पोखरा: अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ । प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार) लाई नै डाकिएको छ । सोही दिनको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका हुन् । पत्रमा लेखिएको छ, 'संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।' गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
काठमाडौं: राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् । धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् । राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।
जनकपुरधाम: महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ । बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो । मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो । बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ ।
काठमाडौं: पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्। संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
काठमाडौँ: सेवा निवृत्त भएका करिब २२ हजार शिक्षकहरूले निवृत्तिभरण (पेन्सन) नपाएको पाइएको छ । राज्यसँग पैसा नहुँदा ५२ हजार पूर्व शिक्षकहरूमध्ये २२ हजार शिक्षकले पेन्सन पाउन नसकेका हुन् । उनीहरूले चैत र वैशाख महिनाको पेन्सन पाएका छैनन् । पेन्सन नपाएपछि शिक्षकहरूले विरोध समेत गर्दै आएका छन् । उनीहरूले राज्यको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरूले नियमित पाइरहेको निवृत्तिभरण अकस्मात् रोकिएपछि तत्काल निकासा गर्न माग गर्दै आएका छन् । सेवा निवृत्त शिक्षकहरूको संस्था सेवा निवृत्त शिक्षक समाजले निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएको जनाएको छ । समाजमा महासचिव ईश्वरबहादुर श्रेष्ठले ३० हजार शिक्षकले पाए पनि अझै २२ हजार शिक्षकले नपाएको बताए । ‘चैत र वैशाखको पाएका छैनौँ । पैसा नहुँदा अहिलेसम्म नहालेको भन्ने जानकारी दिनुभएको छ । यो महिनामा अन्तिमसम्ममा पैसा हाल्ने कुरा छ,’ उनले भने । विगतमा नियमित रूपमा प्राप्त भइरहेको निवृत्ति भरण आर्थिक वर्ष २०७९/८० मा अनियमित भइरहेको छ । जसले गर्दा हजारौँ सेवा निवृत्त शिक्षकहरू प्रभावित हुन पुगेका छन् ।
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्। अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्नेछ। आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए। महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ। करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो। तस्बिरहरू/ प्रदीपराज वन्त
नवलपुर: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले चुहार गाउँमा कम बस्ती भएतापनि स्थानीयको समस्यालाई प्राथमिकताकामा राखेर पुल निर्माण गरिएको बताउनुभयो । मन्त्री गाहामगरले पुल निर्माणभएपछि वर्षायामको समयमा चुहरबासी र विद्यार्थीहरुले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो देउसत खोलामा पुल नहुदा चुहारका विद्यार्थी भाईबहिनीहरुले वर्षायाममा पढ्न नपाइने अवस्था थियो, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीहरुले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’ उहाँले सहमती संस्था र डब्लु डब्लु एफले निर्माण गरेको खानेपानीले अब चुहार बासीको दैनिकी अर्थउपार्जनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउनुहुदै यहि वर्षमा विद्युतको पहुँच पुग्ने बताउनुभयो । यस्तै देवचुली नगरपालिका ६ का वडाध्यक्ष मिन बहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुङ्गे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीप्रति आभार प्रकट गरे । ‘यो ठाउँको विकासका लागि हाम्रो अग्रज अहिलेको आन्तरिक मामिलामन्त्री रोशन गाहामगरको ठुलो योगदान छ, सोतीमगरले भन्नुभयो, ‘किर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माण लगायत विभिन्न क्षेत्रमा उहाँको योगदान छ । त्यसैले हामी उहाँप्रति एकमदमै आभारी छौ ।’ वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान दिएका थिए । सो पुल तथा स्वामिघाट खानेपानीको समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेज प्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, लगायतले बोलेका थिए । स्वामीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मञ्जरी सिंजालीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय तिलक सोतीमगरले गरेका थिए ।
काठमाडौं: भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
हेटौँडा: कवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान घरबाट करिब दुई सय मिटर पर रहेको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमण परी घाइते हुनेमा हेटौँडा १५ का वर्ष १७ का सुमन घलान र वर्ष ६५ का कृष्णबहादुर थिङ रहनुभएको हो । घलानको दाहिने कुम, ढाडको बायाँ साइड र छातीमा टोकेको र अवस्था मध्यम रहेको छ । यस्तै, थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर छ । दुवै जनाको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

