काठमाडौं : नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए। 'पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ', उनले भने। भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए। केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थका लागि राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, 'अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ। राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ ।' उनले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको पनि उल्लेख गरे। बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उनले बताए।
काठमाडौं: वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् । नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उहाँले बताउनुभयो । तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउनुहुन्छ । नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ । यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो । सपथपछि उहाँले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताउनुभयो । उहाँले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुनुहुन्छ । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्नुभएका उहाँले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नुभएको हो । विसं २०४८ मा कार्गो कम्पनी हँुदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को हासिल गर्नुभएको थियो । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको हिस्सेदारी छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय हुनुहुन्छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । औपचारिक माध्यममार्फत ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाललाई नेपाल सरकारले पटक–पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित गरेको छ । यस्तै रेमिट्यान्स व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिरेका आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौँ रकम सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । महासङ्घको नव–निर्वाचित अध्यक्षका रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधैँ प्राथमिकतामा राख्नुहुन्छ । पहिलो, आम जनतालाई सिधै फाइदा वा सेवा पु¥याउने, दोस्रो सरकारले प्राथमिकतामा राखेको क्षेत्र र तेस्रो, व्यवसायको रुपमा अघि बढाउन सम्भावना भएको क्षेत्रका रुपमा रहेको उहाँको भनाइ छ । महासङ्घ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य समेत अध्यक्ष ढकालको छ । ढकालले अध्यक्षका रुपमा पाँच वटा कामलाई प्राथमिकतामा राख्नुभएको छ । वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने पाँच कामलाई प्राथमिकतामा राखेको ढकालको भनाइ छ ।
तनहुँ: नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो । “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सडक खाना महोत्सवको आयोजना गरिएको बताइएको छ । सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । “साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ”, प्रधानले भन्नुभयो । नयाँ वर्ष मनाउन बन्दीपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । आज बिहानैदेखि आन्तरिक पाहुना बन्दीपुर उक्लिएको प्रधानले बताउनुभयो । नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।” राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ । नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।” आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकाङ्क्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गर्नुभयो । “हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले सङ्कटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहो¥याउन चाहन्छु”, सन्देशमा उल्लेख छ । वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक सङ्क्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा प्रस्ट पार्दै उहाँले ती सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने विश्वस्त व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ ।”
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिनुभएको हो । प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गर्नुभयो । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उहाँले भन्नुभयो, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।” सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिनुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ । नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’’ साथै उहाँले यो वर्ष भरोषा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दिनुभएको शुभकामनाको पूर्ण विवरण यसप्रकार छ : आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ । हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् । मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ । बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास,आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं । संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं । २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछु । धन्यवाद । १ बैशाख, २०८० पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको थियो । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको थियो । मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गर्नुभयो साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गर्नुभयो । साथै आठ मत बदर भए । जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गर्नुभयो । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भएको थियो । महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।

