प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

दोलखा : दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।   यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।  

काठमाडौँ:  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ।   जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।    उहाँले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताउनुभयो। सञ्चालनमा ल्याइएका दुईवटा धाराबाट आगन्तुक, सेवाग्राही र कर्मचारीले पानी खान सक्नेछन्।    निवर्तमान खानेपानी मन्त्री खानले जार तथा बोतलको पानी विस्थापित गर्ने कार्यलाई मन्त्रालयले प्रमुखताका साथ अगाडि बढाएको बताउँदै अबको केही महिनाभित्र नै पानीको मूल्य घटाएरै छोड्ने प्रतिबद्वता व्यक्त गर्नुभयो। मन्त्रालयले बजारमा जार र बोतलको मूल्य घटाउने सम्बन्धमा समेत काम गरिरहेको उहाँको भनाइ छ।   पानीमा धनी हुँदाहुँदै पनि किनेर खानु दुःखको विषय भएको बताउँदै उहाँले दुईदेखि साढे दुई वर्षभित्रमा तराई मधेशमा र पाँच वर्षभित्र मुलुकभरि नै पानीको समस्या समाधान गरी नेपालको पानी विदेश निर्यात गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो।   ‘एक घर एक धारा’ अभियान   सो अवसरमा निवर्तमान मन्त्री खानले मुलुकभरि नै ‘एक घर एक धारा’ अभियान सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले एक घर एक धारा अभियानका रूपमा काम अघि बढाइसहेका छौँ। हाम्रो मन्त्रालयको निम्ति मैले सोचेअनुसार ऐतिहासिक काम हो। यहीअनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’’   खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो।    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले सञ्चालनमा ल्याइएको धाराको पानी प्रत्यक्ष रूपमा खान हुनेगरी पूर्ण रूपमा शुद्ध रहेको बताउँदै सो धारा २४सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो।   काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नयाँ बानेश्वर केन्द्रका प्रमुख विजय विश्वकर्माले सिंहदरबारभित्र तत्काल थप तीन ठाउँमा सार्वजनिक धारा सञ्चालनमा ल्याउने योजना रहेको र अबको १० दिनभित्र ती धारा सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार अब गृह मन्त्रालय, खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा सार्वजनिक धारा जडान गरिने भएको छ।

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।   फोनिज संघीय समितिका सल्लाहकार हुम गुरुङ फोनिज संघीय समिति संगठन विभाग सदस्य आशिफ गुरुङ, संघीय सदस्य मिला दरै, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगर तथा गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागितामा  पोखरामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।   सो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको बताउदै ७ सदस्यीय सल्लाहकार चयन गरेको महासचिव धन बहादुर गुरुङ (सुमन) ले जानकारी दिए ।    उनका अनुसार सल्लाहकारमा अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुनाकुमारी गुरुङ, अधिवक्ता मनोज घर्तीमगर, अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शान्ती गुरुङ, रुद्र बहादुर हितानमगर र राज बहादुर गुरुङलाई चयन गरिएको हो ।   यस्तै सो बैठकले विभिन्न ६ विषयगत समिति गठन गरि विभिन्न पदाधिकारीलाई नेतृत्वको जिम्मेवारी दिएको गुरुङले बताए । उनले संगठन विभाग प्रमुख सचिव विजय रानालाई चयन गरेको जानकारी दिए ।    महासचिव गुरुङका अनुसार प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष खिमा गुरुङ, महिला विभाग प्रमुखमा उपाध्यक्ष सूर्य कुमारी महतो, अनुशासन विभाग प्रमुखमा सदस्य मणिलाल गुरुङ, जनसम्पर्क तथा प्रकाशन विभाग प्रमुखमा सचिव अर्जुन गाहा (सुशान्त) मगर र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष रत्ना गुरुङलाई चयन गरिएको थियो ।   जिल्ला समितिलाई सुदृढिकरण गर्न जोड     पोखरामा सम्पन्न फोनिज गण्डकीको तेस्रो पूर्ण बैठकले जिल्ला समितिहरुलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएको  छ ।   संघीय सल्लाहकार हुम गुरुङले फोनिज गण्डकीको गतिविधिसँगै जिल्ला स्तरीय समितिहरुपनि सक्रिय हुनुपर्ने बताए । उनले ‘फोजिनको अभियान, सञ्चारमा पहिचान’ भन्ने नारालाई सार्थक बनाउनका लागि जिल्ला स्तरिय समितिलाई सुदृढिकरण गर्न आवश्यक रहेको बताए । गुरुङले समितिहरुलाई पुर्नताजकिकरण गर्नका लागि अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।   यस्तै फोनिज केन्द्रीय समितिका संगठन विभाग सदस्य आशिफ गुरुङले स्थानीय तहका सरकारलाई समन्वय गर्दै कार्यक्रम गर्न सकिने बताए । ‘स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्न सकिन्छ, उनले भने, ‘आदिवासी जनजाति पत्रकारहरुकै क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न सकिन्छ । जिल्लाका नेताहरुले त्यता पनि ध्यान दिन आवश्यक छ ।’   उनले जिल्ला समितिलाई सक्रिय बनाउका लागि केन्द्रीय समिति सधै तत्पर रहेको बताएका थिए ।    यसैगरी फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगरले फोनिज गण्डकीले अन्य पत्रकार समुह भन्दा क्रियाशिल रहेको उल्लेख गरे ।   उनले गण्डकी  प्रदेशमा विभिन्न पत्रकारहरुको संगठन रहेको बताउदै फोनिजले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम सम्पन्न गरिसेको बताए । ‘अहिलेसम्म हामीले करिब आधा दर्जन कार्यक्रम जो पत्रकारकै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पर्यटकीय गाउँमा सम्पन्न गरिसकेका छौं, उनले भने, ‘यसले हामी फोनिजकर्मी पत्रकारको मात्रै होइन गैर फोनिजकर्मी साथीहरुपनि लाभांवित हुनुहुन्छ । त्यसैले यो गण्डकीको टिमले जस्तै जिल्लाले पनि रचनात्मक काम गर्न सकिन्छ । त्यसको लागि हामी जे पनि सहयोग गर्न तयार छौ ।’   इन्चार्थ मगरले जिल्ला समितिलाई सक्रिय बनाउनका लागि छिटै संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने धारणा राखे ।   उनले प्रदेशको समिति र संघीय समितिका प्रतिनिधिहरुको टिमले विभिन्न जिल्लामा पुगेर प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने बताएका थिए । सो पूर्ण बैठकमा गण्डकी प्रदेशका विभिन्न जिल्ला समितिका अध्यक्षहरुले विभिन्न समस्याका कारण अन्य पत्रकार समुहको तुलनामा काम गर्न कठिन हुने गरेको टिप्पणी दिएका दिए ।    सोही टिप्पणी र गुनासोका आधारमा फोनिज गण्डकीले जिल्लागत समितिलाई सक्रिय बनाउनका लागि फोनिज संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ  ।   फोनिज गण्कडीका अध्यक्ष रुद्र बहादुर श्रीसमगरको सभापतित्वमा सम्पन्न बैठककको सञ्चालन महासचिव धन बहादुर गुरुङ (सुमन) ले सञ्चालन गरेका थिए ।  

वीरगन्ज : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो।   पक्राउ पर्नेहरुमा छिपहरमाई गाँउपालिका ४ का २२ वर्षीय चन्दनकुमार साह, २० वर्षीय अरबाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।   जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा  तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।    यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो।   त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षीय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षीय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए।    गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 

काठमाडौँ:  सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।   शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटर ब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो आश्वासन दिनुभएको हो ।   उहाँले मिटर ब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनु भयो । उहाँले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पार्नुभयो ।    प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘ र्‍यापिड एक्सन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटर ब्याज पीडितहरूलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यस पटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।   मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्री स्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्न सक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढी सकेको छ ।   त्यसलाई र्‍यापिड एक्सन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् ।’ प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरू राखेका थिए । उहाँहरूले आफ्ना ६ वटा मागहरू पूरा सम्बोधन भएपछि मात्रै काठमाडौँ छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गर्नुभएको छ ।

काठमाडौं : नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।   कोभिड–१९ महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय नाका खुल्ला गरेको लामो समय भएपनि चीनका सिमा नाका पूर्ण सञ्चालनमा आउन सकेका थिएनन्।  तीन वर्षपछि चरसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।   दूतावासले नाका सञ्चालन भएसँगै द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेको छ। केही दिनअघि नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरुको माग राखेका छन्।   शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।   पीडितहरुले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए।    यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितहरुको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरुले बताएका थिए ।    उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्।    आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरु समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितहरुको माग छ।    त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्।    तमसुकका आधारमा चलाइएका मुद्दाहरु स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्।    पीडितहरुलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरुको माग छ।   मिटरब्याजी साहु महाजनबाट पीडित महिलाहरु बलात्कृत भएको बताउँदै उनीहरूले पीडितको किटानी जाहेरी दर्ता गरी तत्काल पक्राउ गर्न माग राखेका छन्।   आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट  घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन्।    प्रधानमन्त्री प्रचण्डले पीडितहरूकाे मागप्रति आफू सकारात्मक रहेको र सरकारले चाँडै न्याय दिने ढंगले अगाडि बढेको बताए। 

त्रिशूली: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।   बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।    उहाँको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।   जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।      रातिको समयमा पनि देशभर बदली रहनुका साथै पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।   आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर हल्का वर्षाको  सम्भावना रहेको छ । बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौँमा ८ मिलिमिटर वर्षा भएको छ ।