काठमाडौं: प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो । यही साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिनुभयो । राणाले भन्नुभयो, ‘‘प्रस्तावित प्रधानन्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्ति प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धमा सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’ तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको छ ।
पोखरा: अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन् । महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् । अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताइन् । जनसंख्याको आधा हिस्सा महिला छन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३ प्रतिशत हैन, समान हुनुपर्छ । उनले भनिन्– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ ।’ उनले थपिन् – ‘महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’ अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिइन् । प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा बारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बा लामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीका अध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरे । अध्यक्ष गिरीका अनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारण पनि बैठकले गरेको छ । अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तरसम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।
पोखरा: बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका छन् । पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजिरहेको जानकारी दिए । उनका अनुसार बागलुङको बडिगाड गाउँपालिका ३ घर भएका ३५ वर्षीय राना मंगलबार बागमाराबाट पटनेरीतिरतर्फ आउँदै गर्दा सेती नदीमा खसेका हुन् । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ । राना सेती नदीमा खसेको जानकारी पछि खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन या हाम फालेका हुन भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीको भनाइ छ ।
पोखरा: नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ । सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए। त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए। सो बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए। कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए। गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका रिपोर्टिङ सहित समिक्षा गर्दै बैठक अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।
काठमाण्डौ: आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
काठमाडौँ: अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् । तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो । सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।
पोखरा: पोखरा महानगरपालिकालले आँखा पाक्ने रोग फैलन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज (मंगलबार) सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो एक हप्तायता पोखरामा पनि आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएपछि केही दिन बिद्यालय बन्द गर्न सुझाव दिएका थिए । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न महानगरपालिकाले जनाएको छ । स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।
सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ । छोरालाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले स्थानीयको अवरोधकाबीच १२ दिनपछि ३० वटा गाडीमा राखिएको फोहोर अस्थायी ल्याण्डफिल साइटमा फालेको छ । पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा आज महानगरले ३० गाडी फोहोर फालिएको महानगरले जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले अस्थायी ल्याण्डफिल साइटमा फोहोर फाल्नका लागि स्थानीयसँगसमन्वय भइरहेको र सर्वोच्च अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले फोहोर फालिएको बताए । ‘लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले केहीदिन यता अवरोध गरेका थिए, त्यसमा सर्वोच्च अदालतमा पनि मुद्धा प¥यो’, तिम्सीनाले भने, ‘स्थानीयको माग पूरा गर्न छलफलमा गरिरहेका छौं, अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले आज फोहोर फालेका हौं ।’ यस्तै पोखरा महानगरापालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सोमबार पोखराको विभिन्न स्थानबाट उठाइएका फोहोर आज अस्थायी ल्याण्डफिल्ड साइडमा फालिएको जानकारी दिइन् । उनले सोमबार उठेको फोहोर आज फालेकाले अब नियमित रुपमा फोहोर उठ्ने बताएकी छिन् । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकमी परिचालन गरिएपनि विना अवरोध फोहोर अस्थायी ल्याण्डफिल्डमा फालिएको महानगरले जनाएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्दा स्थानीयसँग गरिएको १६ बुँदे माग कार्यान्वयन गर्ने बताउँदै आएको छ ।

