पोखरा: गलपासो भयो आज गणतन्त्र भनीकन जनआवाज उठ्दैछ घनीभूत बनीकन स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं । यी कविताका हरफ हुन गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीका । आफ्नो कार्यव्यस्तताले वारेसमार्फत् पठाएका सिर्जनासँगै यस्तै–यस्तै रचनावाचनले शनिवार पृथ्वीचोक आसपासको सडक गुञ्जयमान भयो । कुलपति बिखर्ची मात्र होइन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले व्यस्तताका बाबजुद यसरी नै सिर्जनाकामार्फत् सहभागिता जनाए । यी रचनासँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सुनाएः सत्ता र बेइमानी बीचको नाता चुट्याउन आउँदैन भने के हो सही के हो गलत खुट्याउन आउँदैन भने जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मुर्ख हो ! मुख र मलद्धारमा फरक छुट्याउन आउँदैन भने । वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने सबै कुराको चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो । संविधान भन्दा माथि कोही नहुने भएकाले पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो । कार्यक्रमको औचित्यमाथि जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार तथा संस्थाका महासचिव मदन भण्डारीले प्रकाश पारेका थिए । उनले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसानहरू सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए । राज्यका कुर्चीहरूमा लायक पात्रहरु नभएकाले राज्यमा वेथिति बढेको ठहर गर्दै संस्थाले जनताका दुःख, दर्द जनताले लडेर ल्याएको आजको सरकारले नसुनेकाले सरकारलाई सुनाउन मञ्चमा आवाज राखेर सरकारको कानमा पु¥याउन खोजेको महासचिवको भनाइ थियो । संस्थाका उपाध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए । संस्थाले गण्डकी प्रदेश भित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित सडकमा आमन्त्रण गरेको थियो सडकमा वाचित २५ कविका रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए । लोकसंस्कृतिका अध्येता प्रा.डा. कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले हाम्रा नेताहरूको दुषित विचारले नेपाल कहिल्यै नेपाल बन्न नसकेको टिप्पणी गरे । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए । सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश हुने धारणा राखे । कार्यक्रममा साहित्यकार डा. जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना तेजबहादुर गुरुङ अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचनावाचन गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकशत्र २०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरणमा रोक लगाएको हो । महानगरको निर्देशनमा भनिएको छ, “विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी लिन पाइने छैन ।” यस्तै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन गर्न निषेध गर्दै महानगरले विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री बिक्री वितरणमा पनि रोक लगाएको छ । विद्यालयहरुलाई विना प्रमाणपत्र विद्यार्थीहरू भर्ना नगर्न समेत महानगरपालिकाले निर्देशन जारी गरेको छ । शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट शुभारम्भ गर्ने निर्णय गरेको महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्य रूपमा भर्ना लिनु पर्ने प्रावधान बनाएको छ । साथै महानगरभित्र सञ्चालित विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरणमा पूर्णतया निषेध गरिएको छ । यसअघि विद्यालयहरूले सञ्चालन गरिरहेको बस सेवा अवधि लामो भएको जनगुनासो आएकाले सो सम्बन्धमा आगामी शैक्षिकशत्र बाट विद्यालय सुरु हुनु पूर्व एक घण्टा तीस मिनेट अगाडीबाट मात्र बस सेवा सञ्चालन गर्न महानगरले निर्देशन गरेको छ । महानगरको निर्देशनमा भनिएको छ, “स्कुल बसहरू विद्यालय सुरु हुनुभन्दा १ घण्टा ३० मिनेट अगाडीबाट मात्र विद्यार्थी ल्याउने कार्यमा प्रयोग गर्नु पर्नेछ ।” यस्तै विद्यालयहरूलाई २० वर्ष भन्दा पुराना सवारी साधनहरू प्रयोगमा रोक लगाउनुका साथै प्रत्येक ६–६ महिनामा पूर्ण सर्भिसीङ गर्न निर्देशन जारी गरिएको छ । जारी निर्देशनहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न–गराउन सरोकारवालाहरूलाई परिपत्र गरी उक्त निर्देशनहरूको परिपालना नभए नियमानुसार कारबाही गर्ने पनि महानगरले जनाएको छ । शैक्षिक संस्थाहरूलाई चुस्त, सहज, सर्वसुलभ र व्यवहारिक बनाउनका निम्ति जारी गरिएको निर्देशनलाई आगामी दिनहरूमा आवश्यकता अनुसार समयानुकूल बनाउँदै लैजाने निर्णय पनि गरिएको छ ।
झापा : नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो। यसैगरी चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो। मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ। रासस
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अष्ट्रेलियन डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। त्यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
उदयपुर : गाईघाटमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नं. १–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका -१४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । दुर्घटना लगत्तै प्रहरीले चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन् ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता भएको हो। छलफलमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ।

