काठमाडौं: सङ्घीय संसदको चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभयो। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो। आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत् सभामुखलाई जानकारी गराउनुभएको हो ।
पोखरा: आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् । ‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’, उनले भने । कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखेका छन् । फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाई उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरउन्नतिमा सुधार हुँदै जाने उनले बताए । चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौं भन्दा बाहिर मोफसलमा विषयगत पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनिय रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्र सम्बन्धि गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनिय काम गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व आइसकेपछि क्रियाशिलता बढ्दै गएको उल्लेख गरे । एक पछि अर्को कार्यक्रम गरी पोखरामा मनोरञ्जन सम्बन्धि गतिविधिलाई संघले बढ्वा दिएको भनाई उनको छ । उनले नेपाली चलचित्रले समाजको कथावस्तुलाई मसिनो गरि केलाई त्यसको उजागर गर्न तर्फ लाग्नुपर्ने धारणा राखेका छन् । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भित्तेपात्रो विमोचन कार्यक्रम संघका उपाध्यक्ष अर्पण तिवारीको संयोजनमा भएको थियो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शिव नेपालीले पोखराको हङकङ बजारलाई ४ सय बढी कर बढाएर बोलपत्र आह्वान गरेको विरोधमा संसदमा आवाज उठाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीले एक दशकदेखि व्यापार गर्दै आएको कम्पनीको जग्गामा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेका हुन् । ‘पोखराको पृथ्वीचोकस्थित फुटपाथ व्यापारीलाई हङकङ बजार नामाकरण गरी एउटै छानामुनी व्यापार गर्दै गर्दा कृषि साम्रगी कम्पनीले ४ सय प्रतिशत कर वृद्धि गरेर बोलपत्र आह्वान गरेर व्यापारीहरुलाई आतङ्कीत बनाएको छ, यसको सरकारको ध्यान जाओस’ सांसद नेपालीले भने । उनले मूल्य वृद्धि भएको समयमा एउटै छानामुनी बजार सञ्चालन गरेका व्यवसायीहरुलाई आतङ्कीत बनाउने गरी आह्वान भएको बोलपत्रमा सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘देशमा भएको अर्थतन्त्रको खस्कदो अवस्थाले देश आज चरममन्दीमा पुगेको छ, उनले भने ,‘मूल्यवृद्धि राज्यको बढ्दो कर, शिक्षा स्वास्थ्यको खर्चिलो र महङ्गीले गरिव तथा मध्यम वर्गीय परिवारले बाँच्न पाउने अधिकारमा प्रश्न चिह्न खडा भएको छ ।’ उनले गरिवका लागि सरकार कहिले गम्भिर हुने भनेर प्रश्न समेत गरेका छन् । उनले २२ अर्व खर्च गरेर निर्माण गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरेलीले पर्यटक कुरेर बसेरको भन्दै अन्र्तराष्ट्रिय उडानमा ध्यान दिन समेत आग्रह गरे । कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरेको भन्दै व्यवसायीले पोखरा महानगरपालिका र कृषि सामग्री प्रादेशिक कार्यालयमा दुईदिन सम्म धर्ना समेत दिएका छन् । उक्त जग्गामा एक दशकयता पोखरामा छरिएर रहेका फुटपाथ व्यवसायीहरुले ४ सय बढी सटरमा व्यापारव्यवसाय गर्दै आएका छन् ।
दाङ: बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चयन भएका डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन । चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
काठमाडौं: वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथग्रहण गरेका छन् । चितवन-२ बाट निर्वाचित लामिछाने र तनहुँ-१ बाट निर्वाचित वाग्लेले आज (शुक्रबार) शपथग्रहण गरेका हुन् । निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराए । बारा-२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन । गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन ।
पोखरा: बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चयन भएका सुरेन्द्र पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन्। शपथ लगत्तै मुख्यमन्त्री पाण्डेले सरस्वती तिवारी अर्याल र सुशीला सिम्खडालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमण्डल विस्तार बाँकी नै रहेकाले मन्त्रीद्वयलाई मन्त्रालय तोकिएको छैन् । नियुक्त भएका मन्त्रीमा अर्याल नेपाली कांग्रेस र सिम्खडा नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी र एकिकृत समाजवादी सहित ३५ सांसदको समर्थनमा पाण्डे हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बताएका छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटरको डिक्कीमा रहेको पैसा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामी रहेकी छिन् । पक्राउ परेकी वर्षाले बुधबार पोखरा –९ लखनचोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी पार्किङमा रहेको सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा रहेको नगद रु ८० हजार चोरेर फरार भएकी थिइन् । उक्त सुचनापश्चात वडा प्रहरी कार्यालय बैदाम र सिआरभी लखनचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको डिएसपी बिकले जानकारी दिए । उनका अनुसार ति युवतीलाई शान्तिवनस्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारेको थियो । पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना छ । शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
पोखरा: पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा तिम्सिना र राजदूत थम्पसन बिच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख तिम्सिनाले पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा सहयोगका लागि कूटनीतिक पहल गरिदिन राजदूत थमसनसँग आग्रह गर्नुभयो । ूपोखरा महानगरपालिकाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको महानगरपालिका हो, तिम्सिनाले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरसँग जोड्ने गरी हालै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, यहाँबाट अन्तराष्ट्रिय हवाई सेवा समेत सञ्चालन गर्न सकिने अवस्था छ ।ू यहाँ अझ धेरै पर्यटन पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता भएकाले अमेरिकी सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । पोखराको विकासमा फ्रन्टलाइनर भएर सहकार्य गर्न आग्रह गरिएको पनि तिम्सिनाले बताउनुभयो । महानगरपालिकाको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका विभिन्न कार्यक्रममा अमेरिकाले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । राजदूत थम्पसनले पोखराको दिगो पर्यटन विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको बताउनुभयो । व्यवस्थित ई(लाइब्रेरी स्थापनाका लागि समेत आफूले विशेष पहल गर्ने उहाँले बताउनुभयो । बुधवार पोखरा आउनु भएका राजदूत थमसन शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

