काठमाडौं: नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडामा सरकारले गरेको सो परिपत्र फिर्ता लिएर संविधान सम्मत ढङ्गले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराईन् । उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराईन् । सांसद भट्टराईले भनिन्, ‘‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडामा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ। परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानीसंहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’’ सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता उनीको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताईन् ।
काठमाडौं : थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४०२ नमूना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७२ र एन्टीजेनबाट ११३० नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट २२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले बताएको छ। चैत २४ गतेदेखि उपलब्ध हुने उक्त अफर महिना ९० दिनसम्म लागू हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले बताएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। साथै, एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन्। यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा ५०० एमबी डाटा प्रयोग गर्न सकिनेछ। यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, ५०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि १०० एमबी डेटा चलाउन नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध रिचार्जमा महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ। बोनस प्राप्त भएका तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमको भनाइ छ।
रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन्। स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए। बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्। घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ।
पोखरा: पोखरा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन चैत २५ र २६ गते पोखरामा हुँदै छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको आज (बिहीबार)पोखरामा पत्रकार सम्मेलन गदैं महाधिवेशनको तयारी पूरा भएको अध्यक्ष अर्जुन चोखालले जानकारी दिए । ‘मुलुक संघीय संरचना अनुसार गठित भएपछि होटल व्यवसायीहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउने लक्ष्य हो, चोखालले भने, ‘ चैत २५ र २६ गते हुने प्रथम महाधिवेशनमा गण्डकीका ११ जिल्लाका १ सय २० जना प्रतिनिधि पर्यवेक्षकहरुले भाग लिनेछन् ।’ उनले होटल व्यवसायी महासंघ गण्डकीको प्रदेशको महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए । महासंघ गण्डकीका अध्यक्ष चोखालले महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेको बताए ।‘महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेका छौं, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बसोबास गर्ने जातजातिका मौलिक संस्कृति झाँकी प्रस्तुत गर्ने छौं ।’ उनले भने । होटल रेष्टराँ तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा स्थापित होटल व्यवसायी महासंघ गण्डकी प्रदेशमा ६ हजार ५० बढी होटल सञ्चालनमा रहेको जनाएको छ । अनमानित ५४ हजार बढीलाई रोजगारी दिएको महासंघ गण्डकीले होटल व्यवसायमा ६२ अर्व लगानी रहेको र अहिले त्यो बढेर गएको अध्यक्ष चोखाले बताए । पोखरामा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनले आगामी तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ ।
काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार ८ अंक बढिले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले घटेर ३५३.०३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेको थियो। सो दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो। दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शनको ९.९८ र सिटिजन्स म्युचुअल फन्डको ९.९४ प्रतिशतले बढ्यो। स्यामलिङ पावर कम्पनीको ७.४३ प्रतिशतले सेयर मूल्य घटेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीषस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ९२ लाख ६७९ रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १० को घट्यो भने ३ को मात्रै बढ्यो। बैंकिङ उपसमूह,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ० प्रतिशत बढिले बढेको हो।
सुर्खेत: पछिल्लो समय राउटे समुदाय सङ्कटमा पर्न थालेको छ। राउटे समुदायमा समस्या बढ्दै गए पनि उनीहरुका पक्षमा सरकारी लगानी भने घट्दै गएको छ। जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायलाई सरकारी तथा गैर सरकारी संस्थाले उत्थानका नाममा गरिएका सहयोगले राउटेले आफ्नो मुल पेशा नै बिर्सन थालेका छन्। फरक खालको संस्कृति बोकेका राउटे यिनै संस्थाका कारण अहिले आफ्नो अस्तित्व मास्ने मात्रै होइन परनिर्भरतामा धकेलिदै गएका छन्। यति मात्रै होइन राउटेको प्रजनन स्वास्थ्यमा समेत असर पर्दै जाँदा जनसङ्ख्यासमेत घट्दो क्रममा छ। कानुनी रुपमा नागरिकता प्राप्त नगरे पनि राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको छ। सरकारले मासिक सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउँदै आएको छ। तर त्यो रकम मदिरा तथा सुर्तीजन्य पदार्थमा खर्च गर्ने बानी राउटे समुदायमा बढ्दै गएको छ। पैसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय काठका सामग्री बनाएर अन्नसँग साटेर जीविको पार्जन गर्थे। तर संरक्षित जंगलमा काठ काट्न नपाएपछि उनीहरुको पेशा सङ्कटमा परेको छ। उनीहरुलाई प्रकृतिसँगै रम्न नदिएर सामाजिकीकरण गर्न थालियो। तर पछिल्लो समय उनीहरुले आफ्नो पम्परागत पेशा सङ्कटमा परेपछि माग्ने र सरकारले दिने भत्ताले जीविकोपार्जन गर्दै आएका छन्। राउटे समुदायको परिवर्तनका लागि काम गरेका विभिन्न सङ्घ संस्थाले उनीहरुलाई खाद्यान्न, पैसा सहयोग गर्दै आएका छन्। पहिले मदिरा नखाने राउटे मदिराको लतमा लागेका छन्। पैसा तथा अन्नपात माग्नका लागि गाउँ शहर पसे। उनीहरुले पैसा पाउन थालेपछि मदिरा खान थालेका छन्। जसले गर्दा आर्थिक प्रलोभनमा पर्दा उनीहरु असुरक्षित बन्दै जाँदा पछिल्लो समय कर्णाली प्रदेश सरकारले राउटे लक्षित बजेट घटाउँदै गएको छ। २०७८ सालमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लोपोन्मुख राउटे समुदायको संरक्षण र संवर्धन गर्न भन्दै एकीकृत नीति ल्याउने योजना बनाएको थियो। यो अहिलेसम्म पनि योजना मै सीमित भएको छ। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले नीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र विज्ञको सुझाव लिने काम भइरहेको बताउनुभयो। सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वापत चार हजार रुपियाँ नगद दिनुको सट्टा उनीहरुलाई काठका भाडा बनाउन चाहिने सामग्री खरिद गरिदिनुपर्ने अधिकारकर्मी हिरासिंह थापाले जानकारी दिनुभयो।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्। उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए। ‘प्रदेश दुई कारणले मात्रै आवश्यक छ। एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ। संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ उनले भने। सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बताए। हालका प्रधानमन्त्री र यसअघिका प्रधानमन्त्रीहरूले विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्ने उनले बताए। ‘त्यो पैसा कहाँ गयो ? एकएक हिसाबकिताब अहिलेको प्रधानमन्त्री र आजसम्म भएका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ शाहीले भने।
काठमाडौं : लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ। विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ। नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो। बाढीले क्षति पुर्याएका टावरको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत् आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो। वैकल्पिक व्यवस्थाका रुपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको थियो। टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए। प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन्। निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ। उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ। यसका लागि निर्माणाधीन दुई सय २० केभी मर्स्याङ्दी करिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ। निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ। करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो। प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ। आयोजनाले नै कीर्तिपुरमा एक य ३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ। विसं २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका चार वटा टावर २०७८ को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो। आयोजना २०७४ सालमा सुरु गरिएको थियो।

