काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधि सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ । त्यस्तै, बैठकमा मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भई सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहनुहुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेको छ । ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावली सहितको प्रस्ताव पेस गर्नुहुने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्नुहुने । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
काठमाडौं: ‘महिला तथा बौद्धिक सम्पत्ति स् नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो । विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।
बारा: प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । यस्तै नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाउनुभयो । बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित हुनुभएको थियो । बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित हुनुभएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गर्नुभयो ।
काठमाडौं: सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७९८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक ९पाइलट०ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए । फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए । यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ । फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् । जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् । तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।” नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ । “जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उहाँले भन्नुभयो, “जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।” निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ । इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गर्नुभयो । उहाँका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । “सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ”, श्रेष्ठले भन्नुभयो । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उहाँको भनाइ छ । हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ । उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ । आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उहाँले बताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ । उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताउनुभयो । “नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भन्नुभयो । उहाँले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गर्नुभयो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिनुभयो । विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस
काठमाडौं: भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘एन्टिबायोटिकको उपयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरुबाट अवगत हुन आएको व्यहोरासमेत जानकारी गराइन्छ।’’ उहाँको एक सातादेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँसँग सम्बन्धित केही परीक्षण भइसकेको र केही परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पोखरा: पोखरा महानगरपालिका ३० लेखनाथ चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा १ करोड २५ लाख बढीको क्षति भएको छ । लेखनाथ चोखीमाटीचोकस्थित शोभा मोहन पौडेलले किराना पसलमा हिजो राति लागेको आगलागीले किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको पोखरा महानगरपालिका ३० का वडासदस्य भिमकुमारी पुनमगरले जानकारी दिइन् । हिजो (सोमबार) राति अन्दाजी ११ बजे एक्कासी लागेको आगो १२ बजेपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । किराना पसलको स्टोरमा कसरी आगलागी भयो भनेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । राति किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि पोखरा दमकललाई जानकारी गराएपनि दमकल केही ढिला लेखनाथ पुग्दा बढी क्षति भएको एक स्थानीयले बताए । उनले लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा पर्ने भएपनि सो क्षेत्रमा एउटापनि दमकल नहुदा आगलागीबाट बढी क्षति हुने गरेको गुनासो गरेका थिए ।
काठमाडौं: गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिनुभयो । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताउनुभयो । विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुनसकेका छैनन् । पानीको गुणस्तर मापदण्ड पारित भएसँगै अब मूलको पानीको विदेश निर्यात हुने र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५ गुणस्तर पारित गरेको थियो ।
जनकपुरधाम: धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र पाँच सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारीको झोला तलासी गर्दा नक्कली नोट बरामद गरेको हो । महिलाले कालो रङ्गको झोला बोकेर यताउति हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले निज महिलाको खल्तीबाट नेपाली १० हजार पाँच सय, भारतीय १६० समेत बरामद गरेको बताउनु भयो । उहाँले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताउनुभयो ।निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।
पोखरा: पोखराको विरौटा-छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र ठेकेदार खोज्दै सडक चक्काजाम गरेका छन् । सिद्धार्थ राजमार्गसँग जोडिएको पोखरा १७ विरौटा–छोरेपाटन सडक खण्ड राम विल्डर्स कम्पनीले ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि निर्माणलाई तिव्रता नदिएको भन्दै स्थानीयले आज सडक चक्काजाम गरेको बताएका छन् । उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको भन्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा समेत जानकारी गराएकी थिईन् । विरौटा-छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।

