मुस्ताङ: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले मित्रराष्ट्र चीनसँग जोडिने कोरला नाकाको स्थलगत अवलोकन गर्नुभएको छ । विभिन्न कार्यक्रमसहित मुस्ताङ पुग्नुभएको मन्त्री गाहामगर नेतृत्वको टोलीले सीमाको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री गाहामगर नेतृत्वको टोलीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले सीमा र गाउँपालिकाको समस्याको बारेमा जानकारी गराएका थिए । स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले कोरला नाकालाई सञ्चालनमा ल्याएको खण्डमा प्रदेशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो । उहाँले सो नाकाको अवलोकन गर्न पहिलेपनि गएको बताउदै संघीय सरकारले नीतिगत रुपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट सो नाकामा भौतिक संरचना निर्माणका लागि रकम विनियोजन भएको बताउनुभयो । अवलोकनका क्रममा मन्त्री गाहामगर नेतृत्वको टोलीलाई चिनियाँ सीमा सुरक्षामा रहेका प्रहरी टोलीले खादा लगाएर स्वागत गरेका थिए । सो अवलोकनमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, मन्त्रालयका सुचना अधिकारी शिव लम्साल, अन्य शाखा अधिकृतहरु तथा लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष, सदस्यहरु साथै स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता तथा रोशन बहादुर गाहा थापाले आम नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनुभएको छ । मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासु जस्तै सम्बन्ध रहेको बताउनुभएको हो । उहाँले आपराधिक क्रियाकलाप रोक्नका लागि नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै प्रहरीसँगको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्नुभयो । ‘सचेतना र अन्तरक्रिया कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सामिप्यता कायम गर्न सहयोग गर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘नागरिक सचेत भएर समयमै सुचना दियो भने संभावित घटना रोकिन सक्छ । त्यसैले नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै छ ।’ मन्त्री गाहामगरले नेपाल प्रहरीले अघि सारेका कार्यक्रमहरु मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘नागरिकका लागि ल्याउनुभएको यी कार्यक्रमहरु अत्यन्तै राम्रा र उपयोगी छन् तर यी कार्यक्रमहरुको कार्यान्वयन हुन अति आवश्यक छ’ उहाँले भन्नुभयो । मन्त्री गाहामगरले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गराउनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले पछिल्लो समय प्रहरीको कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुहुदै आम जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो । मन्त्री गाहामगरले अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न र समस्यालाई व्यवस्थित तरिकाले सम्बोधन गर्न पहल गर्ने बताउनुभएको थियो । यस्तै जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले नेपाल प्रहरीसँग मुस्ताङबासी सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले भौगोलिक अवस्थाका कारण मुस्ताङमा सुरक्षाकर्मीहरुलाई काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो । उहाँले अन्य जिल्लाका प्रहरीहरुलाई भन्दा तुलनात्मक रुपमा सेवामा वृद्धि गर्न अपरिहार्य रहेको बताउनुभएको थियो । सो नागरिकमैत्री प्रहरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले मुस्ताङमा रहेको विभिन्न क्षेत्रको समस्याबारे जानकारी गराएका थिए । उक्त समस्याहरुलाई स्थानीयहरुकै सहकार्यमा समाधान गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । उहाँले स्थानीय स्तरबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, घरपझोङ गाउँपालिकाका प्रमुख मोहन सिं लालचन लगायतले बोलेका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव बद्रीनाथ अधिकारीको सभापतित्वमा सम्पन्न नागरिकमैत्री प्रहरी कार्यक्रमको सञ्चालन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले गर्नुभएको थियो ।
काठमाडौं: गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो । विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुदै अहिले महासचिव पदमा कार्यरत छन् । एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो । सो समितिले झन्डै दुई करोड़ भन्दा माथिको रकम अनियमिता भएको प्रतिवेदन सार्वजनीक गरेको थियो । श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । उनले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गरेका हुन् । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
मुस्ताङ: हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक बसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा सुरक्षा बैठक बसको हो । सो बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई छिटो छरितो, ढिलासुस्ती, आलटाल नगरिकन जनताका समस्यालाई सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गर्नुभएको थियो ।
पोखरा: नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखराको बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई प्रकाउ गरेको छ । प्रहरी अनुसन्धानका अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेपछि २१ वर्षे ढकाललाई प्रकाउ गरेको हो । ढकाल स्याङ्जाको वालिङका हुन् । केही समययता पोखरा १६ मै बस्दै आएका थिए । साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त कार्यमा उनको संलग्नता पुष्टि भएपछि उनलाई ब्युरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा सम्मानित जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङ: गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुस्ताङको तीनवटै सुरक्षा निकायलाई हिमाली क्षेत्रमा विपद् उद्धारका विभिन्न सामग्रीहरु सहयोग गरेको छ । हिमाली क्षेत्रमा आकस्मिक उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मुस्ताङमा कार्यरत नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरीलाई सहयोग गरेको हो । सो सामग्रीहरु गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापाले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद र नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्नुहुदै हिमाल पारीको जिल्ला मुस्ताङका नागरिकहरुलाई शान्ति सुरक्षा एवम् प्राकृतिक विपद्मा उद्धार गर्न सो सामग्रीहरुले सघाउ पुग्ने बताउनुभयो । उहाँले वितरण गरिएको सहयोग सामग्री पर्याप्त नहुने बताउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । मन्त्री गाहामगरले सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ देश र जनताप्रति ज्यूधनको शान्ति सुरक्षा कायम गर्न इमान्दारिताकासाथ अहोरात्र लाग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । तीनवटै सुरक्षा निकायलाई विपद् उद्धारमा आवश्यक पर्ने पोलोराइज चस्मा, गिरगिरी बेली डिभाइस, एयर फोर्स एट, एरो क्लासिक हर्नेस, बि लक कार्बिनर, ट्रान्स एयर वान पुली, ह्याण्डस अप, डोरी (रोप), रक स्टार हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी जुत्ता लगायत गरी १० लाख बराबरको सामग्रीहरु प्रदान गरिएको थियो । सो समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, राष्ट्रिय अनुसन्धान व्यूरो मुस्ताङका प्रमुख मदन पौडेलको सहभागिता रहेको थियो ।
काठमाडौं: वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकम ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै ठगी गर्ने ६ जनालाई सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोङ्गबुबाट रामबहादुर तामाङसमेत छ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए । उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका-२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए । उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाडौंमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताए । उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् । ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गरे । नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उनले बताए । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विषेश प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानुन र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिएका छन् । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए । फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले लोमान्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताए ।

