक्ने समस्या देखिएको थाहा पाएपछि तामाङले खाना खाएपछि   अस्पताल ल्याउने निधो गरे । तर खाना खाएको केही समयपछि उनलाई पनि आँखा पाक्ने भाइरसले संक्रमण गरिसकेको अनुमान गरे ।   अनुमान सही साबित भएपछि मेडिकलबाट औषधि आँखामा राखे तर निको भएन ।   त्यसपछि झन आँखा पोल्ने समस्या बढेकाले अस्पताल पुगेको तामाङले बताए । ‘रातभर आँखा पोल्ने, चिलाउने आँशु आउने भयो त्यसपछि अतिनै दुख दिएपछि यहाँ आएको हुँ,’ तामाङले भने ।   पोखरामा पनि फैलियो आँखा पाक्ने प्रकोप   हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जना हुन्थे । तर पछिल्लो सय बिरामीको चाप बढेको छ ।   यही हप्तामात्रै आँखा पाक्ने बिरामी १  हजार ५ सय बढी रहेको अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठले बताइन् । उनका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना थिए । ‘अहिले देशभर नै (एडिनो भाइरल कन्र्जग्टिवाइटिस) आँखा पाक्ने रोग फैलिरहेको छ, श्रेष्ठले भनिन्, ‘पछिल्लो एकहप्तामा पोखरामा १ हजार ५ सय ७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ ।   हिमालय आँखा अस्पतालको तथ्याङ्क अनुसार १ हजार ५ सय ७३ जना मध्ये ९ सय १८ जना बालबालिका छन् भने आजपनि (सोमबार) उपचारका लागि अस्पतालमा बिहानैदेखि बिरामीको भिडभाड बढेको छ ।  ‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउछ, उनले भनिन्, ‘यसले ज्योती नै गुम्छ भन्ने हुदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २र३ हप्तासम्म समय लाग्छ ।’   एडिनो भाइरल कन्र्जग्टिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ ।   ‘हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् यो सरुवा रोग हो । त्यसैले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिएको हो । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तुहरु अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन,’ उनले भनिन् ।   उनले आँखामा कुनै समस्या देखिए आँखा अस्पतालका चिकित्सकसँग परामर्श लिएर मात्रै औषधिको प्रयोग गर्न सुझाव दिइन् । आँखा दुख्यो भनेर जुन पायो त्यही दबाई प्रयोग गर्नु राम्रो होइन, उनले भनिन्, ‘चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्नु पर्छ ।’   पटकपटक साबुनपानीले हात धुने, चस्मा प्रयोग गर्ने, धुवाँधुलोबाट आँखालाई जोगाउने, संक्रमित व्यक्तिले प्रयोग गर्ने वस्तु तथा सामग्रीहरु प्रयोग नगरेको खण्डमा उक्त प्रकोपबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।   विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन्।   कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पुरकोशी एन्ड न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।   सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाको सिफारिस पछि कार्यालयले चेतना÷युके एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ।    जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीको काम अलपत्र पारेपछि बिकेबि कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि, सन्धिखर्क नगरपालिकाको सिफारिसमा ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सनलाई एक वर्ष, सडक डिभिजन कार्यालय इलामको सिफारिसमा बुढाथोकी निर्माण सेवालाई एक वर्ष र सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ।       भरतपुर महानगरपालिकाको सिफारिसमा अर्भन कन्स्ट्रक्सन लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने भरतपुर महानगरपालिकाकै सिफारिसमा अन्जल निर्माण सेवा एक वर्ष, अनुष्ठान कन्स्ट्रक्सन डेढ वर्ष र युद्ध निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका छन्।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।

ढोरपाटन:      बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।  सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् ।  असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिनुभयो । आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताउनुभयो । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उहाँले बताउनुभयो । ताराखोला –२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले बताउनुभयो । गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले रु चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको उहाँको भनाइ छ । अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्तीमगरले बताउनुभयो । “गाउँमा पहिले स्थानीय जातको अलैँची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो”, स्थानीय घर्तीमगरले भन्नुभयो, “एघार रोपनीमध्ये दुई रोपनीमा स्थानीय जातको र नौ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैँचीमा पनि यही समस्या छ, के भएर मरे रु, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ ।” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताउनुभयो । उहाँले ताराखोला मात्रै नभएर अलैँची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको बताउनुभयो । सुक्खाको कारणले अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने भट्टराईको भनाइ छ । यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उहाँ बताउनुहुन्छ ।  “किसानले अलैँची बगैँचा बनाउँदा सुक्खा ठाउँ चयन गर्नु हुँदैन, जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नुपर्ने हुन्छ, ताराखोलामा अहिले यो समस्या आयो, काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो”, प्रमुख भट्टराईले भन्नुभयो, “सुक्खाको कारण समस्या भएको हो, अब किसानले नियमित सिँचाइको व्यवस्था मिलाउनुपर्छ, सिँचाइको व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ ।” कृषि ज्ञान केन्द्र  प्रमुख प्रमुख भट्टराईका अनुसार बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको उहाँको भनाइ छ । अलैँची खेती गर्नुपूर्व यससम्बन्धी सामान्य ज्ञान लिन जरुरी रहेको उहाँले सुझाव दिनुभयो । 

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल  स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।   प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।   पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा। वेदुराम भुसालले सम्हाल्नुहुनेछ । रासस

पाल्पा:      सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।  राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लु २ च २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नंं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय पाण्डेले जानकारी दिए । पहिरोका कारण केही बेर राजमागको बुटवल–पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

बाग्लुङ: बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो।    साउन १८ गते बिहीवार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा खसेर बझारिएपछि घटनास्थलमै बालकको ज्यान गएको बताइएको छ।   त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बाग्लुङमा आइतवार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। 

काठमाडौं:      बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ । मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् । अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

चितवन: चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो ।    उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो ।    चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।   बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।