पोखरा: गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै नेता चुमानले विभिन्न कारण देखाउँदै विश्वासको मत दिन नसकिने बताएका हुन् । प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा गण्डकीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका नेता खगराज अधिकारी राप्रपा माओवादीको समर्थनमा पुस ५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारीले नेतृत्व गरेको सरकार अल्पमतमा परेसँगै आज विश्वास मत लिदैं छ ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य लिलबहादुुर थापामगरले केही राजनीतिक दल सत्ता मोहको लागि ओल्लो र पल्लो घर सर्दा राजनीतिक फोहोरी खेल बताएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै उनले राजनीतिक दलहरुमा सत्ता मोह हुँदा राजनीति फोहोरी खेल भएको बताएका हुन् । ‘यो राजनीतिलाई फोहोरी खेल कसरी बनाउन थाल्यौ, कहाँ देखि सुरु गर्न थाल्यो, त्यसको जिम्मेवार दलहरु बन्ने कि नबन्ने, बन्न पर्छ, सांसद थापामगरले भने, ‘दुई महिना अगाडि यता थियौं, आज उता छौं, कहिले फेरी यता आउने हो, यता र उता गर्दा राजनीतिक फोहोरी खेल भयौं अब सच्चिनुपर्छ ।’ उनले मुख्यमन्त्री अधिकारीलाई नै विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गर्दै सबै दल मिलेर मिलिजुली सरकार बनाउन प्रस्ताव समेत गरेका छन् । सांसद थापमगरले प्रदेश सभामा समाहित रहेका सबै दल मिलेर प्रदेश सरकार संचालन गर्नुपर्ने बताए । ‘सबै ६ वटै दल मिलेर पालै पालो प्रदेश चलाऔ न, उनले भने, ‘कस्ले कति काम गर्न सक्छ पछि मुल्यांकन गरौला । त्यसैले मुख्यमन्त्री अधिकारीलाई आज मत दिऔं ।’
तनहुँ: जिल्ला प्रशासन कार्यालयले भोली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ-१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएकोले निर्वाचन क्षेत्रमा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना निकालेर जानकारी गराएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ । पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्नेछ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ । भोल तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ प्रुन्धुमा भालुले आक्रमण गर्दा गुञ्जबहादुर थापामगर घाइते भएका छन् । आज बिहान घाँस काट्न जंगल जाने क्रममा ५९ वर्षीय थापामगरलाई भालुले आक्रमण गर्दा घाइते भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापामगरको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए । घाइते थापामगरको टाउको, अनुहार, हात र गुप्ताङ वरिपरि चोट लागेको छ । भालुले आक्रमण गरेर घाइते बनाएको अवस्थामा स्थानीय शुसिल क्षेत्रीले देखेपछि जंगलबाट गाउँसम्म उद्धार गरेर ल्याएपछि उपचारका लागि पोखराको ल्याइएको हो ।
पोखरा: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिडेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवम् अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । “प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामाग्री बितरण ग¥यौं”, उहाँले भन्नुभयो, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गरेका छौं ।” कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उहाँले आगामी दिनमा ती क्षेत्रबाट पर्यटककको आगमन बढ्ने आशा जगाएको बताउनुभयो । अन्तरक्रिया एवम् व्यवसायी व्यवसायी बीचको भेटघाट(बिटुबी) का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भएपनि त्यहाँसम्म पुग्ने बाटोका अवस्था दयनीय भएको बताए । टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भैरहँदा पोखरा जान असहज भएको बताउनुभयो । “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “पोखरासँगको कनेक्टिभिटिलाई प्राथमिकता दिनु जरुरी छ । कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा योगदान पुगको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटि एवम् पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । “नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।” बनारसका बरिष्ठ पर्यटन व्यवसायी सन्दिप पटेलले पोखरा सबै मौषमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटि नै यहाँको प्रमुख आवश्यकता भएकोमा जोड दिनुभयो । “पोखरा र बनारस दुबै धार्मिक रुपमा पुग्नैपर्ने गन्तव्य हुन्”, उहाँले भन्नुभयो,“यी दुबै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीय रुपमा पनि जोड्न सकिन्छ ।” पोखरा र बनारसको पर्यटकीय साझेदारी अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो । नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले कार्यक्रमका क्रममा पोखरा धार्मिक शाहसिक, सास्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण शहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउँदै प्रवद्र्धनले यहाँको सम्भावनालाई उजागर गरेको बताउनुभयो । बिश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको थियो । उक्त क्रममा भारतीय पर्यटकले भारत ल्याइएको देवशिलाले दबै देशबीचको सँम्बन्धलाई अझै बलियो बनाएको धारणा राखेका थिए । उत्तर प्रदेश पर्यटन विभाग, अयोध्याका उपनिर्देशक आरपि यादवले पोखरासँगको पर्यटकीय साझेदारी बढाउने कुरामा आँफूहरू सँधै तयार रहेको धारणा राख्नुभयो । कार्यक्रममा भारतबाट आउने पर्यटकहरूले सिमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञाशा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदरकुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्याधिक पर्यटक भित्रने विश्वास व्यक्त गरे । भारतीय शहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो । पर्यटकीय साझेदारी, कनेक्टिभिटि लगायतमा भारतीय पर्यटकबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको र त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवद्र्धनमा पोखराबाट छोटो दूरीमा नै बिश्वकै आठ हजार मिटर भन्दा बढि उचाईका हिम श्रृखलाहरूको अबलोकन गर्न सकिने जानकारी गराइएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले जानकारी दिनुभयो । भारतीय शहरहरूमा गरिएका छुट्टाछुट्टै कार्यक्रम एवम् बिटुबी उपलब्धिमुलक बनेको उहाँले जानकारी दिनुभयो ।
कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएलगत्तै सोही स्थानमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइका गंगा चन्दको शव शनिबार बिहान फेला परेको हो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको बताए। उनले केही समय बाघलाई निगरानीमै राख्ने र पछि विभागको निर्देशनअनुसार थप निर्णय लिने बताए। सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन्।
काठमाडौं: प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।
पाल्पा: पाल्पाको झुम्सामा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपाने रहेका छन् । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ। लिगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ । खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ । जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ

