तनहुँ: उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिनुभएको गुरुङलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाइएको हो । अदालतले गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै १० लाख रुपियाँ भराउने तथा तीन दिन कैद सजाय सुनाएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले गुरुङलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको हो । थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको उच्च अदालतले जनाएको छ । यो फैसलाविरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउनुहुनेछ । कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिनुभयो । सहसचिव भट्टराईले भन्नुभयो, ‘‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् भट्टराईले भन्नुभयो फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुँदैन ।’’ कैद सजाय भएको फैसला भएसँगै राप्रापा तनहुँले चैत २९ गते दमौली गर्ने सभा स्थगित गरेको छ । सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, नेताहरू रविन्द मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । विशेष कारणवश कार्यक्रम स्थगित गरिएको राप्रपा तनहुँले जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा सार्वजनिक भएको अडिओबारे छानबिन हुने बताएका छन्। रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ। कपुरबोट मिडियाले रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको अडिओ आइतबार सार्वजनिक गरेको थियो। सोमबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुने बताए। ‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ।’ उनले यो विषयमा अनुसन्धान एउटा र अर्को विषय भनेको सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। रास्वपाले सांसद श्रेष्ठलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने रास्वपाको चेतावनी छ।
रुकुमपूर्व: जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यही चैत २१ गते मङ्गलबार दिउँसो सिस्नो टिप्न भनी घरबाट निस्किएका दिदीबहिनी १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जङ्गलको भीरमा मृत भेटिएका थिए । त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई बालिकालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको दुई बालिकालाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो । अहिलेसम्मको अनुसन्धानबाट मृतक दुई बालिकासँग रहेको सुनका गहना लिनका लागि दुई बालिकाले उनीहरूमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ । दुई बालिकालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा सुन लुकाएको बताएका थिए । “दुई बालिकाले सुन लुकाएको ठाउँमा खोजतलास गर्दा सोही ठाउँमै सुन भेटियो” डिएसपी श्रेष्ठले भन्नुभयो–“उक्त ठाउँबाट अनुमानित एक ताेला सुन बरामद गरिएको हो ।” अहिले दुई बालिकालाई अदालतमा पेस गरी घटनाको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । “यस घटनामा अरूको पनि संलग्नता हुन सक्छ” श्रेष्ठले भन्नुभयो –“हामी विभिन्न पाटोबाट घटनाको अनुसन्धान गरिरहेका छौँ ।”
कैलाली: कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। उनीहरुको उपचार भइरहेको डिएसपी चन्दले जानकारी दिए। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १८ पैसा घटेको हो। त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६२ रुपैयाँ २९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३ पैसा पाइन्छ। आइतबार पाउण्ड एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको थियो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
काठमाडौं : सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख दश हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सप्तरी : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
पोखारा: हेमजामा ११औं संस्करणको आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिर्दै अवको बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख पनि गरे । प्रदेशसभा सदस्य गणेशमान् गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै यो पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याए । निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै सदस्य गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने बताए । कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गरे । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजा बासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए । पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याए ।उनले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लव प्रति आभार प्रकट गरे । उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले पनि धारणा राखे । उनीहरुले असली कृषक समच्छे अनुदान पुग्नुपर्ने, मुल्य श्रृङखला व्यवस्थापन गरी उत्पादनमा जुट्नुपर्ने बताएका थिए । कार्यक्रमकाबीच सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्वि बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लिसहित गुरुकुल विद्धासदनलाई सम्मान गरियो । महोत्सव अन्तरगत आइतवार कलाकारहरु चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, परशुराम अधिकारी र पुजा तामाङले प्रस्तुति राखेका थिए । त्यस्तै आज (सोमबार) लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारका प्रस्तुतिहरु रहनेछन् । कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो रु ३५ मा आलुको कारोबार भइरहेको भने करिब ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ । मूल आयोजक समितिका अध्यक्षसमेत रहेका क्लब अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अस्विन थापाले स्वागत तथा महासचिव बसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
काठमाडौं: हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए। हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए। मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए। त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।

