काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्। काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ। स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ। यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ।
पोखरा: धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै ‘आकस्मिक फोर्स ल्याण्डिङ’ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । उनका अनुसार एयर डाइनेस्टीको हेलिले पाइलट र अर्का एकजनालाई उद्धार गरेर पोखरा ल्याउँदै गरेको जानकारी दिए ।
पोखरा: ठेकेदारले कामदार नपाएपछि पोखरा महानगरपालिका १ को नाला बनाउने योजना अपलत्र परेको छ । पोखराको बगरस्थित धोबिगौडादेखि मानसडक जाने सडक किनारको नाला बनाउने कार्य कामदार नपाएपछि गत हप्तादेखि अलपत्र परेको हो । सो नाला बनाउने ठेक्का स्काई कन्स्ट्रक्सन एण्ड विल्डर्सले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीका सञ्चालक मनोज देवकोटाले मजदुर नपाएकाले निर्माणकार्य रोकिएको स्वीकारे । उनले पहिलेका कामदारले राम्रो काम नगरेपछि अन्य कामदारको खोजी गरिरहेको बताए । ‘गुणस्तरीय काम गर्छु भनेर ठेक्का लिएको हो । काम गर्न राखेका कामदारले राम्रो काम गरेनन्, सुनगाभा न्यूजसँग देवकोटाले भने, ‘कामदारले राम्रो काम गरेन भने कम्पनीको बदनाम हुन्छ भनेर राम्रो कामदार खोजेको हो त्यसैले नयाँ कामदार खोज्दा ३/४ दिन काम रोकिएको हो ।’ उनले नयाँ कामदार आज (आइतबार) आइपुग्ने बताउदै रोकिएको कामलाई अघि बढाउने बताए । यतिमात्र नभएर स्थानीयले नाला बनाउने महानगरको योजनामा विरोध जनाएकाले पनि काम रोकिएको सुनाए । ‘मापदण्ड अनुसार काम गर्नुपर्ने हुन्छ, मापदण्डमा केही दिन स्थानीयको अवरोध रह्यो । निर्माण समितिबाट समस्याको समाधान गरेर काम सुरु भयो, फेरी कामदारले राम्रो गरेनन्, उनले भने, ‘त्यसैले नयाँ कामदार खोज्दा केही दिन काम रोकिएको हो । योजना अलपत्र परेको होइन ।’ स्काई कन्स्ट्रक्सन एण्ड विल्डसले पोखरा महानगरसँग २०७९ फागुन २६ गते पोखरा महानगरपालिका १ धोविगौडा-मानसडकमा नाला निर्माण गर्न ७७ लाख ३३ हजार ९ सय ३० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सो योजना चालु आर्थिक वर्षको असार १५ भित्र योजना सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर अबपनि काम गर्न ढिलाई गरेको खण्डमा योजना अधुरै रहने प्रष्ट । त्यसैले काम रोकिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । योजना अलपत्र परेपछि पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधानले ठेकेदारले योजना निर्माणमा कामदार फेरबदल गर्न लागेपछि काम रोकिएको बताए । ‘सम्झौता भएर योजना अगाडि बढ्दा ल्याएका कामदारले राम्रो काम गरेन भनेर ठेकेदारले गुनासो गरेपछि कामदार फेर्ने कुरा आएको थियो, वडाध्यक्ष प्रधानले भने, ‘अन्य योजनामा भएका कामदार ल्याएर काम अगाडि बढाउने ठेकेदारसँग कुराकानी भएको छ । फलोअप गरिराखेको छु ।’ उनले ठेकेदारलाई नयाँ कामदार ल्याएर यथाशिघ्र काम अगाडि बढाउन दिर्नेशन दिएको बताए । धोविगौडा/मानसडक खण्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले योजना अलपत्र हुँदा व्यवसायमासमेत असर परेको गुनासो छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने। पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए। उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।
रुकुम: रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्। दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।
चितवन : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । 'सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्', उनले भने, 'राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।' निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ । 'जनताले सुरक्षित महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ', उनले भने। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहनेछ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए । प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
पोखरा: नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन हुनुभएको छ । यस्तै आमन्त्रित सदस्यहरुमा भावना श्रेष्ट, युगेन पालीखे, शान्ती श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ,बिष्णु श्रेष्ठ , निर्मला श्रेष्ठ, शमीला प्रधानाङ्ग ,शोभा श्रेष्ठ , रेष्मा श्रेष्ठ, सिता देवांजु, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ रहनुभएको छ । नेवा मिसा पुचः कास्कीको नवौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । एमाले सांसद भट्टराईले नेवा मिसा पुचः कास्कीले महिला सशक्तिकरण गर्नमा समेत महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । महिला सशक्तिकरणको बारेमा बोल्दै उहाँले अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भ¥याङ मात्र बनेको बताउनुभयो । साथै उहाँले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकाहरुमा सके अध्यक्ष र कम्तिमा पनि वडा सदस्यमा भएपनि नेवारी महिलाहरुले उम्मेदवारी दिनुपर्ने र यसमा नेवा खल कास्की र नेवा मिसा पुचःले आवश्यक सहयोग गर्ने बताउनुभयो । नेवा मिसा पुचको चौँथो अधिवेशन सँगै अध्यक्ष मेनुका श्रेष्ठको कार्यकाल सकिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेवारी सस्कार संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गरेको बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकाल सफल भएको दावी समेत गर्नुभयो । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै निवर्तमान अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि कास्कीमा रहेका विभिन्न सरकारी निकायले नेवा मिसा पुचः कास्कीलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: नेपाल मगर संघ, गलेश्वर इकाई समिति पोखरा –१५ को अध्यक्षमा हिमाल आले मगर सर्वसम्मत चयन भएका छन् । संघको प्रथम अधिवेशनले आले मगरलाई सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा मिना थापा मगर, कोषाध्यक्षमा मनमाया थापा मगर, सचिवमा मिरा बुढा र सहसचिवमा शम्भु राना मगर छन् । यसै गरी सदस्यहरूमा पदम बुढा, दिलु राना मगर, गोमा थापा मगर, सुशीला थापा मगर, उमा थापा मगर, हेमा आले मगर, मोहन राना मगर, मुक्तिश्वर थापा मगर, मनोज राना मगर र अर्जुन थापा मगर चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीकी अध्यक्ष तथा प्रमुख अतिथि सङ्गीता पुन मगरले कास्कीका विभिन्न भागमा छरिएर रहेका मगरहरूलाई गोल बन्ध गरी आफ्नो भेसभुसा, भाषा र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताइन्। उनले मगर समुदायको आफ्नै गौरवशाली इतिहास र सभ्यता रहेको भन्दै संघमा आबद्ध भइसकेपछि इकाई हरूले गर्नुपर्ने काम कर्तव्य र प्रक्रियाका बारे बताइन् । यस्तै, विशिष्ट अतिथि नेपाल मगर संघ सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले नेपालमा आदिवासी मध्येको सबैभन्दा धेरै सङ्ख्या मगरहरूको रहेको भन्दै आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि हामीले नै पहल गर्नुपर्ने बताए । नेपाल मगर संघ सङ्गठन विभाग प्रमुख भक्त पुन मगरले कास्कीमा अहिलेसम्म मगर संघका ४० वटा इकाई बनिसकेको जानकारी दिँदै गलेश्वर इकाई समिति ४१ इकाई समिति रहेको बताए। उनले कास्कीमा धेरै मगरहरूको बसोबास रही आएको पाइए पनि मगरहरू एकत्रित हुन नसक्दा प्राविधिक, शैक्षिक तथा आर्थिक हिसाबले पछाडि परेको बताए । नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष चन्द्र पुर्जा मगरले गलेश्वर इकाई समितिका नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिए । नेपाल मगर संघ पोखरा महानगरपालिकाका अध्यक्ष ओम श्रीस मगरले आफ्नो थातथलो छोडेर पोखरा आई बसोबास गरिसकेपछि हामीलाई समाज चाहिन्छ, समाजको निर्माण गर्नुपर्छ भनेर गलेश्वर मगर समाज नेपाल मगर संघको इकाईमा आउनु सराहनीय कार्य भएको बताए । कार्यक्रममा गलेश्वर समाजका संस्थापक तथा ज्येष्ठ सदस्यहरू वीर बहादुर राना, प्रेम सारू, रेशम प्रसाद बुढा, यमन सिंह आले र विष्णु राना लगायत समाजलाई सहयोग स्वरूप करुवा लगायतका सामग्री प्रदान गर्ने सदस्य द्वय लालसुवी बुढा र सुशीला थापा मगरलाई सम्मान गरिएको थियो । सभापति शोभित बहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिरा बुढा मगरले गरेकी थिइन् भने डिल बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।

