काठमाडौं: नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।
काठमाडौं: एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्धतमा १०८ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे। करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे। यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं: नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध कीर्तिमानी विष्फोटक शतक हानेका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । कुशलले ९ चौका र ९ छक्कासहित प्रहार गर्दै शतक पूरा गरेका हुन् । स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पूरा गरेका थिए । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक हान्ने खेलाडी हुन् ।
पोखरा: पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको छ । नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना निकालेर खानेपानीको समस्या भएको जानकारी दिएको हो । पोखरा महानगरभित्र कतिपय ठाउँमा पानी वितरणमा समस्या आएको सूचनामा उल्लेख छ । अनावश्यक पानी खर्च नगर्न कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब-इञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए। पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको कार्यालयले जनाएको छ । खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारीले बताएका छन् । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको कार्यालयले जनाएको छ । अहिले पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानबाट झण्डै ४८ हजार धारा जडान भएका छन् ।
दिल्ली: कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीरको पुँछमा हिजो दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तीमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ । आक्रमणमा गम्भीर घाइते एक जनाको रजौरीमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको छ । जैश ‘ए’ मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक सङ्गठनले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ढोरपाटन: डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो । डा. केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । शाही भन्नुहुन्छ, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा. केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिनुभएको उहाँले बताउनुभयो । “सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भन्नुभयो । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आउनुभएको थियो । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उहाँले बताउनुभयो । डा. केसी भन्नुहुन्छ, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा. केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उहाँले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिनुभयो । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।” RSS
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए । प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
गुल्मी: गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका वडानम्बर-३ हाडहाडे बर्दवास जंगलमा बिहिवार देखि लागेको आगो निभाउन गएका बेला शरिरको बाहिरि भाग पुरै जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । आगलागिबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ । गोठमा बाँधेको छवटा माउँ बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ । त्यस्तै शिबलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्चि घर, ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । गर्मीयाम सुरुभएसँगै आगलागिका घटनाहरु दैनिकजसो वढदै गएका छन् । जिल्लाका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । त्यस स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधिहरु खटिएर नियन्त्रणमा लिने काम गरिरहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

