प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:    नेपाल एसिसी प्रिमियर कपमा साउदी अरेवियासँगको खेल वर्षाको कारण रद्ध भएसँगै सेमिफाइनलमा पुगेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् । योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा अंकबाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । खेल नुहने भएपछि दुबै टोली हात मिलाउँदै खेल रद्ध भएको जनाएका छन् । आजको खेलमा साउदी र नेपालले अंक बाँडेपछि समूह ए बाट कतार र मलेसिया औपचारिक रुपमा बाहिरिएका छन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । साउदी र ओमानबीचको उक्त खेल क्वाटरफाइनल सहर हुनेछ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । नेपाल विजयी भएमा समूह विजेता बन्नेछ । पराजित भएमा भने समूह विजेता वा उपविजेता हुने अन्य टोलीको नतिजामा निर्भर रहनेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ एक खेल अगावै बाहिरिएको छ । मलेसियाले अन्तिम खेल कतारसँग मुलपानीमा मंगलबार खेल्नेछ । कतार दुबै खेलमा हारका साथ बाहिरिएको छ । साउदी र ओमानसँगको खेल वर्षाको कारण रद्ध भएमा भने ओमान सेमिफाइनलमा पुग्नेछ । समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । युएई हङकङसँग ६७ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।

दाङ:     लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाउँदा पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् । सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

बारा: बारामा मतगणना सुरु भएको छ । हिजो (आइतबार) भएको उपनिर्वाचनको मतगणना सोमबार मध्याह्न १२:४५ बाट सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सर्वदलीय बैठकपछि दलहरुकै सहमतिमा मतगणना सुरु गरिएको हो । यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

चितवन:    चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।   नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका जित नारायण श्रेष्ठले बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको जानकारी दिए। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।  उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।  मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने र  प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले बताए ।

तनहुँ:   तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै ११ हजार मत कटाएका छन् । आइतबार रातिदेखि भएको मतगणनामा बिहान साढे ११ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ४ हजार ४६५ मतले अगाडि छन् । वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४७ मत प्राप्त गरेका छन् । १ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ-१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।  

काठमाडौं:   आज देशभर १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।      विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।      विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।       नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।       विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।      विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

पोखरा:    गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।      सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामा उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।      मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ । केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।      संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ ।       त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहनुभएको र आइतबार मात्रै पोखरा फर्कनुभएकाले ढिलाइ भएको छ । प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र सोमबार सम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।   

तनहुँ:  तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो । यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४।३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो । तनहुँ निर्वाचन क्षेत्र  नम्बर १ अन्तरगत भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा २०, बन्दिपुर गाउँपालिकामा ११ , देवघाट गाउँपालिकामा ८ र आबुखैरेनी गाउँपालिकामा९ गरि कुल ६९ वटा मतदान स्थल छन्  भने कुन १ सय ५२ मतदान केन्द्र छन् ।

काठमाडौं:   चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६० प्रतिशत तथा तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उप–चुनाव भइरहेको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो । चितवनको उपचुनावमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बारा–२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । यस्तै तनहुँ–१ मा नौ वटा राजनीतिक दलबाट नौ जना उम्मेदवार छन् ।