काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । ६५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेका अवस्थामा फेला परेको थियो । जसका कारण स्थानीयवासी झाडापखाला फैलिएको थियो ।   दूषित पानीका कारण फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।   ‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मीसहित गाउँमै पुग्यौँ हाल सबैलाई निको भएको छ,’’ अधिकारीले भन्नुभयो ।   उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना बिरामी भएकोमा हाल सामान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।   ‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालका लागि मलुको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा वैकल्पिक सार्वजनिक धारा व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।   ‘‘तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजनिक धाराबाट वितरण गर्ने गरी काम भइरहेको छ,’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा आइतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।   ७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्कीमार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीय शान्ता श्रेष्ठको शव दुर्गन्धित अवस्थामा ट्याङ्की भित्र भेटिएपछि गाउँवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्याङ्जा:  कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिनुभएको हो ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेसँगै सार्वजनिक भएको हो ।    हाई प्रोफाइल कतारी राजकुमारी अल्थानी स्याङ्जामा आउँदा यहाँको प्रशासनसमेत अनभिज्ञ रहेको छ । राजकुमारी अल्थानी आएको आफूहरूले थाहा नपाएको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजकीय रूपमा नआई पर्यटकका रूपमा आएकाले थाहा नपाएको बताउनुभयो ।    विश्वकप प्याराग्लाइडिङ सफल भएको भीरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको उहाँले दाबी गर्नुभयो ।    राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भीरकोटका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाउनु भएको थियो । सञ्चालक सानुबाबु सुनुवारले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका–१, दौवाफाँटमा अवतरण गर्नुभएको  सुनुवारले बताउनुभयो ।     राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले बताउनुभयो। राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैँ गरेको र अन्तिम उडान दौवाफाँटसम्मको गर्नु भएको हो।    प्याराग्लाइडिङ तालिम सिकेर एक्लै उडान र अवतरण गर्न सक्ने बनेर अल्थानी फेरि अन्नपूर्ण प्रथम आरोहणमा निस्के पनि मौसमका कारण पोखरामा रहनुभएको छ।    आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताउनुभयो। धेरै पहिलादेखि  भीरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले बताउनुभयो।    उच्च तहका पाहुना भीरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको बताउनुभयो।   

खोटाङ : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।    मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत  हारगुहार गरिरहेका छन् ।    काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्।   'यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्', उनले भने, 'नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।' 

पोखरा: पोखरा महानगरपालिका वडा नं.१२ मा प्लाष्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।  ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो ।  वडा स्तरमा प्लाष्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रा.लि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा.लि ९((जीआरडब्लुएम) ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् ।   परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लाष्टिकको प्रयोग र प्रयोग हुने प्लाष्टिकका वस्तु लगायत प्लाष्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लाष्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लाष्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गरिनेछ ।  यस्तै समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन कार्यान्वयन गर्न तुलनात्मक डेटाको लागि वडा नं.१२ का किराना पसलहरूमा पर्यावरण–अनुकूल कपास झोला र बायोडिग्रेडेबल ब्यागहरूमा अनुदानको व्यवस्था र पीईटी बोतलको खपत कम गर्न वडामा पानीका बोतल रिफिल गर्न मोबाइल पिउने पानीको व्यवस्था पनि मिलाइनेछ ।  प्लाष्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लाष्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति समेत अवलम्बन गरिने सम्झौतामा उल्लेख छ । यसमा प्लाष्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लाष्टिक फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लाष्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्दछ, प्रमुख आचार्यले भन्नुभयो, अहिले वास्तव मै प्लाष्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको छ ।” प्लाष्टिकको प्रयोगलाई अन्त्य गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धनको अभियानमा सामेल हुन उहाँले आग्रह समेत गर्नुभयो ।  स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै उहाँले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिनुभयो । महानगरपालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।

हेटौंडा : बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।   आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको १३ जिल्लाका पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको हो ।    मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले दिएको जानकारी अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।     चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले बताए ।   आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको बताए। उनले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थालाई समेत पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिए । 

काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसले गर्दा देशको पहाडी भू-भागहरूमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।    आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।   आज मंगलबार राती कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षा हुने महशाखाको बुलेटिनमा उल्लेख छ।   त्यस्तै बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।   बिहीबार राती पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हल्का पानी पर्ने छ।   शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही ठाउँमा मेघ गर्जन / चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

पोखराः    आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।   चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनीलगायत पीठमा आज विशेष पूजा हुन्छ । त्यस्तै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ । काठमाण्डौ उपत्यकाबाहिरका शक्ति पीठमा पनि आज पूजा तथा मेला लाग्ने गर्छ ।   चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । 

ताप्लेजुङ:    नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।  पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

पोखरा:  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या भने निकै अधिक अर्थात ३१९८ रहेका छन् । यसले सहकारी आवद्ध सदस्यहरु मध्ये युवाहरुको अवस्था हेर्दा केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविधालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्याँकले बताउछ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २३२४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् ।  ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्याँक सार्वजनक गरेको हो । साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विधालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचत कर्तालाई खुत्रुके बक्स वितरण, वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकासन, “सुन्दर भविष्यको लागि बचत”  शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका छन् । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिनेछ ।  त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्य बमोजिम नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शीप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउने गरि गोष्ठीको योजना बनाईएको छ ।