चितवन: चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन् । उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत प्राप्त गर्दा, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।
पर्यटनमन्त्री सुदन किराँतीले हिजो राती काठमाण्डौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएर आगो लागेको भन्ने समाचार खण्डन गरेका छन् । मन्त्री किराँतीले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’ हिजो उक्त जहाजबारे विभिन्न खबर फैलिएपछि पनि किराँतीले जहाज सुरक्षित रहेको र दुबई जाँदै गरेको आधिकारिक सूचना दिएका थिए । आज उनले लेखेका छन् ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’
दमौली: तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । आज सम्पन्न मतगणनाअनुसार डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो । तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भन्नुभयो, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताउनुभयो । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।” मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो । विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएपछि भट्टराईले वाग्लेलाई बधाई दिनुभएको हो । कांग्रेसका भट्टराईले भन्नुभयो, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईले सक्नुभयो ।” उहाँले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा. वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।” निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । RSS
तनहुँ: तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय १९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका थिए। निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो । २०७९ को मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं। १ मा नेपाली कांग्रेसका तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। रास्वपाका वाग्ले कांग्रेस छोडेर उम्मेदवार बनेका हुन् । कांग्रेसका तत्कालिन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।
काठमाडौं: सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणको लागि पहलकदमी लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो । मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको हो । “दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौ, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।” नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गर्नुभयो । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन हुनेभएको छ । यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुनसकेका थिएनन् । प्रज्ञापनपत्रको सट्टा कर विजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने आङ्कलन गरिएको छैन । वि.सं २०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने गरी दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक कानुनी उल्झन सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिनुभयो । रासस
पोखरा: नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ । नेत्रहीन क्रिकेट संघले आज (सोमबार) पोखरामा पत्रकार सम्मेलन गर्दै भोलि देखि हुने नेपाल भारत दुइपक्षीय टी-२०ष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताए । ‘नेत्रहीन क्रिकेट संघको आयोजनामा मंगलबार देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ, महासचिव बरालले भने, ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’ उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् । नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो । क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् । नेत्रहीन क्रिकेट संघले प्रतियोगिताका लागि विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका हुन् । नेपाली टोली भगवती भट्टराई (कप्तान), गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला
काठमाडौं: सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो । बैठकमा समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी हुनुहुन्छ ।
चितवन: चितवन-२ उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाएका छन्। उनलाई पछ्याउँदै रास्वापाका रवि लामिछानेले ३१९ मत ल्याएका छन्। कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्। अहिले इच्छाकामना गाउँपालिका-१ र ३ को मत गणना चलिरहेको छ।
चितवन: चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत उम्मेदवार छन् ।

