पोखरा: शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा पोखरा महानगरपालिका वडा नं. २८ स्याङखुदीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा १९६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । ६६ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शिविरमा युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि(युआरएल) ,त्रिनेत्र आँखा उपचार केन्द्र र लेकसिटी दन्त क्लिनिकको प्राविधिक टोलीले विरामीको लागि स्वास्थ्य परामर्श, रक्त, आँखा, दाँत र मुख परिक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गरिएका मध्ये ५० जना विरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको सहकारी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । सिफारिस गरिएका विरामीलाई सामान्य शल्यकृया गर्नुपर्नेका लागि सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने बताउदै परिक्षण गरिएको कार्डको आधारमा रक्त परिक्षणमा ५० प्रतिशत खर्च सहकारीले व्यहोर्ने बताउनुभयो । कार्यक्रम संयोजक सितादेवी बरालका अनुसार वेगनासतालको जलाधार क्षेत्र स्याङखुदीमा आयोजित शिविरमा पोखरा २८ र ३१ का स्थानीयवासिन्दाले सुविधा लिएका थिए । शिविरमा ६२ हजार मुल्य बरावरको औषधि निशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले शिविरको उद्घाटन गर्दै सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव स्वास्थ्यतर्पm पु¥याएको योगदानको उच्च कदर गर्दै सहकारी उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो । सहकारी अभियान्ता तेजनारायण अधिकारीले ऐन, नियम, कार्यविधिको भावना र र्ममलाई आत्मसाथ गरेर अघि बढ्ने सहकारी सफल हुने विश्वास व्यक्त गर्दै दिगोपनका लागि शेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पौडेल, स्थानीय समाजसेवी भोजराज भुर्तेल, व्यवस्थापक कमलप्रसाद कोइराला, सल्लाहकार चुडामणी बराल लगायतले स्वास्थ्य शिविरको महत्व माथि चर्चा गदै सहकारीको दिगोपनका लागि संचालक, व्यवस्थापक शेयर सदस्य सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
काठमाडौं: इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' को निर्णायकमा गायक दीप श्रेष्ठ भित्रिएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीले निर्णायकमा दीप श्रेष्ठ भित्रिएको जानकारी दिए। यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सुरेश अधिकारी, अन्जु पन्त र सुजता बर्मा निर्णायकको रूपमा छन्। यस्तै कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले होस्ट गर्नेछन्। उक्त कार्यक्रममा निर्णायक र होस्टसँग कागजी सम्झौता समेत गरिएको थियो। इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन गरिरहेको छ। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रसारण हुनेछ। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। यस्तै ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। ‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हन्छन्। कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा ६७ वर्ष नाघिसके ।उमेरले सात दशक लागेपनि जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम्ता छैन। टीकारामले खेतबारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो। साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ। सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । परिवार पाल्नका लागि ज्याला–मजदुरी र निमेक गरेकाे उनी बताउँछन्। तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भएका छन्। उनले अहिलेको सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ। जीन्दगीमा के चाहीँ गरिएन? सबै काम गरियो तर, तरकारी खेतीबाट सुख, सन्तुष्ट र खुशी सबै मिल्यो। उनीसँग आफूले दुखजेलो गरी उत्पादन गरेको तरकारी नबिकेको तितो सम्झना पनि छ । ०४८÷०४९ तिर गोलभेँडा, काउली र मसला बिक्री गर्न बागलुङ बजार पुगेका थिए, तर बिक्री भएन। आफ्नो उत्पादन बिक्री नहुँदा टीकाराम निराश भए। तर, हिम्मत नहारी आफ्नो कामलाई निरन्तरता दिए र प्रतिफल पनि राम्रै पाउँदै आएका छन्। ‘यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ,’ उनले भने। टीकारामका सात सन्तान छन्। तरकारी खेतीबाटै भएको आम्दानीले उनले आफ्ना सात सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेका हुन्। तरकारी खेतीबाटै भएको आम्दानीले अहिले उनले राम्रै ठाउँमा सात रोपनी जग्गा किनेका छन्। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्। ‘अहिले त्यति धेरै आर्थिक समस्या छैन। यी सबै उपलब्धि मैले कृषि पेसाबाटै पाएको हुँ,’ टीकाराम सुनाउँछन्। सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्। त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ। कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ। सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक तीन लाखसम्म बचत गर्दै आएका छन्। तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन्। श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ । उनी भन्छिन्, ‘पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्यौँ।’ उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन्।
साउदी : बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो। पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो। पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्।
काठमाडौँ: इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ । हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ । खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।
काठमाडौं:हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताय सफा रहने जानकारी दिएको छ। आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तो रहनेछ आगामी तीन दिनको मौसम २०७९ चैत १९ गते (आइतबार) दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। २०७९ चैत २० गते (सोमबार) दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। २०७९ चैत २१ गते (मंगलबार) दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

