वालिङ: स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो । जिल्लाका ६८ हजार ९५९ घरपरिवार मध्ये ६१ हजार ६९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समावेश गरिएको छ । झण्डै छ हजारले मुलधाराको र एक हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्याङ्कको सुविधा र साधनमा ६५ दशमलव ७ प्रतिशत अर्थात् ४५ हजार २९३ परिवार काठ र दाउरा मार्फत खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको सङ्ख्या २२ हजार ६४३ रहेको छ । बायोग्यास र विद्युत प्रयोग गर्नेको सङ्ख्या करिब दुई प्रतिशत मात्रै छ । तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ३३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रूपमा दुई हजार छ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने एक प्रतिशत घरपरिवारको शौचालय नै छैन । बत्ती बाल्न प्रयोग हुने इन्धन तर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्याङ्कमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालीगण्डकी ए परियोजना’ मार्फत विद्युत प्राधिकरण र ९ दशमलव ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिशत घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् । जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ८ हजार घरपरिवारले ल्यापटप वा कम्प्युटर प्रयोग गरेका छन् भने करिब २ हजार घरपरिवारले कार, जिप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्याङ्कले देखाउँछ । साधन र सुविधा अन्तर्गत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् । रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाइल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ ।
बागलुङ: दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्। चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा बढी देखिन्छ। त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन्। उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक। पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन्। एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन। मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन्। डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ। दिनभरिमा दुई/चार वटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ। मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन्। उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ। चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन्। उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन्। विक भन्छन्,‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ।’ उनीहरुको समूहले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन्। सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन्। बडिगाडबाट चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको उनी बताउँछन्। चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर उल्लेख गर्छन्। उनी भन्छन्,‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून।’ केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले सानाठूला कुनैले पनि बजार पाएको छैन। आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ। बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन्। परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ। डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ। विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ। अचेल ठेकी पनि बिक्दैनन् त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन्। दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन्। उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन्। ठेकीसँगै मदानी पनि छन्। सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ। पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ। अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन्। पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन्।
फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकामा आन्दोलनकारीले तालाबन्दी गरेका छन्। ‘कोशी’ नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरहरूले तालबन्दी गरेका हुन्। पालिकाका सूचना अधिकारी रणजित आङ्बुहाङका अनुसार कार्यालयका तीनवटा कोठामा आन्दोलनकारीले तालाबन्दी गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित लेखा र योजना फाटको कार्यकक्ष बन्द गरिएको हो। फालेलुङका वडा कार्यालयहरूमा पनि तालान्दी गरिएको छ। तत्कालीन १ नं. प्रदेशका सम्पूर्ण पालिका बन्द गरिएको आन्दोलनरत पक्षका नेता मधु केरुङले जानकारी दिए। ‘हामी न्यायको लडाइँमा छौँ,’ केरुङले भने ‘कोशी नाम खारेज गरेर पुनः नामाकरण गर्नुपर्छ भन्ने माग राखेर पालिकाहरूमा कामकाज ठप्प पारेका हौँ।’ प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि शुक्रबारसम्म स्थानीय सरकारका कार्यालय बन्द गर्न आह्वान गरेको छ। ऐतिहासिक तथा पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधर आन्दोलित बनेका हुन्। ‘कोशी’ नाम खारेज गरी पुनः नामांकन गर्नुपर्ने संघर्ष समितिका संयोजक काङसोर तुम्बापोको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा मृत्यु भएपछि आन्दोलनरत पक्षले थप विरोधका कार्यक्रमहरू ल्याएको हो। लाजेहाङको मृत्युको छानबिन गर्न सरकारले एकतर्फी समिति गठन गरेकोप्रति उनीहरूले आपत्ति जनाएका छन्। ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, मृतक लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ।
पोखरा: पोखरा महानगर स्वास्थ्य महाशाखा अन्तरगत रहेको पोखरा महानगरपालिका –८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले कोरोनाकालमा प्रयोग गरिएका सिरिञ्जहरु जथाभावी फालेको पाइएको छ । महानरको महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड–१९ विरुद्ध लगाइएका सयौं सुई (सिरिञ्ज) तथा पिसिआर परिक्षण गरिएका किटहरु जथाभावी रुपमा डंगुर बनाएर राखेको पाइएको हो । कोरोना भाइरसको महामारीको समयमा पोखरा महानगरपालिकाले आफ्नो महाशाखा अन्तरगत विभिन्न वडाका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भ्याक्सिन (सुई) लगाउने प्रबन्ध मिलाएको थियो । सोही समयमा प्रयोग गरिएका सिरिञ्जहरु लगाइएकै स्थानमा डंगुर बनाएर राखिएको एक स्थानीयले सुनगाभा न्यूजसँग बताए । ‘त्यही ठाउँ हो कोरोनाकालमा भ्याक्सिन लगाएको, अहिलेसम्म पनि सुइको डंगुर देखिएको छ, उनले महानगरको स्वास्थ्य महाशाखालाई प्रश्न गरे, ‘यस्तो गम्भीर लापरवाही गर्न हुन्छ, स्वास्थ्य जस्तो संवेदनशील कुरामा ?’ पोखरा महानगरपालिका ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकै परिसरमा रहेको ट्रष्टभित्र नगण्य मात्रामा सिरिञ्जहरुको डंगुर मात्रै छैन यत्रतत्र छरिएका पनि छन् । यसले सो कार्यालयमा पुग्ने सेवाग्राहीलाईसमेत त्रसित बनाएको छ । सो केन्द्रको मुख्य गेट रहेपनि पछाडीपट्टी खुला रहेकाले लागुऔषधको प्रयोगकर्ताहरुको अखडा हुनेगरेको स्थानीहरुको गुनासो छ । कोरोनाकालको सिरिञ्जको डंगुर भएकौ ट्रसको भित्तमा लेखिएको छ, ‘गाँजा खाने ठाउँ’ । सोही स्थानमा बेलुकीपख लागुऔषध प्रयोगकर्ताहरुको अखडाकै कारण स्थानीयमा त्रास पैदा भएको बताउदै भने ‘दुईवर्ष भइसक्यो अहिलेसम्म पनि फालेको छैन । जहाँको त्यही छ, यसले त वातावरणीय प्रभाव पर्ने भो, स्वास्थ्यमा असर गर्ने देखियो । यस्तको कुरामा पनि किन लापरवाही गरेको होला ।’ सो डंगुरको विषयमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सुचना अधिकारी फुलदेव तिम्सिनासँग बुझ्दा अझैपनि कोरोनाकालको सिरिञ्जको डंगुर रहेको स्वीकार गरे । उनले विभिन्न कारणले गर्दा सिरिन्जको व्यवस्थापन गर्न नसकेको जवाफिए । ‘यो स्वास्थ्य कार्यालयको जिम्मामा परेको हो, मेडिकलजन्य फोहोरहरुलाई व्यवस्थापन गर्न भनेको छु, तिम्सिनाले भने, ‘मेडिकल वेस्टले केही दिनमा व्यवस्थापन गर्नेछ ।’ उनले सम्बन्धि कार्यालयलाई व्यवस्थापनका लागि खबर गरिसकेको बताए । ‘मैले उहाँहरुलाई खबर गरिसकेको छ । त्यसको छिटै उचित व्यवस्थापन हुन्छ, तिम्सिनाले भने ।’ हेरौं थप तस्बिरहरु:–
रामेछाप : रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो। श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए।
पोखरा: नेपाल बैंक लिमिटेडले पोखराको लेकसाइडमा ८ औं शाखा सञ्चालनमा ल्याएको छ । लेकसाइडमा शाखा बैंकिङ सञ्चालनमा ल्याएसँगै बैंकले पोखरामा आठौं शाखा सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद अधिकारीले सयुक्त रुपमा लेकसाइड शाखाको उद्घाटन गरेका हुन् । शाखा बैंकको औपचारिक उद्घाटन आज भएपनि गत भदौै देखि नै शाखा सञ्चालनमा रहेको नेपाल बैंक पोखराले जनाएको छ । नेपाल बैंक लेकसाइड शाखाको उद्घाट समारोहमा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल बैंकले पोखराको भित्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए । ‘नेपाल बैंकले पोखरामा ८ औं शाखा लेकसाइडमा विस्तार गर्दै पोखराको भित्रको आर्थिक समृद्धिको लागि सहयोग पु¥याएको छ, मेयर आचार्यले भने, ‘पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको छ, त्यसमा राष्ट्रबैंकले अनुगमन र नियमन गर्नुपर्ने देखिएको छ ।’ राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख आर्या जोशीले बैंकिङ शाखा विस्तारले मात्र जनता बैंकिङ पहुचमा सहजै पुग्न नसकेको बताईन् । ‘बैंकहरुको शाखा विस्तार भएको छ, तर भौगोलिक विविधताको कारण शाखामा पनि जनता सजिलै पुग्न सकेका छैेनन्, उनले भनिन्, ‘नागरिकलाई सुविधा सहितको शाखा विस्तारमा सबै बैंकहरुले ध्यान दिन जरुरी छ ।’ उनले कोभिड पछि अर्थतन्त्रमा असहज भएको र अहिले अर्थतन्त्र सुधार उन्मुख भएकाले बैशाखदेखि व्याजदर घट्ने समेत बताईन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक अन्य बैंक भन्दा भिन्न रहेको बताए । ‘नेपाल सरकार र नेपाली जनताको शेयर भएको नेपाल बैंक पहिचान सहितको बैंक हो, निर्देशक अधिकारीले भने, ‘यो बैंकको मुख्य लक्ष्य नागरिकलाई सेवा दिनु हो, नेपालको नाम जोडिएको बैंक भएकाले जनताको सेवामा सधै अगाडि बढेको छ ।’ कार्यक्रममा पोखरा महानगरपालिका ६का वडाध्यक्ष विष्णुबहादुर भण्डारी, नेपाल बैंक गण्डकी प्रदेशकी प्रमुख सचिता पराजुली, नेपाल बैंक भुतपूर्व कर्मचारी संघका राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालगञ्ज: रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना संक्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरुमा दैनिकजसो कोभिड संक्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरुमाथि कडा निगरानी थालिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । हाल आएर दैनिकजसो कोभिडका विरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरुलाई विशेष रुपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भैरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो । बाँकेमा गत केही महिना यता कोभिडका विरामीहरु फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड संक्रमण देखिन थालेको छ । नाकामा परीक्षण गर्दा संक्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । उहाँले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शंकास्पदहरुको कोभिड परीक्षण गर्दा संक्रमितहरु भेटिने क्रम बढ्दै गएको बताउनुभयो । चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड संक्रमण पुष्टि भएकाले उनीहरुबाट अन्यमा पनि संक्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । नाकामा परीक्षण गर्दा संक्रमण देखिएकाहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । संक्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ । भारतबाट फर्किनेहरुमाथि निगरानी बढाउने र शंकास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । फेरि कोभिड संक्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकबाट विविध निर्णय सहित कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वास गरी पहिलो दल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै जनताका विचमा गरेका प्रतिवद्धतालाई सत्तामा रहेका जनप्रतिनिधिहरुले विर्सन नहुने जानकारी गराए । “हामीले जनतासँग एउटा संकल्प गरेका छौं, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ । उनले भने, अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउछ ।” त्यसैगरी सभापति शर्माले नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु साझा रहेको र एउटै डुंगामा बसेको बताउदै पार्टीका कार्यकर्ता र सत्तामा रहेका जनप्रतिनिधिबाट एउटा संरचना बनेको छ । डुङ्गा पल्टेर डुब्दा डुङ्गामा रहेका सबै डुवेझैं कुनैपनि एउटा संरचनाले गलत गरेमा पार्टी र जनप्रतिनिधिलाई प्रत्यक्ष असर पार्ने भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका थिए । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ, सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन । बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्ने छ ।” पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्छ । जसले पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उनले वैठकमा जानकारी गराएका थिए । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशिल व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने वैठकबाट निर्णय भएको जानकारी गराएका थिए । साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए । वैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरण बावु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्नुका साथै कार्यसम्पादन समितिले प्रस्तावहरुलाई सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाको भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहमहामन्त्री रमेश कुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा.टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । उपमेयर गुरुङले मानिसका आवश्यकता दिनप्रतिदिन वढ्दै जाँदा गास वास कपास पछि शिक्षा, स्वास्थ्य र रोजगार पनि थपिदै गएकोले अब आय आर्जनका कार्यमा महिलाहरु लाग्नु पर्ने वताउनु भयो । साथै उहाँले समाज भवन वनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई एस टि. पल, गोविन्द तुलाचन (गोपी), पार्वर्ती आमा समुह, लेखमाया थापामगर, जितबहादुर मोक्तान, जितबहादुर तामाङ, मनमाया गुरुङ, नीरमाया मोक्तान र टौकुमारी पुनमगरलाई दोसल्ला, अविर र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । करिब १४ लाख लागतमा समाज भवन वनेको हो । सो अवसरमा पुर्व प्रदेश सांसद प्रभा कोइराला, पोखरा महानगरपालिका वडा नं. ९ की कार्यबहाक अध्यक्ष लक्ष्मी पहारी, राष्ट्रिय महिला अधिकारकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, कार्यपालिका सदस्य गोविन्द तुलाचन (गोपी), नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रेमबहादुर गुरुङ, भुमि अधिकार तथा श्रमिकसंघ कास्कीका अध्यक्ष टेक बहादुर प्ुन, गणतान्त्रिक टोलविकास संस्थाका अध्यक्ष कृष्ण परियार, दलित सन्जाल पोखरा ९ का सचिव विकास आनन्द, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ सरु लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर मोक्तानले स्वागत र संचालन सचिव लेखमाया थापामगरले गरेकी गर्नुभएको थियो ।

