प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्।    मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच भएको सहमतिमा हस्ताक्षर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्दै आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने तयारी रहेको बताएका हुन्।    पीडितहरू सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरूद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा छन्।    उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या साझा सरोकारको विषय भएको बताउँदै सरकार गम्भीर रहेको र चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।    ‘प्राविधिक रूपले अहिलेको सन्दर्भका कारणले दुई पक्षबीच सहमतिको हस्ताक्षर गर्नुपरेपनि यो विषय साझा सरोकारको विषय हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्दा पनि मिटरब्जायको समस्या हुनुले आर्थिक पाटो मात्रै नभई बहुआयामिक पाटोमा असर पर्छ। हामी हरहालतमा समाधान गर्छौँ।’   उनले मिटरब्याज पीडितको आन्दोलन न्यायपूर्ण आन्दोलन भएको र पीडित पक्षसँग गरिएको सहमति चाँडै कार्यान्वयन हुने विश्वास दिलाए।  ‘सहमति कार्यान्वयनको प्रक्रियामा फेरि मिलेर काम गर्नुपर्ने हुन्छ, समन्वय गरेर काम गर्नुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।    उनले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए। 

काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ।    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो।   ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र बागमती प्रदेश–०३–००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटका २६ वर्षीय अर्जुन लामालाई पक्राउ गरेको हो।   ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गए राति १० बजेदेखि १२ बजेसम्म २१ सवारी साधनमा गरेको जाँचका क्रममा चार चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।    नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रवक्ता भट्टले बताए। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको सो कार्यालयले जनाएको छ।  

काठमाडौं : आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ।   शनिबार उनीहरूबीच पाँच बुँदे सहमति भएको हो। जसअनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७९/०५/२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ।   त्यस्तै मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च व्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरव्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भएपश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।   मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी/गुनासोलाई सम्बोधनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको प्रतिनिधि समेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने । उक्त समितिले बुँदा नं. २ बमोजिम गठन हुने आयोगको कामलाई सहयोग र सहजीकरण गर्ने, पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानूनी सहायता तथा सचेतनाको लागि सहजीकरण गर्ने सहमतिमा पत्रमा उल्लेख छ।   त्यस्तै अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी कार्यलाई कसूर कायम गर्ने गरी सम्बन्धित कानूनमा संशोधन प्रक्रिया अगाडि बढेकोले उक्त संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुऱ्याउन नेपाल सरकारलाई अनुरोध गर्ने र बुँदा नं. २ बमोजिमको आयोग गठनको निर्णय भएसँगै मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।    वार्तामा सरकारका तर्फबाट सहसचिव प्रदीप कुमार कोइराला संयोजक र सदस्यमा उपसचिव उमाकान्त अधिकारी, दिल कुमार तामाङ र प्रहरी उपरीक्षक दिनेश राज मैनाली रहेका थिए भने संघर्ष समितिको तर्फबाट मनोज पासमान, श्याम कुमारी चौधरी, संघर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमान रहेका थिए।

रामेछाप : खाँडादेवी गाउँपालिका राकाथुमको पिपलबोटमा बोलेरो दुर्घटना भएको छ।   बा१६च ३८२५ नम्बरको बोलेरो गाडी करिब ३ सय मिटर भिरबाट खसेर दुर्घटना भएको पूर्व वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए।    दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक बालकसहित दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। अन्य तीन जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ।

काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८ र एन्टीजेनबाट ५३८ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा सात जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौँ: नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको छ ।   शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् ।    वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।   भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।     कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।   भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ।   ‘संक्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं,’ उनले भने।   भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ। संक्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो।    भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ।   ‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौं,’ उनले भने।    चैत सुरू भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ।   सीमानाकामा परीक्षण गर्दा दैनिक रुपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ।    नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।   जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।   संक्रमित भेटिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो    सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ। नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरूषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।    दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरूषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ।   ‘संक्रमित मान्छे जात्रामा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि संक्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो,’ उनले भने।     भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना संक्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ।    सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा स‌ंक्रमित भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ।  

ताप्लेजुङ:  ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो ।   ताप्लेजुङमा शुक्रबार साँझपछि वर्षा भएको र वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । स्थानीयका अनुसार शुक्रबार राति उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । अहिले हिउँ पर्ने मौसम नभए पनि वर्षा हुनासाथ हिमाली भेगमा हिमपात भइहाल्ने गरेको स्थानीय बताउँछन् ।    जिल्लाको हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोला बस्ती, याङ्मा लगायतमा हिउँ परेको स्थानीयले बताएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार शुक्रबार साँझपछि बाक्लो हिउँ परेको छ । फलेसहित घुन्सा र ग्याब्ला बस्तीसम्म नै हिउँ परेको शेर्पाले जानकारी दिनुभयो ।    जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४२०० मि.उचाइ) मा निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोलामा पनि निक्कै हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । यस्तै तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती क्षेत्र गुफापोखरी, मिल्के क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।    मैवाखोला गाउँपालिकाकै फाकुम्बा सिरान, मिक्वाखोलाको पापुङ तोक्पेगोला, फक्ताङ्लुङको मानाभरा क्षेत्र सिरिजङ्घाको याम्फुदिन, मामाङ्खेलगायत अधिकांश स्थानीय तहका उच्च हिमाली भेगमा हिमपात भएको छ । त्यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदी बस्तीसम्म नै बाक्लो हिउँ परेको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो ।    यस वर्षमा हिउँद मौसमभर हिमपात र वर्षा भएको थिएन । हिउँद मौसम सकिएपछि निरन्तरजस्तै वर्षा र हिमपात हुँदा राहत नै मिलेको किसानहरू बताउँछन् । तर बेमौसमी हिमपातले भने चिसो अझै नहटेको स्थानीयको भनाइ छ । यस्तै बेमौसमी निरन्तरको हिमपातले हिमाली क्षेत्रका बासिन्दाको जनजीवनलाई प्रभावित बनाइरहेको छ ।    यसअघि गत फागुन १४ गते हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो । विगतमा मङ्सिरपछि सुरु हुने हिउँद मौसमसँगै हिमपात हुने गरेकोमा पछिल्लो समय मौसम बितिसकेर बेमौसमी हिमपात हुँदा वातावरण असन्तुलित भई मानव जीवनशैली र प्राणी जगतमा असर पुग्ने बताइन्छ । यता, शनिबारको मौसम पनि धुम्मिएकाले हिमपातको सम्भावना अधिक रहेको स्थानीय बताउँछन् । 

पोखरा:   काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ ।   पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटसँगको साझेदारीमा सेवाा दिने भएको हो ।   इडु ब्रिज कन्सल्टेन्सीले सेवा प्रदान गर्ने इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षेत्रीले विदेशमा उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए ।    उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुका लागि इडु ब्रिज कन्सल्टेन्सीले काठमाडौंबाट सेवा प्रदान गर्दै आएको बताउदै अबको दिनमा पोखरेली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको जानकारी दिए । ‘विगत २२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिदैं आएका छौं । निर्देशक क्षेत्रीले भने, ‘युके, युसए, अष्ट्रेलिया, क्यानडा र भारत लगायतका देशमा अध्ययनका लागि धेरै विद्यार्थीहरु राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं  । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’   इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् ।    निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्यूजिल्याण्ड, नेडरल्याण्ड, युके, युसए, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपी निगाता जापानका लागि ब्राण्ड बनिसकेको छ ।    आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्राण्ड बनाउनका लागि इडुुसँग सहकार्य गरेको निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।    उनले विद्यार्थीहरुलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउदै अन्य मुलुकहरुमा पनि जान चाहने विद्यार्थीहरुलाई मौका दिदैं आएको जानकारी दिए । ‘हामीले जापानसँगै युरोपका विभिन्न मुलुकहरु युके, क्यानडा अष्ट्रेलिया लगायतका देशहरुमा पनि पठाउदै आएका छौ । तरपनि निगाता जापानको ब्राण्ड बनिरहेको छ, उनले भने, अबका दिनमा हामी इडु ब्रिजसँगको सहकार्यमा जापान लगायत अन्य युरोपका मुलुकमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्नेछौं ।’